Wednesday 22nd July 2026

चन्द्रयान-२ मा असफल भएको भारतले आज चन्द्रयान-३ चन्द्रमाको सतहमा पठाउँदै


सन २०१९ को सेप्टेम्बरमा चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको सतहमा अवतरण गर्ने समयमा सम्पर्क विच्छेद भएपछि चन्द्रमामा पुग्ने योजनामा असफल भएको भारतले पुनः चन्द्रयान-३ मार्फत चार वर्षपछि आज शुक्रबार भारतीय समयअनुसार दिउँसो २ बजेर ३५ मिनेटमा भारतले चन्द्रयान–३ चन्द्रमातर्फ पठाउँदै छ ।

कुनै मौसमी वा अन्य बाह्य वातावरणीय घटना नभए निर्धारित समयमा ‘फ्याट ब्वाई’ चन्द्रयान–३ लिएर सतिस धावन अन्तरिक्ष केन्द्रबाट उड्नेछ । यो अन्तरिक्ष यानले ३ लाख ८४ हजार किलोमिटरको यात्रा गर्दै अगस्ट २३/२४ वा सेप्टेम्बरको पहिलो सातासम्म चन्द्रमाको दक्षिणी ध्रुवमा ‘सफ्ट ल्यान्ड’ गर्नेछ । उत्तरी ध्रुवभन्दा धेरै फराकिलो क्षेत्र भएकाले दक्षिणी ध्रुव रोजिएको इसरोले जनाएको छ । धेरै छाया रहेको उक्त क्षेत्रमा पानीका कणहरू रहेको अनुमान छ ।

२००८ मा चन्द्रयानको पहिलो मिसन अन्तर्गत चन्द्रमाको कक्ष (अर्बिट) मा लुनार अर्बाइटर पठाइसकेको भारतले यस पटक भने इसरोले दुर्घटना हुन सक्ने सबै किसिमको अवस्था परीक्षण गरेर चन्द्रयान–३ प्रक्षेपण गर्न लागेको हो । यस मिसनका लागि सेन्सर, एलगोरिदिम, इन्जिन, क्यालकुलेसनलगायत सबै किसिमका कमजोरी अध्ययन गरिएको छ । यस पटक विक्रम ल्यान्डरले चन्द्रमाको सतह छुनेमा इसरोका वैज्ञानिकहरू ढुक्क देखिन्छन् । यो मिसन सफल भए भारत अन्तरिक्ष अन्वेषणको क्षेत्रमा अर्को शक्ति राष्ट्र बन्नेछ । अर्थात् चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बन्नेछ । चन्द्रमाको सतहमा अहिलेसम्म अमेरिका, रुस र चीन मात्रै पुगेका छन् । भारत मंगल ग्रहको कक्षमा पुग्ने पनि चौथो मुलुक हो । उसले सन् २०१४ मा आफ्नो मंगलयान मंगल ग्रहमा पुर्‍याएको थियो ।

इसरोले प्रक्षेपणको सम्पूर्ण तयारी भएको जनाएको छ । इसरोले चन्द्रयान प्रक्षेपणको लाइभ प्रसारण गर्दै छ । इसरोको एलभीएम ३ रकेट लन्चरबाट चन्द्रयान–३ लाई चन्दमामा पठाइँदै छ । ४३.५ मिटर अग्लो यो रकेटलाई ‘फ्याट ब्वाई’ नामले समेत चिनिन्छ । यो भारतको सबैभन्दा ठूलो र धेरै भार बोक्न सक्ने रकेट हो । यसले यसअघि ६ वटा मिसन सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १२ वर्षभन्दा बढी समयदेखि सत्तामा छन्। यस अवधिमा विपक्षी दलहरूले पटक–पटक विभिन्न मुद्दामा सरकारसँग छलफल र…

भारतीय राजनीतिज्ञ, लेखक तथा कूटनीतिज्ञ शशि थरूरद्वारा लिखित Why I Am a Hindu समकालीन भारतमा हिन्दू धर्म, हिन्दुत्व र धर्मनिरपेक्षताको…

इरान–अमेरिका वार्तामा मध्यस्थको भूमिका निर्वाह गरेपछि पाकिस्तानले अमेरिकासँग १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता सुविधा (Exchange Stabilisation Support Facility)…

प्रतिकृयाहरू
...