लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा गर्ने सर्वसाधारणलाई ठूलो समस्या भएको छ।
शनिबार बिहान इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी स्थित पेट्रोल पम्प नजिकै माथिबाट लेदोसहितको पहिरो खसेपछि हेटौँडा–भीमफेदी–दक्षिणकाली सडक पूर्ण रूपमा बन्द भएको हो। सडक बन्द भएपछि सवारीसाधन चल्न सकेका छैनन् र यात्रुहरू बाटोमै रोकिएका छन्।
प्रहरी घटनास्थलमा पुगेको छ र पहिरो पन्छाउन जेसीबी ल्याउने तयारी भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले सडक खुलाउन समय लाग्न सक्ने बताइएको छ।
त्यसैगरी, कान्तिलोकपथ अन्तर्गत मकवानपुरको गंगटे र ललितपुरको पाङदुरे क्षेत्रमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। शुक्रबारदेखि परेको लगातार वर्षाका कारण शनिबार बिहानदेखि नै यातायात सञ्चालन हुन सकेको छैन।
प्रहरीका अनुसार मकवानपुरतर्फको पहिरो पानी रोकिएपछि हटाउन सकिने अवस्था भए पनि ललितपुरतर्फ ठूलो पहिरो खसेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ। सडक सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
सडक बन्द भएपछि हेटौँडाबाट काठमाडौं जाने सवारीसाधन ठिंगन क्षेत्रमा रोकिएका छन् भने काठमाडौंबाट हेटौँडा आउने सवारीसाधन छैमले आसपास रोकिएका छन्।
पहिरोको जोखिम बढेपछि मकवानपुर प्रशासनले कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी रोक समेत लगाएको छ।
दुवै छोटो दूरीका सडक एकैपटक बन्द हुँदा हेटौँडा र काठमाडौंबीच यात्रा गर्ने यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ। प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसमको जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।