Wednesday 24th June 2026

च्यातिएको झण्डा फेरेर एक युवाले दिएको राष्ट्रप्रेमको मौन सन्देश


तानसेन नगरपालिका–५ स्थित छापथोकको गुर्जुडाँडामा सार्वजनिक स्थलमा महिनौँदेखि च्यातिएको अवस्थामा फरफराइरहेको थियो नेपाली राष्ट्रिय झण्डा। देशको अस्मिता, पहिचान र स्वाभिमानको प्रतीक मानिने उक्त झण्डा सरकारी बेवास्ता र जनप्रतिनिधिको नजरअन्दाजीका कारण यथावत् रहँदा, सामाजिक सञ्जालमा आलोचना हुँदै आए पनि त्यसमा कुनै सुधार देखिएको थिएन।

तर यस्तै मौनताको बीच, राष्ट्रप्रेमको सशक्त उदाहरण बनेका छन् सामाजिक अभियन्ता तथा विद्यार्थी नेता सुशिल बस्याल ‘राष्ट्रप्रेमी’। उनले न कुनै अनुमति मागे, न औपचारिक कार्यक्रम गरे। चुपचाप झण्डा फेरे। च्यातिएको झण्डा हटाएर नयाँ झण्डा राखिदिए। राष्ट्रप्रेमका नाराहरू मुखमा नभए पनि, व्यवहारमा उनले प्रस्तुत गरिदिए। “झण्डा राष्ट्रको अस्मिता हो, त्यसको अपमान सहन सकिन,” उनले भनेका छन् संक्षिप्त, तर गहिरो सन्देश बोकेको प्रतिक्रिया।

उक्त कार्यपछि सामाजिक सञ्जालमा उनको प्रशंसा भइरहेकी छ। धेरैले लेखेका छन् ।”सरकारले बेवास्ता गरे पनि एक सचेत नागरिकले राष्ट्रप्रेम देखाउन सक्छ।” कतिपयले जनप्रतिनिधिको भूमिकामाथि नै प्रश्न उठाएका छन्। यो कुनै मञ्चीय र्याली वा प्रचारमुखी कार्यक्रम होइन, साँचो नागरिक चेतनाको परिचय थियो।

यो बस्यालको पहिलो पटकको काम होइन। उनी अहिले विभिन्न ठाउँमा जहाँ च्यातिएको झण्डा देख्छन्, आफ्नै खर्चमा नयाँ झण्डा बोकेर पुग्छन्। कहिले क्याम्पसमा, कहिले विद्यालयमा, कहिले सार्वजनिक भवनहरूमा न कार्यक्रम, न प्रचार, न त क्यामेरा। उनी भन्छन्, “देशलाई माया गर्नु छ भने साना कुराबाट सुरु गरौँ। झण्डा फेरेर मात्रै होइन, चेतना फेर्न सकियो भने मात्र साँचो परिवर्तन सम्भव छ।”

उनको यो कार्यले राष्ट्रप्रेमका परिभाषाहरूलाई फरक कोणबाट व्याख्या गरिदिएको छ। झण्डा बोकेर हिँड्नु मात्रै राष्ट्रप्रेम होइन, झण्डाको सम्मान गर्नु, उसको संरक्षण गर्नु राष्ट्रप्रेम हो भन्ने यथार्थ उनले प्रस्तुत गरेका छन्। मौनता भित्रको सन्देश बोल्दछ। उनी कुनै भाषण गर्दैनन्, तर कर्म गर्छन्। च्यातिएको झण्डा फेरेर हजारौँ मन छोएको त्यो क्षण, सायद आजका धेरै युवाहरूका लागि नयाँ चेतनाको ढोका हो।

झण्डा फेरिएको छ।तर त्यो झण्डासँगै फेरिएको छ चेतना, जिम्मेवारी र दृष्टिकोण। सुशिल बस्याल ‘राष्ट्रप्रेमी’ को यो कदम केवल झण्डा परिवर्तन होइन, नागरिक चरित्रको पुनर्संस्कार हो।
आजको नेपालमा ठूला भाषण र नाराभन्दा यस्तो मौन तर सार्थक कर्म गर्ने राष्ट्रप्रेमीहरू चाहिन्छन।


सम्बन्धित शीर्षकहरु

सिरियाका राष्ट्रपति Ahmed al-Sharaa ले लेबनानी सशस्त्र समूह Hezbollah को गतिविधिले सिरियामा "गहिरो घाउ" छोडेको बताएका छन्। राष्ट्रपतिले दिएको अभिव्यक्तिमा…

दोहा, जुन २२ – कतारको प्रमुख प्राकृतिक ग्यास प्रशोधन तथा निर्यात केन्द्र Ras Laffan Industrial City मा आइतबार राति भएको…

कुवेत सिटी, जुन २२ – कुवेतको गृह मन्त्रालयले (Ministry of Interior (Kuwait)) आइतबारदेखि माछा मार्ने तथा मनोरञ्जनका लागि प्रयोग हुने…

प्रतिकृयाहरू
...