Sunday 5th May 2024

हर्क साम्पांग होसियार !!??


By- Toyanath upekshit/KWT यो ज्याद्रो केटो कसरी धरानको मेयर भयो होला भनेर अब नेपालभरीका मानिसलाई कसैले बताईरहन पर्दैन । जसले उनलाई हिजोका दिनमा जान्दैनथे आजको दिनमा जान्दछन । को हो हर्क ? यहि चासो लिएर खोज्नेहरुले हर्कको पहिचान गर्न भ्याईसके ।

हर्कको विजयसँगै कसैले उपहास गरे त कसैले उनलाई आफूसँग मिसाउन प्रयास गरे । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन उनलाई बधाई दिन पुगे भने रबी लामीछाने ले उनलाई भेटेर फकाउने प्रयास पनि गरे । तर अरु राजनैतिक दलहरु हर्कलाई स्वीकार गर्न अझै सकिरहेका छैनन । हर्कलाई को आयो र को गयो त्यससँग कुनै मतलब नभएको जस्तो देखिन्छ । यो पहिचान हर्क ले गुमाउन हुदैन । यो उनको सिद्धान्त बनोस ।

देशका कतिपय नगर, उपमहानगर र महानगरपालिकाका विजेताहरुको हनिमुन अझै सिद्धिएको छैन तर हर्कले कतिपय प्रोजेक्टलाई सम्पन्नको चरणमा पुरयाए । बातावरण, पर्याबरण, र एनिमल प्रतिको करुणा र तिनको सुरक्षा समेत उनको योजनामा गासिएर अघि बढेको देश विदेशले देखिरहेको छ ।

चुनाव नजित्दै उनले एक्लै चोक चोकमा चिच्याउदै धराने जनतालाई सोध्ने गर्थे कस्ले बनाउने हो धरानलाई ? विदेशीले आएर बनाई दिन्छ ? नेताले आएर बनाउछ ? सरकारले बनाई दिन्छ ? होईन । धराने जनताले नै धरान बनाउने हो ? आफ्नो ठाउँको विकाश हामी आफैले गर्ने हो । बास्तबमा उनले जे बोल्ने गर्दथे त्यही अहिले गर्दैछन ।
हर्कले जनतालाई विकाशसँग जोडेका छन । यो देशमा कसैले कहिल्यै नगरेको काम उनले गदैछन ।

हिजो उनलाई पत्याएर वा नपत्याएर लुकेर साथ दिएकाहरु अहिले खुलेर उनको अभियानमा जुट्न थालेका छन । उनको अभियानमा आज उनी जनतालाई उर्दी गरेर बसेका छैनन । योजना सुनाएर सुतेका छैनन । उनी जुरुक्क उठेका छन । खोला र खोल्सा नाग्दै बुरुक्क उफ्रदै हिडेका छन । बेत बसेका बुढाहरुले राजनिती गर्ने होईन भन्ने कुरा मा हर्क आफै एउटा सन्देश बनेका छन । गफ लाउने बौद्धिक युवाहरुले देश बनाउदैनन भन्ने पनि उनले सिकाएका छन । कसैको राजनैतिक पथ भन्दा कम छैन हर्क सांम्पांग पथ । देशलाई यस्तै हर्क साम्पांग पथ को खाचो छ ।

महान विद्धान देशलाई चाहिएको छैन । समझदार मुर्खबाट मुलुक बन्ने हो । चतुर चाणक्य र धुर्त दुसाशन हरुको पार्टी चाहिएको होईन । विकाशे साथी जनताले खोजेको हो । जो हर्क मा देखियो । हर्क ले खर्क र खोला लाई हराबरा बनाउन लागेका छन । नदिजन्य सामाग्रिको उत्खननका नाममा भएका भुतस्करहरुले बनाएका खाडलहरु पुरेर सुकेका पानीका मुहानलाई व्युउताउन चाहेका छन । आज यस्तो जिउदो युवा धरानमा जम्मेको छ कृपया काम गर्न देउ ।

उनीसँग विपीको जस्तो सिद्धान्त छैन, माक्सको थ्येउरी बोकेको जमात छैन । बन्दुकले कोरेको प्रचण्डको पथ छैन, राजाको नाम र धर्मको घाउ उनको विचारमा भेटिन्दैन । उनमा जात विशेषको आग्रह छैन , उनमा क्षेत्रियताबादी सोच छैन, धार्मिक र सास्कृतिक मुद्धा छैनन । छ त केवल विकाश को हुटहुटी छ । सुन्दर र सफा अनि शान्त शहरको सपना उनका आँखामा छन । विकाशका लागि बाद होईन, विवाद होईन, नौटंकी तर्क र बेमौसमका कुरा होईन नेतृत्व मा ईमान्दारिता चाहिन्छ भन्ने संकल्प उनमा देखिन्छ ।

उनलाई खादा र माला चाहिएन, मान र सम्मान ग्रहण गर्ने रुची देखिएन । निम्ता र भोजहरु उनको बहिस्करणमा पर्दछन । उदघाटन, आतिथ्यता, मञ्चको आसन र मायकमा भाषण गर्न उनले आफूलाई नबोलाउन भनिदिए । सडकमा जनतालाई लामबद्ध गराएर दुव्र्यसनीहरुका विरुद्ध आवाज उठाउन हर्कले भ्याएका छन । सडक सफा गर्न र झाडु लाउन उनले जानेका छन । यहि रप्तारमा उनले ४ बर्ष विताए भने धरान त सुन्दर बन्छ नै समग्र देशका लागि उनी सवैका प्रिय मेयर बन्नेछन र नयाँ पथ को जन्म हुनेछ ।

हर्क अब एउटा व्याक्ति मात्र हुदै छैनन । यो एउटा ब्राण्ड पनि बन्दैछ । विकाश को ब्राण्ड, लगनशिलताको ब्राण्ड, जोश र जागर को ब्राण्ड । देशको मायामा उदाएको ब्राण्ड । धरानलाई उनले पानी त जसरी पनि खुवाउने नै भए । हर्दि को फ्याक्ट्री खोलेर धराने किसान लाई सक्रिय बनाउने काम पनि अघि सारेका छन । साबन फ्याक्ट्रि खोलेर धरानलाई नुहाउछु भन्दैछन । बगर र खोलामा बोट विरुवा र जंगल उमारेर बादरहरुलाई गाउँमा आउने होईन उतै जंगलमा बस्ने व्यवस्था गर्दछु भन्दैछन । साना खोल्सा बाट थोरै लगानीमा हाईड्रो पावर स्थापना गरेर खोलै भरी विधुतिकरण गर्ने सपना सुनाउछन । कति पत्याउने कति नपत्याउने ? त्यो तपाईहरुको कुरा हो तर कुनै कुरा पनि असम्भव भने हुदैन । त्यहि असम्भावनालाई चिरेर उम्रेको पात्र हो हर्क । उ आफै धरानको मेयर बन्ने सम्भावनामा नपरेको मानिस हो भन्ने लाग्थ्यो होईन ? हो , जसरी सोचिन्छ त्यसरी नै लगाव र विश्वास नगुमाई काम गरे के पो असम्भव छर ? त्यहि प्रेरणाको श्रोत हो हर्क । यसर्थ हर्कले जे चाहयो त्यही गर्न सक्छ भनेर सिद्ध त्यही हर्कले मात्र सक्छन । यो कुरामा विश्वास नगरि सुखै छैन ।

तर ए हर्क, होसियार !!?? तिमीलाई जातियता मा जोडेर उचाल्ने काम शुरु भैसकेको छ । उत्तेजनामा ल्याएर विरोल्ने प्रयास जारी छ । हर्कले चेतना र विवेक गुमाएर बोलोस भन्नेहरुको कुनै कमि छैन । यसर्थ सामाजिक सञ्जाल मा र्हक ले धेरै पटक सोचेर बोल्न पर्दछ । हर्क ले रिसाएको कति पनि सुहाउदैन । किनकी उसलाई अविभावक को रुपमा समाजले ग्रहण गर्ने चरणमा छ । यसर्थ उ कोमल, कठोर, र जुझारु हुन जान्नु पर्दछ । हर्क अशिष्ट, क्रोधी बन्नु हुदैन । हर्कलाई जिस्काउने र सुरयाउनेहरुको कुनै कमी छैन । हर्कले सवै को नियतीलाई बुझ्न पर्दछ । हर्कले घनघोर विवादमा मुछिन हुदैन । त्यसभित्र खेल्नेहरु हर्कको नजिक भएको पनि उनले बुझ्न पर्दछ । सवै शत्रुले पर बसेर प्रहार गर्दैनन । कतिपय शत्रु ले काखमा राखेर गला अठयाउछन, हर्कले सबै बुझुन । हर्क ले सवै कुरा जानुनन । हर्क ब्रह्मज्ञानी त होईनन तर ध्यानी चाही बनुनन ।

हर्कलाई चलाउने राजनैतिक दलहरु आफै सिद्धिन्छन तर त्यसका लागि हर्क जिवित हुन जरुरी छ । हर्क जाग्रित बन्न जरुरी छ । हर्क जाई लाग्दैनन । उनीमाथि जाई लाग्ने लाई हर्कले जवाफ दिदैनन किनकी त्यो काम जनताको हो हर्कको होईन । हर्क काम गर्दछन उनलाई जनताले नै माया गर्दछन जनताले नै सुरक्षा दिन्छन । बुझनु भो हर्क जी ।


सम्बन्धित शीर्षकहरु

जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन्। उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा…

पुष्कर अथक रेग्मी - गण्डकी माहात्म्य अनुसार मुक्तिक्षेत्र, रूरूक्षेत्र, रामपुरक्षेत्र र देवघाट हरिहरक्षेत्र समेतको परिसरलाई गण्डकी क्षेत्र मानिएको छ ।…

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो युवाले यो देशको गरिमा र शान बढाउन पर्ने हो   नेपाल आमाको मुहारमा मुस्कान…

प्रतिकृयाहरू
...