Monday 14th September 2026

अाइसिसी विश्व ट्वान्टी-२० छनाैट खेलमा नेपालले मलेसियालर्इ ८ विकेटले हरायो


तितोपाटी – आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट क्रिकेटमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले पहिलो खेलमा पनि म्यानमारलाई समान ८ विकेटले नै पराजित गरेको थियो।

शनिबार बिहान सम्पन्न खेलमा मलेसियाले जितका लागि दिएको १ सय १ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाइ भेट्टायो। नेपालको जितमा कप्तान पारस खड्काले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५२ रन बनाए। पारसले ३७ बलमा ५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले पनि नटआउट २७ रन बनाए। उनले २४ बलमा २ चौंका र १ छक्का हिर्काए। ओपनिङ ब्याट्सम्यान अनिल शाह १ र विनोद भण्डारी १२ रनमा आउट भएपछि क्रिजमा आएका पारस र ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाएका हुन्। मलेसियाका सायद अजिज र पभेन्दीप सिंहले एक–एक विकेट लिए।

यसअघि क्वालालम्पुरस्थित वायुमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा सबै विकेट गुमाइ १०० रन बनाएको थियो। मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान सफिक सरिफले सर्वाधिक ४९ रन बनाए। एक रनले अर्धशतक बनाउन चुकेका सरिफले ३७ बलमा ७ चौंका र २ छक्का प्रहार गरे। उनी सन्दीपको बलमा क्याच आउट भएका थिए। त्यस्तै सायद अजिजले १३ रन बनाए। मलेसियाका ९ जना ब्याट्सम्यानले दोहोरो रनको आकडा छुन सकेनन्। कुनैबेला ७५–२ को अवस्थामा रहेको मलेसियाले त्यसपछि भने लगातार विकेट गुमाएको थियो। नेपालका सोमपाल कामीले ११.१ र ११.२ अमेभरमा लगातार विकेट लिएका थिए। त्यस्तै सन्दीपले पनि १२.३ र १२.४ ओभरमा लगातार विकेट लिए।

नेपालका लागि सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २० रन दिएर ५ विकेट लिएका हुन्। सन्दीप टी–२० क्रिकेटमा एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली बलर पनि बनेका छन्। त्यस्तै सोमपाल कामीले ३ र कप्तान पारस खड्काले १ विकेट लिए।

नेपालले बुधबार भएको पहिलो खेलमा म्यानमारविरुद्ध ८ विकेटको सहज जित हात पारेको थियो। म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले १८ बलमा २ विकेट गुमाउँदै पूरा गरेको थियो। त्यस्तै मलेसियाले पहिलो खेलमा भुटानलाई ६७ रनले हराएको थियो भने वर्षाका कारण दोस्रो खेलमा बिहीबार थाइल्यान्डसँग १ अंक बाँडेको थियो।

प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक  मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन्।

समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन्। युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन्। अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

यस पटकको ट्वान्टी–२० विश्वकप क्रिकेट अस्ट्रेलियाले २०२० अक्टोबर  १८ देखि १५ नोभेम्बरसम्म सञ्चालन गर्नेछ। प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।


सम्बन्धित शीर्षकहरु

फिलिपिन्सको मुस्लिम बहुल Bangsamoro Autonomous Region in Muslim Mindanao (BARMM) मा पहिलो पटक संसदीय चुनाव भइरहेको छ। यस चुनावमा करिब…

इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक फेरी पल्टिएपछि बेपत्ता भएका १२९ जनाको खोजी कार्य तीव्र पारिएको छ। खराब मौसमका कारण आइतबार Virgo…

१८ दिनदेखि रातदिन नभनी खोला किनारमा जोखिम मोलेर उद्धारमा खटिएका सागर ढकालले विदेशी सञ्चारमाध्यममा प्रकाशित आरोप तथा नकारात्मक भाष्यप्रति आपत्ति…

प्रतिकृयाहरू
...