Thursday 18th June 2026

एसिया कप छनाैट खेलमा नेपालार्इ पहिलो जीत


तितोपाटी – मलेसियामा जारी एसिया कप क्रिकेट छनाैटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो।

मलेसियाका लागि अनवर अरुदिन र साहेद अजिजले समान ३४–३४ रनको योगदान दिए। त्यस्तै अहमेद फैजले २२, भिरन्दीप सिंहले २१, मुहमेद स्याहदतले १६ र सर्भिन मुनियान्डीले १० रनको योगदान दिँदा अन्य खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। नेपालका लागि बसन्त रेग्मीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २–२ तथा सागर पुन र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट दिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ३० ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो। नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले अर्धशतक बनाएका छन्। आरिफले नटआउट ६४ र दिपेन्द्रले ५४ रन बनाए। ४८ बल खेलेका आरिफले ५ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै दिपेन्द्रले ५१ बलमा ६ चौंका र १ छक्का प्रहार गरे। कमजोर शुरुवात गरेको नेपालका लागि दिपेन्द्र र आरिफले छैटौं विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए।

त्यस्तै नेपालका लागि अनिलकुमार शाहले १६, पारस खड्काले १३ र ज्ञानेन्द्र मल्ले ११ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन। मलेसियाका लागि सर्भिन मुनियान्डी र सैजरुल इदरुसले समान ३ तथा मोहम्मद अनवर रहमनले १ विकेट लिए। जितसँगै नेपालले महत्वपूर्ण २ अंक हासिल गरेको छ। नेपाल पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले हारेको थियो।

पाँच महिनाअघि जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएको नेपाल श्रीलंकामा तीन अभ्यास खेल खेलेर सोमबार मलेसिया पुगेको थियो। श्रीलंकामा नेपालले तीनै अभ्यास खेलमा विजयी नतिजा निकालेको थियो। प्रतियोगितामा नेपालबाहेक हङकङ, आयोजक मलेसिया, ओमान, सिंगापुर र युनाइटेड अरब इमिरेट्स छन्।

प्रतियोगितामा लिगको शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन्। विजेता टोलीले सेप्टेम्बर १५ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा स्थान बनाउनेछ। छनोट हुने टोलीले एसिया कपको समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।


सम्बन्धित शीर्षकहरु

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

भारतीय टेलिभिजन श्रृंखला Kumkum Bhagya की अभिनेत्री Sanchita Ugale को २२ वर्षको उमेरमा मुम्बई नजिकैको नालासोपारास्थित निवासमा निधन भएको छ।…

प्रतिकृयाहरू
...