Tuesday 10th March 2026

तालु अस्पतालमा छ, जोड्नलार्इ पैसा पुगेन


मलेसियामा सहयोगी हातको खोजीमा तुल्सीपुर दाङका डम्बर बस्नेत

तितोपाटी – विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ ।

यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली । डम्बरले चुच्चेटोपी लगाएका थिए भने ओलीको हातमा सानो कापी थियो । ओली अपरिचित नेपालीहरुसँग बस्नेतका विषयमा बेलिबिस्तार लगाउँदै सहयोगको याचना गर्थे । सहयोग गर्नेहरुको नाम कापीमा टिप्थे ।

उनीहरुले एक महिनामा करीव ७ हजार रिंगेट जति रकम जुटाएका छन् । थाहा पाउनेहरु सहयोग गर्न हिच्किचाउँदैनन् । तर, सहयोग संकलन गर्न विदाकै दिन कुर्नु पर्छ । सहयोग रकम जुटाउन नेपाली दूतावासले लेखिदिएको पत्रले ठूलो सहयोग गरिरहेको छ ।

को हुन् डम्बर बस्नेत ?

दाङ, तुल्सीपुर-१० घर भएका ३१ वर्षीय डम्बर मलेसियाको केलागवातु अम्पातमा विगत साढे तीन वर्षदेखि कार्यरत थिए ।

आमा-बुवा, दुई दिदी-बहिनी, श्रीमती र सानी छोरीलाई छोडेर कमाइका लागि उनी मलेसिया आए । राप्ती बबई बहुमुखी क्याम्पसमा बीएडसम्म पढेका बस्नेत नेपालमा हुँदा राजनीतिक गतिविधिमा संलग्न थिए ।

मलेसियामा रहेका साढुदाइले राम्रो कम्पनीमा काम गरिरहेको थाहा पाएपछि उनलाई पनि तुलबुल भयो । अन्ततः राष्ट्रिय वाणिज्य बैंकमा जग्गा धितो राखेर म्यानपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर उनी मलेसिया आए ।

यसरी भयो दुर्घटना

साढुदाइसँगै काम थालेका डम्बर जनवरी २९ तारिखमा अरु दिन झै साँझ सात बजेसम्म काममा थिए ।

कम्पनी नजिकै हाटबजार लाग्थ्यो । कोठामा दैनिक उपभोग्य सामान सकिएकाले एक हप्तालाई किन्नुपर्ने थियो । उनले साढुदाइलाई ‘दाइ तपाईं आउँदै गर्नुस्, म बजार लागें है’ भनेर निस्किए ।

बजार नपुग्दै बाटोमा उनलाई मोटरसाइकलले ठक्कर दियो । उनी बेहोस भएर सडकमा ढले । धन्न मोटरसाइकलवाला भागेन । उसले तत्काल एम्वुलेन्स बोलायो, साथीभाइ तथा कम्पनीमा पनि खबर गरिदियो । दुर्घटनास्थलमा एम्वुलेन्स आइपुग्यो । त्यतिबेलासम्म बस्नेतको होस थिएन । साढुदाइ ओली पनि अस्पताल पुगे । साढुदाइलाई देख्नासाथ उनको आँखाबाट आँसु बग्न थाल्यो । उनले बोलाउने प्रयास गरे तर, बस्नेत चलमलाएनन् ।

केलाग अस्पतालले सामान्य उपचार गरेपछि सुगाईवुलो रिफर गरिदियो । दुर्घटनामा परेका साढुभाइसँगै ओली पनि सुगाईवुलो अस्पतालमा पुगे । अस्पताल पुग्दा विहानको करिब चार बजेको थियो । बस्नेतको अपरेसन गर्नुपर्ने भयो । ओलीले अपरेसनका लागि सहमति दिए । विहान ७ वजे अपरेसन थियटरमा लगिएका बस्नेतलाई दिउँसो १ बजे मात्र बाहिर निकालियो ।

अपरेसनपछि के भयो ?

अपरेसन गर्नु अगाडि र पछाडि बस्नेतमा धेरै कुरा फरक देखियो । उनको टाउकोको अगाडिको भाग (तालु) नै थिएन ।

दुर्घटना हुँदा गिदीमा रगत जमेको र त्यसलाई हटाउन तालुको बाहिरी भाग निकाल्नुको विकल्प नभएको डाक्टरले बताए । अपरेसनपछि अस्पतालले पुनः पहिलाको केलाग अस्पतालमा पठाइदियो । आईसीयूमा चार दिन राखेपछि बस्नेतको होस खुल्यो । तर, उनले पछिल्लो साढे तीन वर्षका कुराहरु सबै बिर्सिए । पहिले दाङमा हुँदाका कुराहरु मात्र सम्झन थाले । वर्तमानभन्दा पनि विगतका कुराहरु मात्र उनको दिमागमा आइरहे ।

यद्यपि विस्तारै-विस्तारै मानिसहरु चिन्न थाले । दुर्घटनामा परेको २८ औं दिनमा अस्पतालबाट डिचार्ज भए ।

पहिलो उपचार खर्च इन्स्योरेन्सबाट

दुर्घटना भएको दिनदेखि बस्नेतको स्याहारसुसार ओलीले गरिरहेका छन् । अस्पतालमा लागेको सबै खर्च करिब २० हजार रिंगेट (करिब साढे ५ लाख रुपैयाँ) उनको इन्स्योरेन्सले कभर गरेको छ ।

यसअघि अस्पतालमा लागेको कुनै पनि खर्च तिर्नु परेको छैन । कम्पनीले अक्टोबरसम्म मेडिकल रेस्ट समेत दिएको छ । अहिले भने उनी थप उपचारको पखाईमा बसिरहेका छन् ।

अर्को अपरेसनको तयारी

बाहिर निकालेको (तालु) को हड्डी ६ महिनादेखि नौ महिनासम्म जोड्दा राम्रो हुने डाक्टरहरुले बताएका छन् ।

अहिले टाउकोको अगाडि भाग थिलथिलो छ । हल्का छुँदा पनि भित्र पुग्छ । त्यसैले बस्नेत हरदम चुच्चे टोपी लगाउने गर्छन् ।

ओलीका अनुसार बस्नेतको तालु (निधारको माथिल्लो भागको हड्डी) सुगाईवुलो अस्पतालमा विशेष किसिमले राखिएको छ । अस्पतालले हड्डी जोड्नका लागि जुलाई २३ तारिखमा मिति तोकिदिएको भए पनि आर्थिक अभावको कारण अपरेसन हुन सकेन । डाक्टरहरुले आउँदो सेप्टेम्बर १४ तारिखमा जसरी पनि अपरेसन गर्नुपर्छ भनेर मिति तय गरिदिएका छन् ।

‘नेपालमा लगेर अपरेसन गर्न पनि नमिल्ने रहेछ,’ ओलीले भने, ‘यहाँ अपरेसन गर्न २६ हजार रिंगेट (करिब सात लाख रुपैयाँ) जम्मा गर्नुपर्ने अस्पतालले बताएको छ ।’

अहिले दुवैजना सहयोगको खोजीमा हिँडिरहेका छन् । अहिलेसम्म उनीहरुले करीव दुई लाख रुपैयाँ जम्मा गरेका छन् । नेपालमा रहेका परिवारले पनि दुई लाख जति पठाइदिने कुरा भएको छ । बाँकी तीन लाख जुटाउन ओली र बस्नेत सडकमा भौंतारिइरहेका छन् । बस्नेतले  भने, ‘मनकारीहरु धेरै हुनुहुन्छ, कसो सहयोग नपाइएला र ?’

आफूलाई सहयोग गर्न टेलिफोन नम्बर ०१६२४९१७७३/०१६६०४५६८० मा सम्पर्क गर्न सकिने उनले बताए ।

-अनलाइनखबरबाट


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...