Saturday 21st September 2024

निर्मला बलात्कार-हत्या प्रकरणमा अनुसन्धानको लागि उच्चस्तरीय नयाँ टोली


तितोपाटी – बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नयाँ टोली आइतबार महेन्द्रनगर पुगेको छ। प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ।

शनिबार बालिका निर्मला पन्तका सहपाठीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्र विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले प्रष्ट पारेका छैनन्। प्रधानमन्त्री स्रोतले पनि टोली महेन्द्रनगर पुगेको पुष्टि गर्‍यो।

जिल्ला प्रहरी कार्यालयका एसपी कुबेर कडायतले अनुसन्धानमा केन्द्र र अन्य क्षेत्रबाट विज्ञको सहयोग लिइरहेको बताए। ‘हामीले घटनालाई निकै गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छौं’ कडायतले भने, ‘प्राविधिक सहयोगका लागि केन्द्र र संघीय प्रहरी कार्यालयसँग समेत सहयोग लिइरहेका छौं।’ अनुसन्धानका क्रममा सीआईबीलगायत विज्ञको सहयोग लिने काम भइरहेको उनले स्वीकारे।

प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई थुनामा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ। भदौ ८ गते पक्राउ गरेर सुरुवातमा ७ दिन म्याद थपेर अनुसन्धान अघि बढाइएको थियो। भदौ १४ गते प्रहरीले थुनामा राखेरै अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ।

दुवै दिदीबहिनीको बयान सकिएको छ। रोशनीको भदौ बिहीबार र अनिताको आईतबार जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिइएको हो।

अनुसन्धान अधिकृत एवं प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले भने, ‘बयान लिने क्रम सकिएको छ’, ओझाले भने, ‘अनिताको पोलिग्राफ चेकजाँच गर्ने तयारीमा छौं।’ अनुसन्धानका क्रममा थुनामा रहेका आरोपीले साँचो बोले÷नबोलेको विषयमा चेकजाँच गर्न प्रहरीले उनीहरूको पोलिग्राफ चेकजाँच गर्ने गरेको छ।

अनुसन्धानकै लागि प्रहरी थुनामा रहेका दिलीपसिंह विष्टको काठमाडौंमा स्वास्थ्य जाँच भइरहेको छ। प्रहरीले उनको डीएनए परीक्षण, मानसिक स्वास्थ्यलगायत परीक्षण गर्न काठमाडौ लगेको हो। ती सबैको रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर आएको थिए। टोलीले घटनाको २६ औं दिन भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थियो।

सीआईबीले निकालेको निष्कर्षमा पीडित परिवार र स्थानीय विश्वस्त हुन नसकेपछि सीआईबीको अनुसन्धान नै शंकाको घेरामा परेको थियो। स्थानीयले सीआईबीको अनुसन्धान समेत विश्वसनीय नभएको भन्दै उनीहरूलाई समेत छानबिनको दायरामा ल्याउनुपर्ने माग राख्दै आएका छन्।

भदौ ४ गते प्रहरीले दिलिप सिंह विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रगरमा आन्दोलन उठेको थियो। मानसिक अवस्था ठीक नभएका विष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको स्थानीयको आरोप छ।

आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो। घटनापछि गृहमन्त्रालयले छानबिन गर्न मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको ५ सदस्यीय छानबिन समिति महेन्द्रनगर पठाएको छ। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई गृहमन्त्रालयमा तानेर नयाँ सुरक्षा नेतृत्व जिल्लामा पठाएको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसकेको छ। गत साउन १० गते साथी रोशनी बमको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त–१८ निम्बुखेडा खोलास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।

बालिका निर्मलाका सहपाठीले शुक्रबार ‘हाम्री साथी निर्मलाका हत्यारालाई कहिले कारबाही हुन्छ ? ’ भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका थिए।


सम्बन्धित शीर्षकहरु

हन्ट्सभिलको अलाबामा विश्वविद्यालय र न्यूयोर्कको एप्लाइड फिजिक्सको उन्नत प्रोपल्सन प्रयोगशालाका भौतिकशास्त्रीहरूको टोलीले एउटा मोडेलको विकास गरेको छ जसले देखाउँछ कि…

म्यानमारमा आएको भीषण बाढीका कारण कम्तीमा ७४ जनाको मृत्यु भएको छ । अन्य ८९ जना बेपत्ता भएका छन् । टाइफुन…

भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार…

प्रतिकृयाहरू
...