Sunday 1st November 2026

मङ्गल ग्रहमा बगेको नदी कहाँ हरायो ?


वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण फेरि चर्चामा आएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहको जेजेरो क्रेटरभित्र रहेको ‘नेरेत्वा भ्यालिस’ उपत्यकाको ३६० डिग्री दृश्य सार्वजनिक गरेपछि मङ्गल ग्रहको प्राचीन जलइतिहासप्रति वैज्ञानिक तथा अन्तरिक्षप्रेमीको ध्यान आकर्षित भएको हो।

यो दृश्य नासाको पर्सिभरेन्स अन्वेषण यन्त्रले खिचेका २१७ वटा तस्बिर जोडेर तयार पारिएको हो। पर्सिभरेन्समा जडित ‘मास्टक्याम–जेड’ नामक क्यामेराले सन् २०२४ मे २० मा मङ्गल ग्रहमा आफ्नो १,१५५औँ दिन अर्थात् सोलमा यी तस्बिर खिचेको थियो। नासाले उक्त दृश्य सन् २०२६ अक्टोबर २६ मा सार्वजनिक गरेको हो। तस्बिरमा उपत्यकाको विस्तृत भूभाग देखिन्छ भने अन्वेषण यन्त्रको केही भाग दायाँ किनारमा देख्न सकिन्छ।

नेरेत्वा भ्यालिस सामान्य उपत्यका मात्र होइन, प्राचीन नदीको मार्ग हो। कुनै समय यस नदीले आसपासका उच्च भूभागबाट पानी बोकेर जेजेरो क्रेटरभित्र पुर्‍याउँथ्यो। नदीले बगाएर ल्याएका बालुवा, माटो र अन्य पदार्थले क्रेटरमा थुप्रिँदै नदीको मुहान क्षेत्रमा डेल्टा अर्थात् नदीले बगाएर ल्याएको अवसादबाट बनेको भूभाग निर्माण गरेको वैज्ञानिकहरूको निष्कर्ष छ। यस्ता भू–आकृतिले मङ्गल ग्रहमा कुनै समय नदी र तालजस्ता जलस्रोत रहेको बलियो प्रमाण दिन्छन्।

त्यसो भए नदीको पानी कहाँ गयो ? वैज्ञानिकहरूका अनुसार मङ्गल ग्रहको जलवायु परिवर्तनसँगै यसको वायुमण्डल क्रमशः पातलिँदै गयो। ग्रहले आफ्नो विश्वव्यापी चुम्बकीय क्षेत्र गुमाएपछि सूर्यबाट आउने सौर्य वायु र विकिरणले वायुमण्डलका ग्यासहरू अन्तरिक्षतर्फ उडाइदिए। वायुमण्डल पातलिँदा सतहमा तरल पानी टिकिरहन कठिन भयो। पानीको ठूलो हिस्सा वाष्पीकरण भएर वायुमण्डलमा पुग्यो र त्यसको केही अंश अन्तरिक्षमा हरायो। बाँकी पानीको केही हिस्सा ध्रुवीय क्षेत्रको बरफ तथा जमिनमुनि रहेको हुन सक्ने नासाले जनाएको छ।

तर मङ्गल ग्रहमा पानी हराएको समयबारे वैज्ञानिक अनुसन्धान अझै जारी छ। सन् २०२२ मा नासाको मार्स रिकनाइसन्स अर्बिटरबाट प्राप्त तथ्याङ्क अध्ययन गर्दा केही क्षेत्रमा दुई अर्बदेखि साढे दुई अर्ब वर्षअघिसम्म तरल पानी बगेको सङ्केत दिने नुनका खनिज भेटिएको थियो। यसले मङ्गल ग्रहमा पानी पहिले अनुमान गरिएभन्दा लामो समयसम्म रहेको हुन सक्ने देखाएको छ।

पर्सिभरेन्सको मुख्य उद्देश्य मङ्गल ग्रहको भौगोलिक बनावट, प्राचीन जलवायु र त्यहाँ कुनै समय सूक्ष्म जीवको जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्नु हो। यसले चट्टान र माटोका नमुना सङ्कलन गरी सुरक्षित राख्ने कामसमेत गरिरहेको छ। सन् २०२६ मार्चमा सार्वजनिक अनुसन्धानअनुसार यसै यन्त्रको भूमिगत राडारबाट जेजेरो क्रेटरको सतहमुनि ३५ मिटरसम्मका भूगर्भीय संरचना अध्ययन गर्दा प्राचीन नदीको डेल्टासँग मिल्ने तहहरू फेला परेका थिए। ती संरचना करिब ३ अर्ब ७० करोडदेखि ४ अर्ब २० करोड वर्ष पुराना हुन सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ।

मङ्गल ग्रहमा कुनै समय बगेको नदी आज किन सुक्खा उपत्यकामा परिणत भयो भन्ने प्रश्नको उत्तर खोज्नु केवल एउटा ग्रहको विगत बुझ्ने प्रयास होइन। यसले ग्रहको वायुमण्डल, जलवायु र जीवन धान्न सक्ने अवस्थाहरू कसरी परिवर्तन हुन्छन् भन्ने विषयमा पनि महत्त्वपूर्ण जानकारी दिन्छ। पर्सिभरेन्सले खिचेको २१७ तस्बिरको यो दृश्यले रातो ग्रहको वर्तमान उजाड स्वरूपसँगै त्यसको पानीले भरिएको प्राचीन इतिहासलाई एकैपटक देखाएको छ।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...