Friday 20th February 2026

साफ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमै पाकिस्तानसँग पराजित भयो


तितोपाटी – बंगलादेशमा मंगलबारदेखि सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ गोलले पराजित भयो । च्याम्पियनसिप फुटबलको उपाधि जित्ने लक्ष्य राखेको नेपाललाई पहिलो खेलमै पाकिस्तानको झट्का लागेको छ ।  समूहमा कमजोर ठानेको पाकिस्तानसँग नेपालले अतिरिक्त समयको अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा हार खेपेको थियो ।

बंगबन्धु स्टेडियममा खेलिएको खेलमा नेपालले पहिलो हाफमा दबाब खेपेको थियो । ३६औं मिनेटमा पाकिस्तानले पेनाल्टीमार्फत सुरुआती गोल गरेको थियो । पाकिस्तानका लागि हसन नवेद बसिरले पेनाल्टीको सदुपयोग गरेका थिए । डिबक्सभित्र नेपालका कप्तान विराज महर्जनले पाकिस्तानका मोहमद रियाजलाई अनावश्यक फल खेलेपछि पाकिस्तानले पेनाल्टीको मौका पाएको थियो ।

पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेको थियो । दोस्रो हाफमा बल नियन्त्रण र आपसी तालमेल मिलाएको नेपालले ८२औं मिनेटमा बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्तीमगरले गोल गरे । विमलले डिबक्स नजिक नीराजन खड्काले दिएको पासमा ‘वानटच’ जाली चुमाएका थिए । विमलको गोलपछि थप आक्रामक देखिएको नेपालले ८९औं मिनेटमा अर्को सुनौलो गोलको अवसर गुमाएको थियो । कर्नरबाट प्राप्त बलमा नेपालका सुमन अर्यालको उत्कृष्ट हेड प्रहारलाई पाकिस्तानका गोलरक्षक युसुफ इजाज बटले विफल पारेका थिए ।

त्यसपछि थपिएको पाँच मिनेटमा पनि नेपालले औसत खेल खेल्यो । तर, अतिरिक्त समयको अन्तिम मिनेटमा पाकिस्तानले काउन्टर प्रहारका निर्णायक गोल गरेको थियो । नेपालका रक्षकको तालमेल नमिलेको फाइदा उठाउँदै पाकिस्तानका मोहम्मद अलीले खेल सकिन ३० सेकेन्ड बाँकी छँदा गोल गरेका थिए ।

खेलपछि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले राम्रो खेले पनि अन्तिममा सम्हालिन नसक्दा हार खेपेको बताए । ‘अन्तिम रक्षकबाट केही गल्ती भयो । खेलमा गल्ती हुन्छ । आगामी खेलमा सुधार गर्दै जानेछौं । दुई खेलमा जित निकाल्दै दोस्रो चरणमा पुग्न सकिन्छ । पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो थियो । दोस्रो हाफको खेललाई निरन्तरता दिन सके बाँकी खेल जित्न सक्छौं’, महर्जनले भने । उनले डेब्यु खेलमा सुमन अर्यालले उत्कृष्ट प्रदर्शन गरेको पनि बताए ।

यसैगरी पाकिस्तानका प्रशिक्षक जोस नोगुइराले नेपालले राम्रो खेलेको बताए । ‘खेल नेपालको राम्रो थियो । गोलमा हामी माथि भयौं । आगामी खेलमा थप सुधार गर्दै अगाडि बढ्न चाहन्छौं । पाकिस्तानको खेल पछिल्लो समय राम्रो हुँदै गएको छ’, जोसेले भने ।

च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा छ । नेपालको समूहमा आयोजक बंगलादेश, पाकिस्तान र भुटान छन् । बंगलादेशबाहेक तीनवटै टोलीले अहिलेसम्म च्याम्पियनसिप जित्न सकेका छैनन् । नेपालले समूह चरणको दोस्रो खेल भदौ २१ गते भुटान र अन्तिम खेल २३ गते बंगलादेशसँग खेल्नेछ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘बी’मा साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका छन् । भारत च्याम्पियनसिपको सर्वाधिक सफल टोली हो । उसले सातपटक उपाधि उचालेको छ ।

सुमनको डेब्यु

नेपालका रक्षक सुमन अर्यालले साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सुमनले त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्दै आएका छन् । टोलीका नियमित रक्षक रविन श्रेष्ठ चोटका कारण बाहिरिएपछि सुमनले स्थान पाएका हुन् । सुमनले नेपालको उमेर समूहमा यू-१४, यू-१६, यू-१९ र यू-२३ टोलीबाट पनि खेलिसकेका छन् । नेपालले २०७४ सालमा भएको साफ यू-१९ च्याम्पियनसिपको उपाधि जित्दा टोलीमा सुमनको योगदान महत्वपूर्ण थियो ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...