Tuesday 17th March 2026

इन्डोनेसियामा भूकम्पको कारण मर्नेको संख्या ८३२ पुग्यो, १ हजार नाग्ने अनुमान


तितोपाटी – इन्डोनेसियाको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको अधिकारीहरूले जनाएका छन् । इन्डोनेसियाली विपद् व्यवस्थापन निकायले सुरुमा आकलन गरिएको भन्दा निकै ठूलो क्षेत्र प्रभावित भएको जनाएको छ । संस्थाका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले ‘कपितय भग्नावशेषमा अझै ठूलो संख्यामा मानिसहरू फसेको’ जनाएका छन् । इन्डोनेसियाको तटीय क्षेत्रमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपछि ६ मिटर अग्ला सुनामीका छालहरूले पालु सहर बगाएको थियो ।

अधिकारीहरूले पालु सहरमा पुरिएका तथा भग्नावशेषमा फसेकाको उद्धार जारी रहेको जनाएका छन् । सुनामीपछि अस्पताल, होटल, किनमेल केन्द्र तथा हजारौं घरहरू क्षतिग्रस्त भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रसले करिब १६ लाख मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित भएको जनाएको छ ।

इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या केही हजार हुन सक्ने जनाए । उनका अनुसार उक्त क्षेत्रमा शक्तिशाली परकम्पहरू गइरहेकाले उद्धारमा कठिनाइ भइरहेको छ ।

राष्ट्रपति जोको विडोडोले पालुले हालसम्मकै विनाशकारी भूकम्प तथा सुनामीको सामना गरेको बताए । उनले मुख्य पर्यटकीय केन्द्र तालिसे सामुद्रिक तट ध्वस्त भएको जनाए ।
सुलावेसी टापु नजिकैको पालु करिब ३ लाख ३५ हजार मानिसहरूको बसोबास रहेको सहर हो । उद्धारकर्मीहरूले हातैले खनेर दुई दर्जन मानिसको उद्धार गरेका जनाइएको छ ।

सुनामीपछि कतिपय स्थानमा अवरुद्ध भएको विद्युत् आपूर्ति जारी नै छ । जसका कारण उद्धार कार्यमा समेत कठिनाइ भएको अधिकारीले जनाएका छन् । पहिरोका कारण पालु सहर जाने मुख्य बाटो अवरुद्ध हुनुका साथै पुलसमेत ध्वस्त भएको छ ।

सहरका विभिन्न स्थानमा राखिएका टेन्टमा घाइतेहरूको उपचार भइरहेको छ । पालुको मुख्य विमानस्थल बन्द भएको छ भने उद्धार शिविरमा बसिरहेका मानिसहरूलाई सेनाले कार्गो जहाजमार्फत राजधानी जाकार्ताबाट लगिएका उद्धार सामग्री बाँडेको छ ।

पटकपटक भूकम्प तथा सुनामीको चपेटामा पर्दै आएको इन्डोनेसियामा यसअघि लोम्बोक टापुमा शृंखलावद्ध भूकम्प गएका थिए । जसका कारण कम्तीमा ५ सय को ज्यान गएको थियो । त्यसैगरी २००४ मा सुमात्रा द्वीपमा गएको भूकम्पपछिको सुनामीका कारण १ लाख २० हजार इन्डोनेसियालीको मृत्यु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री सुशीला कार्कीले गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्मालाई बधाई तथा शुभकामना व्यक्त गरेकी छन् ।…

काठमाडौं। दलहरुले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझएका छन्। समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएका ६ राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन्।…

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ ग्लोबल कन्फ्रेन्स तथा अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको छ। परराष्ट्रमन्त्री…

प्रतिकृयाहरू
...