नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १५ लाख सहयोग गरेको छ।
समाजको आह्वानमा विश्वका विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिहरूले छोटो समयमै सक्रियतापूर्वक सहयोग संकलन गरी अन्तर्राष्ट्रिय झापाली समाजको खातामा रु. १४ लाख ६६ हजार ८६ रुपैयाँ जम्मा गरेका थिए।
सहयोग गर्ने राष्ट्रिय समितिहरूमा अष्ट्रेलिया, कतार, माल्टा, ओमान, नेदरल्याण्ड, कुवेत, साउदी अरेबिया, बेल्जियम र अमेरिका रहेका छन्।
समाजले यस मानवीय अभियानमा सक्रिय सहभागिता जनाउने सम्पूर्ण राष्ट्रिय समिति, पदाधिकारी, कार्यसमिति सदस्य, अभियन्ता, समाजसेवी, व्यवसायी तथा सहयोगी दाताहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
अन्तर्राष्ट्रिय झापाली समाजका अनुसार यो सहयोग आर्थिक सहयोगमा मात्र सीमित नभई विपद्को समयमा विश्वभर रहेका नेपालीहरू एकताबद्ध भएर आफ्नो देश र नागरिकप्रति जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने मानवीय भावना र सामाजिक उत्तरदायित्वको प्रतीक हो।
समाजले “झापाली भएर जोडिऔं, नेपाली भएर सहयोग गरौं” भन्ने भावनालाई आत्मसात् गर्दै यस अभियानमा साथ दिने सबैप्रति पुनः धन्यवाद तथा उच्च सम्मान व्यक्त गरेको छ।
![]()