Friday 16th January 2026

अाज हरितालिका तीज, शिव-पार्वतीको उपासना तथा नाचगान गरेर मनाइदै


तितोपाटी – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको अाज बिहानैदेखि भीड लागेको छ।  यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले उनलाई हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् । ‘निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम छन्, सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम हुन्छ,’ उनले भने ।

‘सर्वतः आत्मानं गोपायेत्’ अर्थात् सबैतिरबाट आत्माको रक्षा गर अनि मात्र व्रत गर भन्ने धर्मशास्त्रीय वाक्यलाई पनि विचार गरेर व्रत गर्नु उत्तम हुने अध्यक्ष गौतमको भनाइ छ ।

श्रीमानको दीर्घायुको कामना भनेर गलत प्रचार

व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राहृमणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ । श्रीमानको दीर्घायुको कामनाका लागि मात्र तीजको व्रत बसिने भनेर गलत प्रचार भइरहेको पनि गौतमले बताए । ‘अटल सौभाग्यको कामना, सन्तान प्राप्ति, अविवाहित केटी एवं केटाहरुले असल वर र वधू प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान छ’, उनले भने ।

नारीले परिवारको अभिभावकका रुपमा प्रतिनिधित्व गरी व्रत बस्ने भएकाले नसकेका अवस्थामा अथवा रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बस्ने गरेका छन् । यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी व्रत परम्परा पनि तीज नभएको धर्मशास्त्रविदको भनाइ छ ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन् । समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सदगतिका लागि तीजको व्रतको महत्व छ ।

व्रत सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य गरी पाँच किसिमका छन् । तीजको व्रत नित्य र काम्य दुवै खालको भएको प्रा. डा. गौतमले बताए । तीजको व्रत हिन्दू मात्रका लागि नभई मानव मात्रका लागि भएको धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले जानकारी दिए ।

‘अकरणे प्रत्यवाय श्रवणात् करणे फल श्रवणाच्च हरितालिका व्रतं नित्यं काम्यं च भवति’ (यो व्रत नगर्दा दोष लाग्छ, गरेमा फल प्राप्त हुन्छ, यो व्रत नित्य र नैमित्तिक दुवै हो) भनी धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएकाले पनि यस व्रतलाई संकुचित अर्थमा लिन नहुने अध्यक्ष गौतमले बताए ।

यो व्रत सक्नेले निराहार बस्ने भएकाले मंगलबार व्रतालुले मीठा एवं आडिला-दरिला परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारीसमेत गर्छन् । विशेषगरी माइती तथा दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् । तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् ।

पछिल्लो समय तीजका नाममा उच्छृंखलता र तडकभडक आएको छ । एक महिनाअघि देखि दर खाने, गरगहना एवं फेशन प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको संस्कृतिविद एवं पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा. गोविन्द टण्डन बताउँछन् । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा संस्कृतिविद् एवं धर्मशास्त्रीले जोड दिएका छन् ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...