Monday 16th February 2026

वासिङ्टन पोष्टका पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणमा चाैतर्फी सरगर्मी


तितोपाटी – पत्रकार जमाल खसोग्गी बेपत्ता प्रकरणको अनुसन्धान गरिरहेको टर्कीले  खानतलासीको लागि इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गरेको छ ।  वासिङ्टन पोष्टका पत्रकार जमाल खसोग्गी बेपत्ता भएको दुई सातापछि उनी अन्तिम पटक देखिएका इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र टर्कीका प्रहरी पहिलो पटक प्रवेश गरेको हो । साउदी अधिकारीहरूको एक समूह भित्र पसेको करिब एक घण्टापछि टर्कीका अनुसन्धानकर्ताहरू त्यहाँ गएका हुन्। टर्कीका अधिकारीहरू खसोग्गीलाई सोही वाणिज्य दूतावासभित्र साउदी एजेन्टहरूले मारिदिएको विश्वास गर्छन्। तर रियादले भने उक्त भनाइलार्इ कडा शब्दमा अस्वीकार गर्दै आएको छ।

अमेरिकी सञ्चारमाध्यमहरूमा आएका अपुष्ट खबरहरू अनुसार खशोग्गीको ज्यान केरकार का बेला गएको भनी साउदी अधिकारीहरूले स्वीकार गर्न तयारी गरिरहेका छन्। अरबी टेलिभिजन च्यानल अल जजिराले टर्कीका महान्यायधिवक्तालाई उद्धृत गर्दै सो वाणिज्य दूतावासभित्रै खशोग्गीको हत्या भएको प्रमाण रहेको जनाएको छ।

यो मुद्दाका कारण साउदी अरेबिया तथा उसका निकट पश्चिमा सहयोगीहरूबीचको सम्बन्ध बिग्रिएको छ भने अमेरिकाले विदेशमन्त्री माइक पोम्पेओलाई रियाद तथा अंकाराको भ्रमणमा पठाएको छ।

वासिङ्टन पोस्टका लागि लेख्ने पत्रकार खसोग्गी बेपत्ता भएपछि साउदी अरबमाथि विभिन्न देशबाट कूटनीतिक दबाब आउन थालेको छ । साउदी अरबले भने पत्रकार खसोग्गी बेपत्ता प्रकरणबारे अनुसन्धान भइरहेको बताउने गरेको छ । यसैबीच साउदीका राजा सलमानले सोमबार खसोग्गी बेपत्ताबारे विस्तृत रूपमा अनुसन्धान गर्न आदेश दिएको बिबिसीले उल्लेख गरेको छ।

‘खसोग्गीको मुद्दामा इस्तानबुलमा रहेको टिमले प्रदान गर्ने सूचनासँग सम्बन्धित भएर आन्तरिक अनुसन्धान गर्न राजाले सार्वजनिक अभियोजनकर्तालाई आदेश दिएका छन्,’ अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । पत्रकार खसोग्गी बेपत्ता भएको प्रकरणबारे मिलेर अनुसन्धान गर्नेबारे साउदी अरबले गत साता राखेको प्रस्तावलाई टर्कीले स्वीकार गरेको छ।

पत्रकार खसोग्गी बेपत्ताको विषयमा साउदी अरबको भूमिका देखाउँदै यसै महिनाको अन्त्यतिर रियादमा हुने प्रमुख लगानी सम्मेलनमा विश्वका उच्च व्यापारिक व्यक्तित्वले सहभागी नहुने घोषणा गरेपछि साउदी राजाको पछिल्लो निर्देशन आएको बताइएको छ । सो सम्मेलनमा सहभागी नहुने घोषणा गर्नेमध्ये जेपी मोर्गनका प्रमुख कार्यकारी अधिकृत जेमी डाइमन पनि एक हुन् । उनले पत्रकार खसोग्गी बेपत्ता भएको विषयलाई लिँदै रियादमा हुने लगानी सम्मेलनमा सहभागी हुने आफ्नो योजना रद्द गरेको बिबिसीले जनाएको छ।

वाणिज्य दूतावासमा टर्कीका अधिकारीहरुलाई खानतलासी गर्न दिनेबारे साउदी अरबले गत साता सहमति जनाएको थियो । यद्यपि सो खानतलासी सतही प्रक्रियाको मात्रै हुने साउदीले बताएको थियो । साउदीको सो प्रस्ताव टर्कीले अस्वीकार गरेको बताइएको छ । सबाह दैनिक पत्रिकाले जनाएअनुसार टर्कीका अनुसन्धानकर्ताहरुले रगतका कुनै दाग भए त्यसलाई पत्ता लगाउने रसायन ‘लुमिनोल’सहित इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा अनुसन्धान गर्न चाहेका छन्।

पत्रकार खसोग्गी बेपत्ता प्रकरणबारे साउदीका राजा सलमान र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच आइतबार साँझ टेलिफोन कुराकानी भएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । सो टेलिफोन वार्तामा दुवै जनाले खसोग्गी बेपत्ता प्रकरणमा दुई देश मिलेर अनुसन्धान गर्नु पर्ने विषयमा जोड दिएको बताइएको छ।

सुरुमा साउदी राजपरिवारको अत्यन्तै निकट तर पछि आलोचक बनेका पत्रकार खसोग्गी अक्टोबर २ का दिन इस्तानबुलस्थित साउदीको वाणिज्य दूतावासमा हिँड्दै गएको देखिएका थिए । त्यसपछि उनी बेपत्ता भएको बताइन्छ । साउदीकै वाणिज्य दूतावासमा उनको हत्या भएको बारे आफूहरुसँग अडियो र भिडियो प्रमाण रहेको टर्कीको सुरक्षा स्रोतलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । टर्कीका अधिकारीहरुले खसोग्गीको सोही वाणिज्य दूतावासभित्रै हत्या भएको आरोप लगाउँदै आएका छन् । यद्यपि टर्कीको त्यस्तो आरोप साउदी अरबले भने खण्डन गरिरहेको छ।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खसोग्गी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएको र त्यसपछि उनी त्यहाँबाट नबाहिरिएको बताइएको छ । खसोग्गीसँग विवाहको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणिज्य दूतावास गएपनि उनलाई कार्यालयभित्र छिर्न दिइएको थिएन।

उनलाई साउदीका १५ जना बलिया एजेन्टहरुले वाणिज्य दूतावासभित्रै हत्या गरेको आरोप टर्की स्रोतले लगाउने गरेको छ । तर रियादले भने पत्रकार खसोग्गीले सकुशल रूपमा वाणिज्य दूतावास छोडेको बताउने गरेको छ । कुनैबेला साउदी परिवारका निकट व्यक्ति खसोग्गी साउदी सरकारसँग बेमेल भएपछि आफै स्वघोषित रूपमा निर्वासनमा गएका थिए । उनी अमेरिकी निवासी हुन्।

अन्य देशले कसरी प्रतिक्रिया दिएका छन् ?
पत्रकार जमाल खसाेग्गीको मृत्युमा साउदी अरब दोषी पाइए अमेरिकाले उसलाई कडा सजाय दिने राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन्।

सिबिएससँगको अन्तर्वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले यदि पत्रकार खसोगीको वाणिज्य दूतावासभित्रै हत्या भएको हो भने त्यो अत्यन्तै खराब भएको बताएका छन् । ‘पत्रकार हत्याबारे हामी भित्री सतहसम्म पुग्न खोजिरहेका छौं र यदि त्यसमा साउदीको संलग्नता प्रमाणित भए उसविरुद्ध कडा सजाय दिइनेछ,’ अन्तर्वार्ताका क्रममा ट्रम्पले बताएका छन् । यद्यपि उनले साउदीसँगको सैन्य सम्झौता भने नरोक्ने प्रष्ट पारेका छन्।

ट्रम्पको यस्तो चेतावनीमाथि जबाफ दिँदै साउदीले आफ्नो देशमाथि लगाइने कुनै पनि प्रकारको प्रतिबन्धको बदला लिने आइतबार चेतावनी दिएको छ । पत्रकार खसोग्गी बेपत्ता प्रकरणबारे विश्वसनीय अनुसन्धान गर्न बेलायत, जर्मनी र फ्रान्सले माग गरेका छन् । पत्रकार बेपत्ता पार्न जो कसैको हात रहेको पत्ता लागे पनि उनीहरुलाई कडा कारबाही हुनुपर्ने माग यी देशका विदेशमन्त्रीहरुले गरेका छन्।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनले मानवतावादी पहलअन्तर्गत सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका–५मा रहेको दुर्गा स्थान माध्यमिक विद्यालयलाई विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धिका लागि…

नेपालको राजनीतिक संस्कृतिमा घोषणापत्रको विश्वसनीयता दशकौँदेखि कमजोर छ। चुनावअघि वाचा, चुनावपछि बिर्सिने परम्पराले नागरिक–राजनीति सम्बन्धमा गहिरो अविश्वास सिर्जना गरेको छ।…

नयाँ विद्रोह, पुरानो संरचना: किन अघि बढेन महावीर पुनको नवप्रवर्तन सपना ? नेपालको राजनीतिमा “नयाँ पुस्ता” वा परिवर्तनको नारासहित बनेका…

प्रतिकृयाहरू
...