Thursday 18th June 2026

एसिया कप छनाैट चरणको खेलमा नेपालले सिंगापुरलार्इ ४ विकेटले हरायो


तितोपाटी – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान अनिलकुमार शाहले सर्वाधिक ४३ रन बनाए। अनिलले ३२ बलमा ५ चौंका र २ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। उनले ४३ बलमा ३ चौंका र १ छक्का हिर्काए। त्यस्तै ज्ञानेन्द्र मल्ले ३५ बलमा १ छक्का र २ चौंकाको सहायतामा २९, सागर पुन र सुवास खकुरेलले १४–१४ तथा कप्तान पारस खड्काले ११ रनको योगदान दिँदा आरिफ शेख ४ रनमा नटआउट रहे। नेपालले २७.३ र २७.४ मा लगातार विकेट गुमाएको थियो।

सिंगापुरका लागि सेल्लादोरे भिजयकुमार र अनन्त कृष्णले २–२ तथा कार्तिकेयान सुब्रमनियन र शरन स्वमिनाथनले एक–एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १ सय ५१ रन बनाएको हो। नेपाली बलरसामु कमजोर देखिएको सिंगापुरका लागि कप्तान चेतन सुर्यवन्सीले सर्वाधिक ६० रन बनाए। उनले ८८ बलमा ८ चौंका र १ छक्का प्रहार गरे। त्यस्तै अनिश परामले ३१ र कार्तिकेयान सुब्रमनियनले २० रन बनाउनु बाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन्। सिंगापुरलाई सस्तैमा समेटन नेपालका सन्दीप लामिछाने र ललित राजवंशीले ३–३, सोमपाल कामीले २ तथा बसन्त रेग्मीले १ विकेट लिए।

यसअघि खेलेका तीनमध्ये २ खेलमा हार र १ खेलमा जित निकालेको नेपाल अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो भने हिजो भएको तेस्रो खेलमा भने आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो। पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्।

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...