Sunday 19th May 2024

जाहेरी दिने व्यक्ति नै बयान दिन नअाएपछि गंगामायाको मुद्दा धरापमा, पक्राउ परेका अारोपी सबै रिहा


तितोपाटी – सरकारी साक्षी नै अदालतमा उपस्थित नभएपछि गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याकाण्डको न्याय निरुपण कमजोर बनेको छ । आमा गंगामायाको अनसन तोडाउने क्रममा सरकारले हत्या आरोपी छविलाल पौडेललाई पक्राउ गरी अदालतमा बुझाएको थियो । पौडेल सोमबार जेलमुक्त भएका छन् ।

कृष्णप्रसादको हत्या भएको भनी किटानी जाहेरी दिने उनका दाजु अर्थात गंगामायाका जेठा छोरा नुरप्रसाद अधिकारी चितवन अदालतमा वयान दिन नगएपछि आइतवार चितवन जिल्ला अदालतले पौडेलसहित १२ अभियुक्तलाई सफाइ दियो । सफाइ पाएको भोलिपल्ट पौडेल डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

सरकारी साक्षीका रुपमा नुरप्रसादलाई आमा गंगामायासहित अधिकारकर्मीहरु सुबोध प्याकुरेल, कनकमणि दीक्षित लगायतले साक्षी बकपत्रका लागि अदालत गइदिन पटक-पटक आग्रह गर्दा पनि उनले अश्वीकार गरेका थिए ।

जसले जाहेरी दियो र जो सरकारी साक्षी हो, उही अदालतमा उपस्थित नभएपछि मुद्दा कमजोर भएको महान्यायाधिवक्ता अग्नि खरेलले  बताए ।

‘जसको जाहेरीको भरमा म्याद तामेल भएको छ, जो हाम्रो सरकारी साक्षी हो, उही नगइदिएपछि मुद्दा कमजोर भयो’ खरेलले भने, ‘महान्यायाधिवक्ताको हिसाबले म उनको वकिल हो, तर उनले हामीलाई साथ दिएनन् ।

महान्यायाधिवक्ता खरेलले दीक्षित, प्याकुरेल लगायतसँग पहल गरेर प्रहरीमार्फत नुरप्रसादलाई आमासँग भेटाएका थिए । नुरप्रसाद बाबु नन्दप्रसादको अनसनकै बेलादेखि फरार भएका थिए । उनलेत्यो बेला सरकारसँग सम्झौता गर्न नमानेकै कारण नन्दप्रसादको अनसनमै ज्यान गएको एक अधिकारकर्मीले बताए ।

नुरप्रसादले प्रचण्ड र बाबुराम भट्टराईलाई जेल नहालेसम्म अरु मुद्दाको प्रक्रिया नाटकमात्र हो भन्दै सरकारलाई असहयोग गरेको मानवअधिकारकर्मीहरुको गुनासो छ । अदालतमा दाजुका हत्यारा विरुद्ध साक्षी बकपत्र दिन नगएका नुरप्रसादले फेसबुकबाट चितवन जिल्ला अदालतको फैसलासँगै अब प्रचण्ड र बाबुरामविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जाने बाटो खुलेको टिप्पणी गरेका छन् ।

नुरप्रसादले २ वर्षअघि बाबु र आमालाई अनसन राखेर सरकारसँग ५ करोड रुपैयाँ बार्गेनिङ गरेका थिए । क्रममा केपी ओली नेतृत्वको सरकार गठनपछि गंगामायाको अनसन तोडाउने क्रममा एक करोड रुपैयाँ उपलव्ध गराइसकेको छ । सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि नुुरप्रसाद नाटकीयरुपमा प्रहरीमार्फत आमासमक्ष प्रकट भएका थिए ।

यसपटक जिल्ला अदालतमा वयान दिनका लागि उनलाई आमाले धेरै आग्रह गर्दा पनि अश्वीकार गरेको स्रोतले जनाएको छ । ‘आमाले समेत यस्तो कुलंगार छोरो कसैको नहोस् भनेर हामीसँग दिक्दारी पोखिन्’ एक अधिकारकर्मीले भने ‘महान्यायाधिवक्ताले हामी आफैं प्रमाण होइनौं, सरकारको साक्षीका रुपमा तिमीले बयान देऊ भन्दा पनि नुरप्रसादले मानेनन्’ ।

आमा र उनलाई साथ दिइरहेका अधिकारकर्मीले भनेको समेत नुरप्रसादले नमानेपछि उनको नियत राम्रो नदेखिएको सरकारी वकिलको ठम्याइ छ । जसलाई साक्षी राख्यो, जसले जाहेरी दियो, उसैले वयान नदिएपछि मुद्दा कमजोर भएको उनीहरुको भनाइ छ ।

आमाबाबुलाई अनसन राखेर दाजुको मुद्दा देखाउँदै पैसा कमाउने नियत नुरप्रसादमा शुरुमै प्रकट भएकाले आफूहरु पन्छिएका अर्का मानवअधिकारवादीले बताए । आमालाई अनसन राखेर मुद्दा आफ्नो पक्षमा फैसला हुँदैन भन्ने बुझेका नुरप्रसादको नियत दाजुको हत्यारालाई कारवाही गराउने भन्दा पनि पैसा कमाउन केन्दि्रत देखिएको उनले बताए ।

अब पुनरावेदन हुन्छ ?

चितवन जिल्ला अदालतबाट कृष्णप्रसाद हत्यामा आरोपितमध्ये फरार रहेका रुद्र आचार्य बाहेक छबिलालसहित अन्य १२ जनाले सफाइ पाएका छन् । अब यो फैसलाविरुद्ध सरकारी वकिल पुनरावेदनका लागि उच्च अदालतमा जाने बाटो पनि अझै पनि छ । तर, सरकारी साक्षी नुरप्रसादले नै धोका दिएपछि पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा टुंगो छैन ।

महान्यायाधिवक्ता अग्नि खरेलले जिल्ला अदालतको फैसलाको पूर्णपाठ प्राप्त भएपछिमात्र पुनरावेदन जाने विषय टुंगो लाग्ने बताए । जाहेरवालासमेत रहेका साक्षी अदालतमा उपस्थित नभइदिँदा पुनरावेदनमा जाने कन्टेन्ट कमजोर भएको उनले बताए ।

महान्ययाधिवक्ता खरेलले भने- सरकारी साक्षी नुरप्रसाद अधिकारी अदालत गएर सम्पुष्टि गरिदिएको भए हामीलाई पुनरावेदनमा जान सजिलो हुने थियो । अब फैसलाको पूर्णपाठ हेर्छौं, अदालत कसरी यो निश्कर्षमा पुगेको हो भन्ने कुरा हेरेपछिमात्रै थप भन्न सकिन्छ ।’


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...