भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।
सरकारले बाढी प्रभावित क्षेत्रका लागि तत्काल १ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ। प्रारम्भिक राहतस्वरूप रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ। नुवाकोट, रसुवा, धादिङ र काठमाडौंमा स्थापना गरिएका ३९ वटा होल्डिङ सेन्टर (आश्रयस्थल) मा हजारौं प्रभावित नागरिकले आश्रय लिइरहेका छन्।
बाढीका कारण गल्छी–वेत्रावती–रसुवागढी सडकखण्डको ८२ किलोमिटर क्षेत्रमा ठूलो क्षति पुगेको छ। विभिन्न सुरुङ तथा भग्नावशेषमा अझै पनि हराइरहेकाहरूको खोजी र उद्धार कार्य जारी छ।
खोज तथा उद्धार अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका हजारौं सुरक्षाकर्मी परिचालित छन्। साथै, टनेल उद्धार कार्यमा सहयोग गर्न भारत र चीनबाट आएका विशेषज्ञ टोलीहरू समेत खटिएका छन्।
सरकारले अब राहत वितरणसँगै प्रभावित परिवारको पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण र जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्यलाई प्राथमिकता दिएको जनाएको छ।