Thursday 30th July 2026

भारतमा निर्वाचनः मोदीलार्इ राहुल गान्धीले पछार्दै


तितोपाटी – भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ। कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ। त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन्।

भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ। यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक मानिहाल्न मिल्ने अवस्था भने छैन।

जयपुरमा कङ्ग्रेस नेता सचिन पाइलटले भने, “निर्वाचन मतगणनाको प्रवाह हेर्दा भारतीय कङ्ग्रेसले राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा राम्रो पकड जमाउने देखिएको छ। हामी विश्वस्त छौँ यो शुरूवाती परिणामले अन्तिमसम्म निरन्तरता पाउनेछ।”

यसैगरी प्रारम्भिक मतगणनामा देखिएको झुकावप्रति प्रतिक्रिया दिँदै भाजपा नेता तथा गृहमन्त्री राजनाथ सिंले भने, निर्वाचन राज्य सरकारका गतिविधिलाई हेरेर आउने भएको र यसलाई नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारसँग तुलना गर्ने र मोदी सरकारको सफलता र असफलतासँग दाँज्न मिल्दैन।

प्रारम्भिक मत गणना अनुसार राजस्थानमा कङ्ग्रेसको ९७ सीटमा, भाजपाको ७५ स्थानमा र १२ स्थानमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्। यो प्रदेशमा कङ्ग्रेसको विकल्प भाजपा र भाजपाको विकल्प कङ्ग्रेस दिने गरेको इतिहास छ।

यसैगरी परिणामले २३० सीट भएको राजस्थानको छिमेकी मध्यप्रदेशमा सुरुभएको २२४ सीटको मत गणनाले कङ्ग्रेसलाई ११२ सीट र भाजपालाई १०३ सीटमा अघि देखाएको छ।

दक्षिणी राज्य तेलङ्गनामा क्षेत्रीय दल टिआरएसले ९० सीटमा अग्रता पाएको छ, कङ्ग्रेसले १६ सीटमा नेतृत्व गरेको छ भने टिडिपीले दुई र भाजपाले एक सीटमा नेतृत्व गरेको देखिएको छ।

अर्को एक सानो राज्य मोजिराममा मिजो नेशनल फ्रन्टले २० सीट, कङ्ग्रेसले पाँच र भाजपाले एक स्थानमा अग्रता लिएको देखाइएको छ। निर्वाचन मत गणना मङ्गलबार अपरान्हसम्मको भएको सम्बन्धित राज्यका निर्वाचन कार्यालयहरूले जनाएका छन्।


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...