Friday 3rd July 2026

गुन्द्रुक पनि चीनबाट


तिताेपाटी — गुन्द्रुक नेपाली मौलिक तरकारी हो । देशभित्र मात्र होइन, विदेशका नेपालीका भान्छामा यो पुग्छ । निर्यातलाई आयातले थिचेको हाम्रो देशमा त्यही गुन्द्रुकसमेत चीनबाट ल्याइने गरिएको छ । रसुवागढी नाका हुँदै दुई वर्षमा ८ सय ४३ किलो गुन्द्रुक नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ ।

दुई लाख रुपैयाँभन्दा बढीको गुन्द्रुक आयात भएको देखिन्छ । कार्यालयका अनुसार २०७३/७४ मा ७ सय ३ किलो र २०७४/७५ मा १ सय ४० किलो गुन्द्रुक भित्रिएको हो । व्यापारीहरूका अनुसार बजारमा प्रतिकिलो गुन्द्रुकको मूल्य २ सय २० रुपैयाँदेखि २ सय ५० रुपैयाँ छ ।

नेपालीहरूको भान्छामा तरकारी र अचारका रूपमा यसको प्रयोग हुँदै आएको छ । आयात हुनेमा तोरी र रायोको गुन्द्रुक छ । आयातकर्तामध्ये पोखरा एक्स्पोर्ट इम्पोर्ट प्रालिका कर्मचारी सन्तोष श्रेष्ठका अनुसार चीनबाट आउने गुन्द्रुकको बढ्ता बजार ठमेल हो । उताको गुन्द्रुक ठयाक्कै नेपालको जस्तो नभए पनि खास फरक हुँदैन । उनका अनुसार नेपालमा रहेका वा आउने चिनियाँलाई ध्यानमा राखेर गुन्द्रुक आयात गर्ने गरिएको हो ।

रसुवागढी नाकाबाट कृषि तथा वनजन्य सामग्रीको आयात/निर्यात भने पछिल्लो समयमा घटेको छ । ०७४/७५ मा आयाततर्फ ४२ प्रतिशत र निर्याततर्फ १३ दशमलव ६१ प्रतिशतले घटेको प्लान्ट क्वारेन्टाइन प्रमुख रामनारायण यादवले बताए । ‘नाका भएर एक अर्ब १९ करोड २२ लाख ६६ हजार मूल्यबराबरको २२ हजार ४ सय ३६ टन कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ,’ उनले भने । आयात हुने कृषि तथा वनजन्य सामग्रीहरूमा स्याउ, नास्पाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, सुक्खा च्याउ, प्याज, बोडी, धानको बीउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर छन् ।

चीनबाट ०७४/७५ मा १ सय ४ टन धानको बीउ आयत भएको यादवले जनाए । त्यस्तै, ०७३/०७४ मा २ अर्ब ५ करोड १२ लाख २७ हजार मूल्यबराबरको ४० हजार २ सय ९५ टन कृषि तथा वनजन्य सामग्रीहरू आयात भएको कार्यालयको तथ्यांकमा छ । स्याउ आयातमा ४५ प्रतिशतले कमी आएको छ । ०७३/७४ मा ३९ हजार ५६ टन स्याउ आयात भएको थियो । ०७४/७५ मा यो घटेर २१ हजार ४ सय ७८ टन पुगेको छ । रसुवागढी नाका भएर चीनतर्फ निकासी हुँदै आएको कृषि तथा वनजन्य सामग्रीको निर्यात पनि घटेको क्वारेन्टाइनले जनाएको छ ।

रसुवागढी नाका हुँदै ०७४/७५ मा दुई करोड ९७ लाख ९० हजार मूल्यबराबरको सामग्री निर्यात भएको छ । नेपालबाट चीनतर्फ निर्यात हुने सामग्रीहरूमा अम्रिसोको कुचो, मुढा, काठबाट बनेको कप, प्लेट, टेबल, आँखीझ्याल र धूपदानी रहेको छ ।०७३/७४ मा ३ करोड ४४ लाख ८६ हजार मूल्यबराबरको सामग्री निर्यात भएको थियो । रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात हुन सकेको छैन । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी नाकालाई ०७४ भदौ १४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढदै गएको छ ।

-कान्तिपुर


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...