Monday 8th September 2025

उपनिर्वाचनका उम्मेदवार बिरूद्ध आज उजुरी लिइने, सत्ता गठबन्धन दल आपसमा भिड्दै


उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवार बिरूद्ध आज उजुरी लिइने भएको छ।

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ।

आयोगले सार्बजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ। चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ र बझाङ प्रदेश-१ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हाे।

आगामी वैशाख १५ गते इलाम-२ र बझाङ प्रदेशसभा-१ मा हुने उपनिर्वाचनको लागि शनिबार मनोनयन दर्ता भएको छ। विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ। शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राजनीतिक दलबाट १२ जना र आठजना स्वतन्त्र व्यक्तिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्ताका लागि साँझ ५ बजेभित्र पुगेका उम्मेदवारहरूको ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो। इलाम २ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङ, नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एकीकृत समाजवादी (नेकपा एस)बाट जितबहादुर राई, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीबाट श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बूले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले उम्मेदवारी दर्ता गराएका छन्। यता, माओवादी केन्द्रले भने नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गरेको छैन।

राप्रपाबाट लक्ष्मी गुरुङ, राप्रपा नेपालबाट गणेश बहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन दलबाट जयवन्त विक्रम शाह, नेपाली जनता दलबाट रेशमबहादुर सुनार, नेसनल रिपब्लिकन पार्टीबाट धनराज रानामगरको उम्मेदवारी दर्ता भएको छ।

जनमत पार्टी र नेमकिपाले इलाम-२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्। यस्तै, डाकप्रसाद गौतमले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्। गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन्।

अघिल्लो निर्वाचनमा गौतम नेपाली कांग्रेस (बिपी)बाट इलाम-२ मै उम्मेदवारी दिएका थिए। उनले ५४ मत प्राप्त गरेका थिए। पहिचानवादीका तर्फबाट डाकेन्द्रसिंह थेगिमले मनोनयन दर्ता गराएका छन्। उनलाई जनता समाजवादी र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन्।

थेगिमलाई प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले पहिचान पक्षधरको साझा उम्मेदवार बनाएको हो। त्यस्तै, एकीकृत समाजवादीका जीतबहादुर राईले पनि मनोनयन दर्ता गराएका छन्।


सम्बन्धित शीर्षकहरु

उत्तरी भारतमा बाँदरहरूले लगेको र पछि पानीको ड्रममा डुबेको अवस्थामा फेला परेपछि दुई महिनाको शिशुको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले आइतबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ एयर फोर्स वनमा चढ्ने तयारी गर्दै प्रेसलाई दिएको टिप्पणीमा गाजा युद्धविराम र बन्धक आदानप्रदान…

परराष्ट्र मन्त्रालयबाट सरुवा भई शिव बानियाले कुवेतस्थित नेपाली दूतावासमा द्वितीय सचिवका रूपमा कार्यभार ग्रहण गरेका छन्। केही समयदेखि रिक्त रहेको…

प्रतिकृयाहरू
...