Tuesday 22nd September 2026

सुस्त पुनर्निर्माणः ३ लाख घर निर्माणाधीन, ३ लाखको जग नै हालिएन


भूकम्पपछि पुनर्निर्माण सुरु भएका निजी घरको संख्या पाँच लाख पुगेको छ । तर, करिब १ लाख ९५ हजारमात्रै घरको पुनर्निर्माण सकिएको छ । निजी आवासका लागि अनुदान सम्झौता गरेका कूल ७ लाख २० हजार ७ सय ४३ लाभग्राहीमध्ये ६९.४७ प्रतिशतले घर निर्माण सुरु गरेका हुन् ।

करिब ३० प्रतिशत पीडितले घरको पुनर्निर्माण सुरू गरेका नै छैनन् । हाल लाभग्राही सूचीमा ७ लाख ८८ हजार १५ पीडित छन् । यसमध्ये ६८ हजारभन्दा बढीसँग अनुदान सम्झैता हुन पनि बाँकी छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको असार १४ गतेसम्मको तथ्यांकअनुसार ५ लाख ७ सय ३६ घरको पुनर्निर्माण सुरु भएको छ । यसमध्ये १ लाख ९४ हजार ७ सय ३१ घरको पुनर्निर्माण भइसकेको छ ।अहिले झण्डै ३ लाख घर निर्माणाधीन छन् । करिब ३ लाखले घरको निर्माण थालेकै छैनन् ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ७३ हजार ४ सय १९ घरको पुनर्निर्माण सुरु भएको छ । त्यसैगरी, नुवाकोटमा ६४ हजार १ सय ६१, धादिङमा ५९ हजार ३ सय ९८, गोरखामा ५२ हजार ४ सय ४८, दोलखामा ५२ हजार २ सय ३५, काभ्रेपलाञ्चोकमा ४३ हजार ८ सय २, रामेछापमा ३८ हजार ३ सय ४२ घरको पुनर्निर्माण कार्य सुरु भएको छ ।

अति प्रभावित जिल्लाहरुका अतिरिक्त कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माणले गति लिएको छ ।कम प्रभावित जिल्लामध्ये लमजुङमा सबैभन्दा धेरे ४ हजार ७ सय ४५ घरको पुनर्निर्माण सुरु भएको छ ।

त्यस्तै, दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्यामा पनि तीव्र बढोत्तरी भइरहेको छ । ४ लाख ५५ हजार ५ सय ८१ लाभग्राही दोस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् भने तेस्रो किस्ताका लागि २ लाख ६ हजार ८ सय ९२ लाभग्राही योग्य भइसकेका छन् ।

निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धताका साथै केही नीतिगत व्यवस्थामा गरिएका सुधारका कारण निजी आवास पुनर्निर्माणमा तीव्रता आएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताए ।

पछिल्लो समय गुनासो सम्बोधनबाट लाभग्राहीको संख्या पनि थपिएको छ । प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेका अनुसार अहिलेसम्म छुट तथा पुर्नजाँच सर्वेक्षणबाट प्राप्त बिश्लेषणबाट २० हजार ३ सय १० पुनर्निर्माण लाभग्राही थपिएका छन् । त्यसैगरी ११ हजार २ सय ९७ प्रवलीकरण लाभग्राही थपिएका छन् ।

प्राधिकरणले गत बिहिबार बिहान बसेको कार्यकारी समिति बैठकले विभिन्न ९ जिल्लाका १७ ओटा स्थानीय तहका ६ हजार २ सय ८२ पुनर्निर्माण लाभग्राही र २ हजार ८ सय ५७ जनालाई प्रवलीकरण लाभग्राहीमा थप गरेको थियो ।

भूकम्प प्रभावित लाभग्राहीले दोस्रो किस्ताबापत १ लाख ५० हजार पाउँछन् भने तेस्रो किस्ताबापट १ लाख रुपैयाँ पाउँछन् । हाल लाभग्राही सूचीमा ७ लाख ८८ हजार १५ पीडित छन् ।

पुनर्निर्माण भइरहेका घरको संख्याः ५,००,७४०

पुनर्निर्माण सम्पन्न भएका घरको संख्याः १,९४,७३१

लाभग्राही सूचीमा परेका कुल संख्याः ७,८८,०१५

प्रबलीकरण सूचीमा परेका लाभग्राही संख्याः ३६,२८८

अनुदान सम्झौता सम्पन्न लाभग्राही संख्याः ७,२०,७४३

पहिलो किस्ता लिएका लाभग्राही संख्याः ७,१२,०१३

दोश्रो किस्ताका लागि प्रमाणीकरण गरिएकाः ४,५७,५३६

तेश्रो किस्ताका लागि प्रमाणिकरण गरिएकाः २,१२,७१९

साभार अनलाइनखबर


सम्बन्धित शीर्षकहरु

जापानको राजधानी टोकियोसहित विभिन्न क्षेत्रमा शक्तिशाली आँधी ‘डुजुआन’ ले व्यापक असर पारेको छ। आँधीसँगै परेको मुसलधारे वर्षा र तीव्र हावाका…

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानका तीन दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको छ। खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का अनुसार लाहोरस्थित घरमा…

युनिसेफको प्रतिवेदनअनुसार पाकिस्तानमा प्रत्येक वर्ष करिब १५ लाख बालबालिका अनलाइन यौन दुर्व्यवहार वा शोषणको जोखिममा पर्ने गरेका छन्। सामाजिक लाज,…

प्रतिकृयाहरू
...