Tuesday 25th February 2025

नेपालमा जल यातायात संचालन गर्नेबारे नेपाल-भारत बिच छलफल


तितोपाटी – सप्तकोशी र नारायणी नदीमा नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको छलफलमा नेपालको मध्यभागमा समेत पर्ने भएकाले नारायणी बढी सम्भाव्य रहेको जल तथा ऊर्जा आयोगले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि २५ गतेसम्म गरेको भारत भ्रमणका क्रममा जलयातायात सञ्चालन गर्ने विषयमा महत्वपूर्ण सहमति भएको थियो ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा ‘इन्ल्याण्ड वाटरवे’ सञ्चालनसम्बन्धी दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यही सम्झौताको मूल मर्मबमोजिम नेपाल र भारतका अधिकारी छलफलमा जुटेका हुन् ।

छलफलमा सहभागी जल आयोगका सहसचिव एवम् नेपाली प्रतिनिधिमण्डलका प्रमुख माधव बेल्वासेले द्विपक्षीय छलफलबाट आफू उत्साहित भएको र जलयातायात सञ्चालनको सम्भाव्यता बढी रहेको पाइएको जानकारी दिए ।

भारतले जलयातायातलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउँदै सहसचिव बेल्वासेले हल्दिया बन्दरगाहमा कार्गो व्यवस्थापनका लागि हुने समस्यालगायत विषयमा समेत छलफल भएको बताए ।

त्यस बन्दरगाहमा नेपाललाई उपलब्ध हुने स्थान र समस्यालगायत विषयमा समेत भारतले चासोपूर्वक समाधान गर्ने वचन दिएको उनको भनाइ छ । भारतले हल्दियादेखि अलाहवादसम्म करिब १६ किलोमिटर लामो जलयातायात सञ्चालनमा ल्याएको छ । द्विपक्षीय छलफलका क्रममा नेपाली अधिकारीले जलयातायातका लागि भारतको पटनास्थित कालुघाटको स्थलगत अवलोकन गर्ने सहमति पनि भएको छ ।

नेपालले पनि सोही मार्ग हुँदै नारायणीमा जलयातायात सञ्चालन गर्न सक्ने छलफलका क्रममा उठेको छ । नेपालका लागि विशेष गरी कोशी र नारायणीमा जलयातायाताको विकासका लागि बढ्दा सम्भाव्य रहेको उनको भनाइ छ ।

भारतले गरिरहेको प्रयास सकारात्मक रहेको र उसले गरेको प्रविधिको विकासबाट नेपालले फाइदा लिन सक्ने देखिएको छ । जलमार्ग निर्माणको सपना कार्यान्वयन गर्ने विषयमा महत्वपूर्ण अवसर आएको जानकारी दिए । ‘एउटा जलमार्ग मात्रै विकास गर्ने हो, स्वाभाविक रुपमा नारायणी नदी नै बीचमा पर्ने भएकाले सम्भाव्यताका हिसाबले बढ्ता प्रभावकारी देखिन्छ’, उनले भने ।

उनले यो विषय प्रारम्भिक रहेको र अध्ययनपछि थप विषय तथा सहजतासमेत देखिने उल्लेख गरे । द्विपक्षीय छलफलबाट आफू व्यक्तिगत रुपमा असाध्यै उत्साहित भएको जानकारी दिँदै उनले भने, ‘जलयातायात सञ्चालनका लागि नेपालको प्रयास सकारात्मक मात्रै होइन सम्भाव्य छ भन्ने पनि देखिएको छ ।’

छैन संस्थागत संरचना

सरकारले पानी जहाज चलाउने विषयमा महत्वपूर्ण छलफल गरिरहेको बेला त्यसलाई नियमन तथा नियन्त्रण तथा आवश्यक सहजीकरण गर्ने निकायको खोजी भएको छ ।

सरकारले पानी जहाज सञ्चालनलगायत विषयमा तत्कालका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा महाशाखा स्थापना गरेको छ । असाध्यै प्राविधिक विषय पनि भएकाले विशेष जिम्मेवारी लिएर कार्यान्वयन गर्ने निकायको आवश्यकता पर्ने सहसचिव बेल्बासेको भनाइ छ ।

यस्तै संयोजन गर्ने र कानूनी प्रावधानको तयारी पनि गर्नुपर्ने जरुरी देखिन्छ । यस्तै व्यापारी तथा व्यावसायिक संस्था, नेपाल उद्योग वाणिज्य महासंघलगायतसँगको समन्वय तथा नेपाल र भारतबीच रहेको व्यापार तथा पारवहनका विषयमा समेत धेरै विषयमा सहकार्यको जरुरी रहेको छलफलका क्रममा आएका छन् ।

३०० मेट्रिक टनको सम्भाव्य

जानकारका अनुसार तीन सय मेट्रिक टनसम्म सामन बोक्ने जहाज सञ्चालनमा ल्याउन सके त्यो आर्थिक रुपमा असाध्यै सम्भाव्य रहनेछ । साना जहाजभन्दा मध्यम खालका जहाज नै सामान ढुवानीका लागि महत्वपूर्ण मानिन्छ । तीभन्दा कम क्षमताका जहाज आर्थिक रुपमा त्यत्ति सम्भाव्य र प्रभावकारी हुन सक्दैनन् ।

नदीको गहिराइले पनि धेरै विषयलाई निर्धारण गर्ने छलफलका क्रममा आएको सहसचिव बेल्वासेको भनाइ छ । भारतले कम गहिराइमा समेत चल्ने पानी जहाज सञ्चालनमा ल्याएकाले पनि त्यसबाट नेपालले फाइदा लिन सक्नेछ ।

जहाज थोरै गहिराइमा चल्ने समेत विकास भएकाले पनि थप सम्भाव्यता देखिएको उनको भनाइ छ । केही स्थानमा पुलका कारण पनि जटिलता आउन सक्छ तर त्यो समस्या मिलाउनै नसकिने खालको समस्या भने नभएको वार्तामा सहभागी सरकारी अधिकारीको भनाइ छ । रासस


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली: भारतको सत्तारुढ हिन्दू-राष्ट्रवादी पार्टीकी एक सदस्यले दिल्लीको मुख्यमन्त्रीको रूपमा बिहीबार शपथ ग्रहण गरेकी छिन्। चुनावमा पराजित भएपछि दशकौंपछि…

चुम्बकीय उत्तरी ध्रुव आधिकारिक रूपमा क्यानडाबाट टाढा र साइबेरियातिर आफ्नो गतिशीलता जारी राख्दै आफ्नो स्थान परिवर्तन गरेको छ। यस घटनाले…

हमासले शिरी बिबासको अवशेष इजरायललाई नभई गाजाकी एक महिलाको अवशेष हस्तान्तरण गरेको खुलासा भएपछि "हमासले सम्झौता उल्लङ्घनको पूर्ण मूल्य चुकाउनेछ,"…

प्रतिकृयाहरू
...