Wednesday 21st May 2025

मजदुरको पसिनामाथिको राजनीति


रोजिना ढुङाना, झापा (हाल: कुवेत) – मजदुरले पाउनु पर्ने हक, अधिकार र सम्मान आजसम्म कसैले पाएको छैन। अरूको कुरा नगरौं, हामी नेपालीले त न त नेपालमै पायाैं, न त विदेशमा। हाम्रो सरकारको फितलो कानुन र कमजोर व्यवस्थाले मजदुरलाई सधैं नै बेवास्ता गरिरहेको छ। सिंगो देश मजदुरबाट आएको कर र रेमिट्यान्समा चलेको छ तर मजदुरको सम्मान र उचित मूल्यांकन कहिले होला?

म आज एउटा कथा होइन, एउटा यथार्थ लेख्दै छु—हाम्रो देशका ती गरिब मजदुरहरूको, जसले बाध्यताले नेपाल छोडेर खाडी मुलुक जानु परेको छ।

मजदुर भन्नाले त्यो व्यक्तिलाई बुझिन्छ, जो आफ्नो श्रम बेचेर जीवन चलाउँछ। महिनाभरि पसिना बगाएर पाउने थोरै ज्याला नै उनको मजदुरी हो। नेपालमा मजदुरी प्रायः पुरुषहरूले गर्छन् तर आज महिला पनि पुरुष बराबर मेहनत गरिरहेका छन्, विशेषगरी विदेशमा।

नेपालमा सरकारी जागिर पाउनु सपनाजस्तै छ। निजी क्षेत्रमा त झन् कम तलब पाउँछन्—महिनाको पाँच–सात हजार मात्र। कतिपयले चार–पाँच वर्ष मेहनत गरेपछि पनि सात हजारभन्दा बढी पाउँदैनन्। मेनेजर पदमा मात्र तलब राम्रो हुन्छ। बारह–तेह्र घन्टा काम गर्नु पर्छ, जबकि अन्तर्राष्ट्रिय श्रम कानुनले आठ घन्टामात्रै काम गर्नुपर्ने भन्छ। तै पनि सम्मान कहिल्यै पाइँदैन। न त घर चलाउन पुग्ने तलब, न परिवारको समस्या समाधान गर्ने स्थिति।

त्यसैले बाध्य भएर धेरै मजदुरहरू खाडी मुलुक जान्छन्।

खाडीको गर्मी र लामो घाममा काम गर्नुपर्छ, १४–१५ घन्टा ड्युटी। खाना बेलामा पाइँदैन, सुत्ने ठाउँ पनि साँघुरो। एकै कोठामा खाटमा खाट जोडेर सुत्नुपर्छ, माथिल्लो खाट तेस्रो तहसम्म। रातभर उडुसले टोकेर निदाउन पाउँदैनन्। भोलिपल्ट फेरि सुक्खा रोटी खाएर काममा जानुपर्छ।

एस्तो पीडा भोग्दै पनि तलब ४० हजारभन्दा बढी हुँदैन। त्यो पनि थोरै पैसा लिएर नेपाल पठाउनुपर्छ। आफ्नो तलब महिनौँसम्म देख्न नपाउने विडम्बना। महिनामा एक दिन मात्रै छुट्टी पाउँछन्। त्यो दिन सफा लुगा फेरेर, खुट्टा दुखाएर बसबाट समुन्द्र किनारमा जान्छन्। त्यहाँ फोटो खिच्छन्, टिकटक बनाउँछन् तर बाहिर हेर्नेले भने “वाह, विदेशमा मज्जा छ!” भन्छन्। मजदुरहरूको पीडा कसले बुझ्ने?

सरकारले बुझ्नुपर्छ र आवश्यक कदम चाल्नुपर्छ। अब थाकेका मजदुरहरू विदेश जान चाहँदैनन्। उनीहरू नेपालमै परिवारसँग बसेर जीवन बिताउन चाहन्छन्। प्रत्येक वर्ष मे १ मा मजदुर दिवस मनाइन्छ। त्यो दिन सरकारले मजदुरको सम्मानमा नयाँ सुरुवात गर्नुपर्छ।

यदि सरकारले नगरे, मजदुरहरूले आफैं आवाज उठाउनु पर्ने बेला आएको छ।


सम्बन्धित शीर्षकहरु

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले गत हप्ता भनेका थिए कि पश्चिमी देशहरूले भारत र चीनलाई एकअर्काविरुद्ध खडा गरेर तनाव बढाउन खोजिरहेका…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार घोषणा गरे कि मस्को युक्रेनसँग सम्भावित शान्ति सम्झौताको बारेमा…

दोहामा भईरहेको बार्तामा कुरा नमिल्न लाग्दा ईजरायल ले हमास विरुद्ध विशाल कारबाही थालेको छ । यस क्रम मा हरेक आक्रमणमा…

प्रतिकृयाहरू
...