Monday 14th July 2025

साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले हावा खायो


तितोपाटी – माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

पहिलो हाफमा नै १-० ले पछि परे पनि नेपालले केही राम्रा अवसरहरु बनाएको थियो । बलमा राम्रो मुभ बनाए पनि नेपालले पोस्टको दिशामा राम्रो प्रहार भने गर्न सकेन ।

२८ औं मिनेटमा ठूलो वर्षासँगै बिजुली चम्किएर केहीबेर खेल रोकिएको थियो । खेल पुनः सुरु भएपछि पहिलो हाफको बाँकी समयमा पनि नेपालले राम्रा मुभहरु बनाएको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा भएको खेलको ६० औं मिनेटमा निराजन खड्काको स्थानमा नवयुग श्रेष्ठ र कप्तान भरत खवासको स्थानमा अञ्जन विष्ट मैदानमा छिरे ।

दुई जना खेलाडी परिर्वतन गरेपछि नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल गर्न भने एकपछि अर्को अवसर पाए पनि चुक्यो ।

खेलको ६६ औं सुनिल बलले डिबक्स बाहिरबाट प्रहार गरेको बल पोष्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७५ औं मिनेटमा सुमन अर्यालको स्थानमा विशाल राई मैदानमा प्रवेश गरे । सुमन अर्याललाई बाहिर ल्याउदै मिडफिल्डर विशाल राईलाई मैदानमा छिराउन साथ नेपालको डिफेन्स लाइन कमजोर देखियो ।

खेलमा नेपालले ६७ प्रतिशत समय बल नियन्त्रणमा राखेको थियो । पास एक्युरेसीमा पनि राम्रो देखिएको नेपाली टिमले पहिलो गोल फर्काउन नसक्दा नै अन्तिम समयतिर थप गोल खाएको होे ।

खेलभर नेपालले गरेको १६ प्रहारमा ४ प्रहार मात्रै पोस्टको दिशामा गएको थियो । माल्दिभ्सले १४ प्रहार गरेकोमा ७ प्रहार पोस्टको दिशामा थियो ।

खेलमा माल्दिभ्सले १६ फल गरेको थियो भने नेपालको ६ फल भएको थियो । सुरुवाती अग्रता लिएपछि रक्षात्मक बनेको माल्दिभ्सले त्यसैको फाइदा लिँदै २ गोल थप्यो ।

भाग्यमानी माल्दिभ्स

समूह चरणमा श्रीलंकासँग गोलरहित बराबरी खेलेका माल्दिभ्स भारतसँग २-० ले पराजित भएको थियो । श्रीलंका पनि भारतसँग २-० ले नै पराजित भएपछि सेमिफाइनलका लागि भएको टसमा माल्दिभ्सले बाजी मारेको थियो ।

समूह चरणमा एक गोल पनि नगरी सेमिफाइनल आएको माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३ गोल गरेको हो ।

नेपाल भने समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको नेपालले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २-० ले हराएर सेमिफाइनल पुगेको थियो ।


सम्बन्धित शीर्षकहरु

जुन १५ मा तेहरानमा भएको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा इजरायली हवाई आक्रमणमा इरानका राष्ट्रपति मसूद पेजेश्कियानलाई सामान्य चोट लागेको…

तितोपाटी-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि अहिले निक्कै चर्चामा रहेको छ  । कर्मचारीहरूको सरूवा तथा भूमिसुधार…

राष्ट्रिय  लोक सञ्चारकर्मी नेपालले ३ वटा गीतमा प्रतिवन्ध लगाउन माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएको छ । नेपालको…

प्रतिकृयाहरू
...