Friday 19th April 2024

कलाकारकाे वर्ल्डकप तयारी


तितोपाटी – नायिका तथा निर्मात्री ऋचा शर्माले टेलिश्रृंखला ‘हाम्रो टिम’मा फुटबलरको रुपमा अभिनय गरेकी छिन्।  एक टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हाम्रो टिम’मा फुटबल खेलाडीको भूमिकामा अभिनय गरेकी ऋचाले यो सिरियलको १३ भागसम्म फुटबल खेलिन्। विश्वकपको मुखैमा  हरेकले आआफ्नो टिम छानिरहँदा ऋचाले आफू जर्मन टिमको पक्षमा रहेको बताइन्।

‘मैले च्यारिटीका लागि  मात्र फुटबल खेले। अघिल्लो पटकको विश्वकपमा मैले रेष्टुरेन्टमा फाइनल खेल हेरेको थिएँ । यो वर्ष कहाँ हेर्ने भन्ने केही टुंगो लागेको छैन,’उनले भनिन्,‘परिवारको हर्ताकर्ता म आफै भएकाले पनि फाइनलको निधो भइसकेको छैन।’ उनले टेलिभिजनको पर्दामा फुटबल खेल्दा रमाइलो लागे पनि टिमको हार जितमा तटस्थ रहने बताइन्। ४ दिनपछि नेपाल विश्वकप फुटबलको मजा लिन व्यस्त हुनेछ। फुटबलमा चासो राख्ने धेरै सेलिब्रेटीले यो साल छनोट र क्वाटर फाइनल चरणका खेल घरमै परिवारसँग बसेर हेर्ने योजना बनाएका छन् भने सेमीफाइनल र फाइनल रेष्टुरेन्टमा। अघिल्लो विश्वकपमा झैं यो पटकको विश्वकप साथीभाइसँग रेष्टुरेन्टमा खानपिन गर्दै हेर्ने उनीहरूको योजना छ।

फूटबलको महासंग्राम अर्थात विश्वकप फूटबल आउन अब चार दिन मात्र बाँकी छ । फुटबल उत्सवको छेकोमा कलाकार तथा निर्माता दीपकराज गिरी फिल्म ‘छक्का पन्जा ३’को सुटिङका लागि पोखराको माथिल्लो गाउँमा छन्। फुटबल जानेदेखि नै अर्जेन्टिनाको फ्यान दीपक आफ्नो मनपर्ने टिमको फुटबल हेर्न व्यग्र प्रतिक्षामा छन्।

‘हामी यतिबेला फिल्मको धमाधम छायांकनमा छौं। विश्वकपको आधा समयमा फिल्मको छायांकन सकिन्छ,’उनी भन्छन्,‘मेरो बाल्यकालदेखि नै अर्जेन्टिनाको छाप दिमागमा रहिरह्यो। म्याराडोनाले जीवनका अन्तिम अर्थात विश्वकप खेलेको अन्तिम समयताका दर्शक हुने अवसर पाइयो। सन् १९९० ताकाको म्याराडोनाको खेल हेरियो । त्यही कारणले पनि अर्जेन्टिनामा मेरो सेन्टिमेन्ट छ।’ उनले पहिला म्याराडोना हिरो भएजस्तै अहिले आफ्ना लागि मेसी हिरो भएको बताए।

वल्र्डकप चलिरहँदा फिल्मको सुटिङ पनि भइरहने भएकाले दीपकले टिमको खेल हुँदा सुटिङमा ब्रेक गर्ने खुलाए। ‘मेरो मनपर्ने टिम टेलिभिजनमा आउँदा म त्यसलाई नहेरिरहन सक्दिन। त्यसकारण पनि यो समयमा म सुटिङ रोकेरै भए पनि फुटबल हेर्छु,’उनले भने,‘सहकर्मी साथीहरूको मनपर्ने टिमको खेल आउँदा त्यही अनुसार समय मिलाउँछौं।’

दीपकले अघिल्लो वर्षको विश्वकप फाइनल रेष्टुरेन्टमा बसेर हेरेका थिए। त्यो बेला साथीभाइबीचको बोतल झगडाले केही तनाव दिएको स्मरण गर्दै दीपकले यसपटकको फाइनल रेष्टुरेन्टमा नै हेर्ने बताए। दीपकजस्तै नायिका केकी अधिकारी पनि अर्जेन्टिनाकै फ्यान हुन्। अघिल्लो विश्वकप नेपालमै परिवार तथा साथीभाइसँग बसेर हेरेकी केकी यसपटकको विश्वकपको धेरै खेल अष्ट्रेलियामा हेर्नेछिन्। ‘विश्वकप चलिरहेकै समयमा मेरो फिल्म ‘कोहलपुर एक्सप्रेस’ अष्ट्रेलियामा रिलिज हुँदैछ। म अर्जेन्टिनाको समर्थन गर्दैै अष्ट्रेलियामा विश्वकप हेर्दैछु,’केकीले भनिन्,‘नयाँ देशमा विश्वकप हेर्दाको मज्जा पक्कै बेग्लै हुनेछ। विश्वकपको फाइनल कहाँ हेरिन्छ भन्ने चाहिँ निश्चित छैन्। तर अष्ट्रेलियामा नै पुगेपछि यसको निर्णय हुन्छ ।’ केकीले पिता बद्री अधिकारी अर्जेन्टिनाको समर्थक भएकाले पनि आफूले फूटबल जान्ने बुझ्ने भएदेखि नै अर्जेन्टिनाको समर्थक रहेको बताइन्।

नायिका वेनिशा हमाल र  केकीकी मिल्ने साथी हुन्। अरु धेरै कुरामा मन मिले पनि विश्वकपको समयमा भने दुवैको मन मिल्दैन। केकी अर्जेन्टिनाको पक्षधर हुँदा बेनिशाको भने मन पर्ने टिम  ब्राजिल हो । ‘मैले थाहा पाएदेखि नै म र बाबा ब्राजिल, भाइ जर्मनी र ममी अर्जेन्टिनाको समर्थक हौं,’ वेनिशाले भनिन्,‘अघिल्लो पटक ब्राजिल जर्मनीबाट लज्जास्पद रुपमा हारेका थियो। यसपटक त्यो लज्जास्पद हारको ब्राजिलले बदला लेओस् भन्ने मेरो चाहना छ।’ क्वाटरफाइनलसम्मका खेल परिवारसँगै बसेर हेर्ने बेनिशाले सेमिफाइनल र फाइनलसम्मको खेल चाहिँ घर बाहिर हेर्ने योजना बनाएकी छन्।

गायक प्रमोद खरेल नेयमार जुनियरको टिम ब्राजिलको समर्थक रहे पनि उनको मनपर्ने खेलाडी लियोनल मेसी हुन्। मेसीले यो विश्वकपपछि राष्ट्रिय टोलीबाट सन्यास लिने चर्चाका कारण पनि खरेल योे पटक मेसीले अर्जेन्टिनालाई विश्वकप जिताए हुन्थ्यो भन्ने चाहानामा छन् । ‘यो वर्ष मेरो विश्वकपको ओपनिङ पोखरामा हुन्छ र इन्डिङ चाहिँ सम्भवत अमेरिकामा हुन्छ,’प्रमोदले भने,‘अघिल्लो वर्ष मैले परिवारसँगै हेरेको थिए। म  समीक्षा गर्दै खेल हेर्दछु । यो पटक ब्राजिल, जर्मनी, पोर्चुगल जस्ता टिम निकै कडा टिमका रुपमा छन्। यो पटक अमेरिकामा फाइनल हेर्ने सम्भावना बढेकाले साथीभाइको घरमै वा बाहिर हेर्ने हो त्यो टुंगो लागेको छैन।’

विश्वकपको माहौलमा नायिका र गायिका सेलिब्रेटीको व्यस्तता पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममा ब्लोअपका लागि बढ्दो छ। आफूलाई मनपर्ने टिमको जर्सीमा आकर्षक फोटो खिचाएरै समर्थक बन्न कलाकारमा दौडधुपको कमी छैन।

-नागरिकन्युजबाट


सम्बन्धित शीर्षकहरु

विश्वको सबैभन्दा ठुलो लोकतान्त्रिक देश भारतमा नयाँ सरकार चुन्न आज शुक्रबारबाट आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका…

स्वीडेनले लिङ्ग परिवर्तन गर्ने कानुन पारित गरेकत्र छ। स्वीडेनको संसदले बुधवार लिङ्ग परिवर्तन गर्न पाउने सम्बन्धी कानून पारित गरेको हो।…

रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानका तर्फबाट पीडितलाई क्षतिपूर्तिलगायतको माग राख्दै सिंहदरबारको दक्षिण गेटमा प्रदर्शनका क्रममा १२ जना पक्राउ परेका…

प्रतिकृयाहरू
...