Saturday 28th November 2026

म्यान्मारमा हवाई आक्रमण, विद्यालय र विवाहस्थलमा गरी दर्जनौंको मृत्यु


म्यान्मारको सैन्य सरकारले गरेको हवाई आक्रमणमा विद्यालय र विवाह समारोहस्थलमा गरी दर्जनौं मानिसको ज्यान गएको छ।

शनिबार दक्षिणी शान राज्यको मोए बाय गाउँमा विवाह समारोह भइरहेका बेला भएको हवाई आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको र ३५ भन्दा बढी घाइते भएका उद्धारकर्मीहरूले बताएका छन्।

त्यसअघि बिहीबार मध्य म्यान्मारको म्याग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा भएको हवाई आक्रमणमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसहित कम्तीमा २० जनाको मृत्यु भएको निर्वासित राष्ट्रिय एकता सरकार (NUG) ले जनाएको छ।

शनिबार बेलुका राखाइन राज्यको म्राउक–यू सहरमा पनि हवाई आक्रमण हुँदा १० भन्दा बढी मानिस मारिएका र करिब २० जना घाइते भएका छन्। उक्त क्षेत्र अराकान आर्मी (AA) को नियन्त्रणमा रहेको छ।

सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि म्यान्मारमा गृहयुद्ध जारी छ। त्यसयता देशभरि लगभग दैनिकजसो हवाई आक्रमण हुँदै आएका छन्। सेना नियन्त्रण बाहिरका क्षेत्रमा आक्रमण, गाउँहरू जलाउने तथा सैन्य कारबाही गर्ने क्रम चलिरहेको छ।

यसैबीच, एक साताअघि अन्तर्राष्ट्रिय अदालत (ICJ) ले रोहिङ्जा मुस्लिम समुदायविरुद्ध म्यान्मारले नरसंहार गरेको ठहर गरेको थियो। सन् २०१७ को सैन्य कारबाहीका कारण हजारौं रोहिङ्जाको मृत्यु भएको र सात लाखभन्दा बढी व्यक्ति बंगलादेशतर्फ विस्थापित भएका थिए।

म्यान्मार सरकारले पछिल्ला हवाई आक्रमणबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।


सम्बन्धित शीर्षकहरु

ब्राजिल। दक्षिण अमेरिकी अमेजनको घना जङ्गलमा दशकौँदेखि बाहिरी संसारसँग लगभग सम्पर्कविहीन जीवन बिताउँदै आएका आदिवासी समुदायका मानिसहरू हालै जङ्गलको किनारमा…

आज माल्दिभ्स विश्वमै मुस्लिम बहुल राष्ट्रका रूपमा परिचित छ। हिन्द महासागरमा अवस्थित यो सानो टापु राष्ट्रको संविधानले इस्लामलाई राज्य धर्म…

कुवेतमा कार्यरत तमू (गुरुङ) समुदायको साझा संस्था तमू समाज कुवेतले आगामी जनवरी १ (पुस १७), शुक्रबारका दिन तमू ल्होछार/ल्होसार–२०२७ भव्य…

प्रतिकृयाहरू
...