मौसम प्रतिकूल हुने पूर्वानुमानसँगै मुस्ताङका उच्च हिमाली क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङ र लोमन्थाङ गाउँपालिकाले कात्तिक १२ देखि १४ गतेसम्म अनावश्यक यात्रा तथा पदयात्रा नगर्न अनुरोध गरेका छन्।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनाअनुसार गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात र हिमपहिरोको जोखिम रहेकाले पर्यटक, स्थानीय बासिन्दा तथा यात्रीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेलले मौसम बिग्रँदा तापक्रम थप घट्न सक्ने, सडकमा पहिरो जान सक्ने तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको बताए। उनले जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएका छन्।
यसैबीच, लोमन्थाङ गाउँपालिकाले पनि प्रतिकूल मौसमका कारण चीनसँगको सीमावर्ती कोरला नाका तथा आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने जनाएको छ। गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार हिमपातका कारण सडक चिप्लो हुने, सवारी दुर्घटनाको जोखिम बढ्ने तथा सडक अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।
त्यसैले गाउँपालिकाले यातायात व्यवसायी, चालक, व्यापारी तथा पर्यटकलाई कोरला नाकातर्फ सवारीसाधन नलैजान तथा मौसम अनुकूल नहुँदासम्म उक्त क्षेत्रमा यात्रा स्थगित गर्न आग्रह गरेको छ। प्रशासनले विशेष गरी उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने पर्यटकलाई मौसम पूर्वानुमानको जानकारी लिएर मात्र यात्रा योजना बनाउन सुझाव दिएको छ।
स्थानीय प्रशासनले मौसम प्रतिकूल अवधिमा अनावश्यक जोखिम नलिन र कुनै आपत्कालीन अवस्था आएमा सम्बन्धित निकायसँग तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेको छ।