Saturday 31st October 2026

डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदी फरार, सुरक्षा व्यवस्थामाथि प्रश्न


डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले जिल्लाभर खोजी अभियान तीव्र बनाएको छ।

प्रहरीका अनुसार कैदीबन्दीहरूले एकै रातमा मात्र नभई धेरै दिनदेखि योजना बनाएर सुरुङ खनेको देखिएको छ। कारागारभित्र करिब १५ फिट लामो सुरुङ फेला परेको छ। उनीहरूले सुरुङ खन्ने क्रममा नजिकै रहेको सेफ्टी ट्याङ्की समेत प्रयोग गरी कारागार बाहिर निस्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

शुक्रबार राति वर्षा भइरहेका कारण ड्युटीमा रहेका सुरक्षाकर्मीले कैदीहरू भागेको थाहा पाउन सकेनन्। बिहान करिब ६ बजे नियमित जाँचका क्रममा उनीहरू कोठामा नभेटिएपछि फरार भएको खुलासा भएको थियो।

कारागार प्रशासनका अनुसार कैदीबन्दीहरूले आफूहरू सुत्ने कोठाको सिरानीतर्फबाट सुरुङ खनेका थिए। सुरुङ तयार भएपछि उनीहरूले सोही बाटो प्रयोग गरी कारागारबाट भागेको अनुमान गरिएको छ।

फरार हुनेमध्ये पाँच जना जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेका कैदी हुन् भने तीन जना चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बन्दी हुन्। प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गर्दै सम्भावित स्थानहरूमा खोजतलास जारी राखेको जनाएको छ।

घटनाका बेला एक सयजनाको क्षमता रहेको कारागारमा १७ जना कैदीबन्दी थिए। आठ जना फरार भएपछि अहिले नौ जना मात्रै कारागारमा रहेका छन्।

घटनापछि कारागारको सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ। कारागार प्रशासनले पछिल्लो पटक दसैँयता कुनै सर्च अभियान सञ्चालन नगरेको स्वीकार गरेको छ। सामान्यतया कैदीबन्दीबीच झगडा वा विवाद हुँदा मात्रै विशेष जाँच गर्ने गरिएको थियो।

नियमित निगरानी र सर्च अभियान नहुँदा कैदीबन्दीहरूले लामो समय लगाएर सुरुङ खन्दा पनि सुरक्षाकर्मीलाई जानकारी नभएको देखिएको छ। यही कारण यो घटना सुरक्षा कमजोरीको गम्भीर उदाहरणका रूपमा हेरिएको छ।

प्रहरीले फरार कैदीबन्दीको खोजीका लागि सबै सुरक्षा निकाय परिचालन गरेको छ भने घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको छ।


सम्बन्धित शीर्षकहरु

विचौलियाको आरोपमा अनुसन्धानको घेरामा रहेका इनम सापकोटासँग सर्वोच्च अदालतका उच्च पदस्थ व्यक्तिहरूको नाम जोडिएपछि न्यायपालिका यतिबेला गम्भीर विवादमा तानिएको छ।…

लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका १२ भन्दा बढी मुख्य सडकखण्ड अवरुद्ध भएका छन्। सडक बन्द…

कुवेतको मुत्ला क्षेत्रमा निर्माणाधीन भवनको सुरक्षा जिम्मेवारी सम्हालिरहेका एक सुरक्षा गार्डको हत्या गरेको आरोपमा बङ्गलादेशी नागरिक पक्राउ परेका छन्। कुवेतको…

प्रतिकृयाहरू
...