Sunday 23rd August 2026

कुवेतमा फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव भेटियो, हत्या आरोपमा एक पक्राउ


कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको अवस्थामा भेटिएको फिलिपिन्सको विदेश मामिला विभाग (DFA) ले जनाएको छ। नाकालाबानको परिवारसँग अन्तिम पटक सन् २०२४ को मे महिनामा सम्पर्क भएको थियो। उनले डिसेम्बरमा परिवारलाई अचानक भेटेर सरप्राइज दिने योजना बनाएको बताइएको छ।

घटनापछि कुवेतको सार्वजनिक अभियोजन कार्यालयले एक कुवेती नागरिकलाई हत्या आरोपमा हिरासतमा लिएको छ। घटनासँग सम्बन्धित अन्य तीन जनालाई भने मृतकको शवको मर्यादा उल्लंघन गरेको तथा अपराधबारे सम्बन्धित निकायलाई जानकारी नदिएको आरोपमा हिरासतमा राखिएको छ। अभियोजन अधिकारीहरूले घटनास्थलको निरीक्षण गरी आवश्यक फरेन्सिक तथा प्रमाणसम्बन्धी रिपोर्ट तयार गर्न आपराधिक प्रमाण विभागलाई निर्देशन दिएका छन्।

नाकालाबान लामो समयदेखि परिवारबाट टाढा रहेर कुवेतमा काम गरिरहेकी थिइन्। परिवारले उनको सम्पर्कविहीन अवस्थाबारे चिन्ता व्यक्त गर्दै खोजी गरिरहेको अवस्थामा रोजगारदाताको घरपछाडि उनको शव फेला परेको हो। घटनाले कुवेतमा कार्यरत विदेशी घरेलु कामदारको सुरक्षा र उनीहरूको अधिकारसम्बन्धी प्रश्नसमेत पुनः उठाएको छ।

फिलिपिन्स सरकारले घटनालाई गम्भीर रूपमा लिँदै नाकालाबानका लागि न्याय सुनिश्चित गर्न कुवेती अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ। उनको मृत्युको वास्तविक कारण, घटनामा संलग्न व्यक्तिहरू र लामो समयसम्म घटना लुकाइए–नलुकाइएको विषयमा अनुसन्धान अघि बढिरहेको छ। फिलिपिन्स सरकारले दोषीमाथि कानुनी कारबाहीका लागि आवश्यक सबै प्रयास गर्ने प्रतिबद्धता जनाएको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा दुई महिनादेखि बेपत्ता रहेकी फिलिपिनो घरेलु कामदार डाफ्नी नाकालाबानको शव रोजगारदाताको घरपछाडिको क्षेत्रमा फेला परेको छ। उनको शव कुहिएको…

मलेसियाले नेपाली श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई मात्र मान्यता दिएपछि विवाद उत्पन्न भएको छ। नेपाल सरकार र वैदेशिक रोजगार…

थाइल्याण्डको विद्रोह प्रभावित दक्षिणी क्षेत्रमा शनिबार राति आगजनी तथा बम हमलाका ५१ वटा घटना भएका छन्। आक्रमणमा स्थानीय सरकारी कार्यालय,…

प्रतिकृयाहरू
...