Saturday 11th January 2025

एनआरएनएका उजुरीकर्ताको बयान : सत्तामा बस्नेलाई नै प्रतिपक्ष जस्तो लाग्यो !


तीतोपाटी डटकम-गैरआवासीय नेपाली संघ (एनआरएनए) यतिबेला आन्तरिक विवादमा रुमल्लिरहेको छ । अक्टोबरमा हुने १० औं विश्व सम्मेलनका साथै निर्वाचनका लागि प्रतिनिधि चयनमा धाँधली भएको भन्दै संस्थापन इतर समूहले परराष्ट्र मन्त्रालयमा उजुरी दिएपछि एनआरएनएभित्रको विवाद थप उग्र बनेको हो ।

मुलतः बेलायत, अमेरिका र अस्ट्रेलियाको प्रतिनिधि चयनका विषयमा संस्थापन पक्ष अर्थात कुमार पन्त समूहले धाँधली गरेको इतर समूहको आरोप छ ।यही विवाद लिएर एनआरएनएको नयाँ नेतृत्वका दाबेदार कुल आचार्य निकटका तीनजनाले परराष्ट्रमा उजुरी दिएका हुन् । यही उजुरीका आधारमा परराष्ट्र मन्त्रालयले विवाद समाधान नहुँदासम्म निर्वाचन प्रक्रिया रोक्न पत्राचार गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयको पत्रपछि अब चुनाव के हुन्छ भन्ने प्रश्न पनि सहतमा आएको छ । आगामी कात्तिक ३ गते भर्चुअल माध्यमबाट चुनाव गर्ने र कात्तिक ६ देखि गते दशौं विश्व सम्मेलन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।विवाद समाधान नभएसम्म निर्वाचन रोक्न माग गर्र्दै उजुरी परराष्ट्र मन्त्रालयमा दिनेमा एनआरएनए आइसीसी पूर्वसचिव जानकी गुरुङ, कतारबाट मानार्थ सदस्य नवराज (शनिकुमार) ओली र अमेरिकाका सल्लाहकार बेदप्रसाद खरेल छन् ।

यद्यपि, एनआरएनएको निर्वाचन समितिले विवाद समाधान हुनासाथ १० औं महाधिवेशन अन्तर्गत हुने निवाचन कार्यतालिका सार्वजनिक हुने स्पष्ट पारेको छ ।विवाद टुंगिनासाथ एनआरएनएको निर्वाचन कार्यतालिका आउने, कात्तिक ३ गते नै चुनाव
उजुरीकर्तामध्येका एक ओली पनि आफूहरु चुनाव नै रोक्ने पक्षमा नरहेको बताउँछन् । उनले रातोपाटीसँग भने, ‘चुनाव रोकिने भन्ने प्रश्नै हुन्न । संस्थाका अध्यक्ष नेपाल आएपछि छलफल हुन्छ र संस्थालाई संस्थाकै रुपमा बुझ्नुपर्छ, त्यहीअनुसार काम कारबाही हुनुपर्छ भनेर हामीले भन्छौँ ।’

यद्यपि आफूहरुले अन्याय भयो भनेर परराष्ट्रमा उजुरी गर्दा संस्थापन समूहले राजनीतिकरण भयो भनेर गलत प्रचार गरेको उनको दावी छ । उनले सत्तामा बस्नेलाई प्रतिपक्ष जस्तो लाग्नु अनौठो भएको पनि सुनाए ।

‘परराष्ट्र मन्त्रालय हाम्रो संस्थागत माथिल्लो निकाय भएकाले हामी अन्त जान मिल्दैन । हामी परराष्ट्र जानेबित्तिकै विज्ञप्ति निकालिहाल्नुपर्ने, राजनीतिक हस्तक्षेप भन्ने हो भने एनआरएनएको प्रतिपक्षी हो त कुमार पन्त ?’, उनले भने, ‘कुमार पन्त, उपाध्यक्ष बद्री केसीजीहरुले के सोच्नुभयो भने उहाँहरुको मानसिकता हामी प्रतिपक्षी हौ कि भन्नेजस्तो पर्यो । अहिलेको अध्यक्ष त सत्तापक्ष हो नि । प्रतिपक्षीले प्रक्रिया संगत ढंगले उजुरी हालेको मात्रै हो ।’

एनआरएनएभित्र भावी अध्यक्षका लागि कुल आचार्य, बद्री केसी र रविना थापाबीच प्रतिस्पर्धा हुँदैछ । माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च मध्यपूर्वका संयोजकसमेत रहेका ओलीले देखिने गरी संस्थाभित्र राजनीति हुन नहुने बताए । तर, समान विचारधारा भएकाहरु एक ठाउँमा हुनुपर्ने उनले धारणा राखे ।नेपालमा सत्ता गठबन्धनमा आबद्ध दलमा आस्था राख्ने एनआरएनहरु एक ठाउँमा उभिने तयारी पनि भइरहेको ओली बताउँछन् । यही सन्दर्भमा एनआरएनएको विवाद, परराष्ट्रमा दिएको उजुरी, चुनावी समीकरणलगायतका विषयमा ओलीले रातोपाटीसँग यस्तो तर्क गरेका छन् :

तपाईँहरु एनआरएनएको आन्तरिक विवाद बोकेर परराष्ट्र मन्त्रालय धाउनुपर्ने बाध्यता किन आइलाग्यो ?

एनआरएनएमा हामीले पछिल्लो समय संशोधित विधान बनाएका छौं । त्यो विधानमा भएको मर्मले के भन्छ भने डेलिडेट्स अर्थात अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को महाधिवेशनमा भाग लिने प्रतिनिधि (डेलिगेट्स) छनोटको व्यवस्था छ । विधानमा ६५ प्रतिशत, २५ प्रतिशत र १० प्रतिशत डेलिगेट्स भनेर तीन वटा क्याटोगोरीमा बाँडेका छौं । ६५ प्रतिशतको हकमा हामीले पुरानो कार्यसमितिमा काम गरेकाहरु, निवर्तमान वा संस्थामा योगदान गरेकाहरु तथा आईसीसी, एनसीसीमा काम गरिसकेकाहरुलाई प्राथमिकता दिने भन्ने हो ।

तर, त्यसमा छनोट कसले गर्ने भन्ने स्पष्ट छैन । जस्तै– पुरानो कार्यसमितिले गर्ने कि निर्वाचित कार्यसमितिले गर्ने भन्नेमा अस्पष्ट छ । २५ प्रतिशतको हकमा हामीले निर्वाचित वा सहमति गरेर ल्याउने भन्यौँ भने १० प्रतिशतलाई निर्वाचित कार्यसमितिलाई मनोनित गर्ने भनेर भनिएको छ ।
एनआरएनएमा फेरियो समीकरण, नयाँ गठबन्धन तयार हुँदै
तर, संस्थापनबाट (अध्यक्ष कुमार पन्तको निर्वाचित कार्यसमिति) के चलाखी भयो । आफ्नो ठाउँमा जितेका अध्यक्षहरुलाई बिना सूचना र जानकारी उहाँहरुले ६५ प्रतिशत आफ्नो ढंगले प्रतिनिधि पठाइदिनुभयो । जबकि विधानमा पुरानोले गर्ने कि नयाँले भन्नेमा कुनै व्यवस्थै गरिएको छैन ।

२५ प्रतिशतको हकमा त सहमित नभए मात्र चुनाव गर्ने हो, सम्भव भएसम्म सहमति नै गर्ने हो । हामी पहिलोपटक नयाँ विधान कार्यान्वयन पनि गर्दैछौँ । दोस्रो कुरा कोभिडको कुरा छ, मध्यपूर्वका कतिपय देशहरु छन् जहाँ निर्वाचन हुने सम्भावना एकदम कम छ र सम्बन्धित देशको कानुनका कारण जटिलताहरु पनि छन् ।

त्यस्तो ठाउँमा सहमतिबाट डेलिगेट्स छनौट गरेर पठाउने काम भएको छ । उहाँहरुले के गर्नुभयो भने अमेरिका, युके, अस्ट्रेलियाजस्तो महत्त्वपूर्ण देशहरुमा चाहिँ २५ प्रतिशत लिस्ट सार्वजनिक गरिदिनुभएन ।

विवाद भएका देशमा सूची सार्वजनिक भइसकेको छ​ ।​तपाईँहरु अब के गर्नुहुन्छ त ?

उहाँहरुले आफू अनुकुलताको देशमा पूर्णरुपमा डेलिडेट्सको सूची सार्वजनिक गरिदिनुभयो । अमेरिका, युके, अस्ट्रेलिया जस्ता महत्त्वपूर्ण देशहरुमा २५ प्रतिशत डेलिगेट्सको सूची उहाँहरुले सार्वजनिक गर्नुभएन । त्यहाँ चुनाव नभएको उहाँहरुको तर्क छ ।

अमेरिकामा डेलिगेट्सको सम्बन्धमा चुनाव हुन लागेको थियो । तर, चुनाव नहोस् भनेर रोक्ने काम भयो । अमेरिकामा विभिन्न प्रान्तहरु रहेकामा त्यहाँको एनआरएनएको लोकल विधानले के भन्छ भने प्रान्तका अध्यक्ष र अध्यक्षले चुनेका मान्छेहरुले अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन पाइन्छ । प्रान्तहरुका १८ जना अध्यक्षलाई डेलिगेट्समा छनोट गरियो, तर बाँकीमा चुनाव गरिए पनि एउटा पक्षले बहिस्कार गर्यो । यही बहानामा लिस्ट सार्वजनिक गरिएन ।

अस्ट्रेलियाले सहमतिमै अधिवेशन गरेर पठायो । तर, यतिसम्म गन्जागोल गरियो कि चुनाव जित्ने रणनीतिमा मात्रै लिइयो । यही दृष्टन्तसहित यो–यो समस्या भयो भनेर हामी परराष्ट्रमा गयौं ।

परराष्ट्रमा कुनै मुद्दा बोकेर गएका पनि होइन, छानबिन गरिपाउँ मात्रै भनेका हौँ । डेलिगेट्स छनौटको सन्दर्भमा धाँधली भयो, यसबारे सम्बोधन गरियोस् भनेर न त गएका हौँ ।

अष्ट्रियाकै हकमा भन्ने हो भने स्वयम् बहालवाला अध्यक्षकै नाम समेत हटाउने काम भएको छ । जापानमा पनि उस्तै विवाद छ । यसबारे परराष्ट्रले कैफियत देखाए पनि उहाँहरुले आफ्नो अनुकुलतामा शतप्रतिशत लिस्ट सार्वजनिक गर्ने काम गर्नुभएको छ ।

परराष्ट्रमा दर्ता भएको संस्था भएकाले अनुगमन गर्नु, मनिटरिङ गर्नु त परराष्ट्रको अधिकारको कुरा पनि भयो । हामीले सुरुमा धाँधलीका सन्दर्भमा थुप्रै मेलहरु धेरै साथीहरुबाट सम्बन्धित ठाउँमा गरेका पनि हौँ । सुनवाइ नभएपछि परराष्ट्रमा जानु हाम्रो स्वाभाविक बाध्यता हो ।

तर, परराष्ट्रको पत्रलाई लिएर संस्थाले त औपचारिक रुपमा शंका व्यक्त गर्दै विज्ञप्ति नै निकालेको छ नि ?

हामी कुनै अदालत गएका होइन, कुनै वक्तव्यबाजी गरेका पनि छैनौँ । त्यसको ठीक विपरीत संस्थापनले केही समय निर्वाचन प्रक्रिया रोकन त भनेर आग्रह गर्दा विज्ञप्ति निकाल्यो । सुरुमै उहाँहरुलाई के लाग्यो भने हामी प्रतिपक्ष हौँ भन्ने मानसिकताले डेरा जमायो । अहिलेको सत्तापक्ष भनेको त कुमारजी (अध्यक्ष कुमार पन्त) हो । संस्था नै परराष्ट्र मन्त्रालयमा दर्ता छ ।

हामीले यस विवादलाई संस्थागत हिसावले बुझिरहँदा उहाँहरुमा पोलिटिकल्ली बुझाइ रह्यो । परराष्ट्र मन्त्रालय हाम्रो संस्थागत माथिल्लो निकाय भएकाले हामी अन्त जान मिल्दैन । हामी परराष्ट्र जानेबित्तिकै विज्ञप्ति निकालिहाल्नुपर्ने, राजनीतिक हस्तक्षेप भन्ने हो भने एनआरएनएको प्रतिपक्षी हो त ? कुमार पन्त, उपाध्यक्ष बद्री केसीजीहरुले के सोच्नुभयो भने उहाँहरुको मानसिकता हामी प्रतिपक्षी हौं कि भन्नेजस्तो पर्यो । अहिलेको अध्यक्ष त सत्तापक्ष हो नि । प्रतिपक्षीले प्रक्रिया संगत ढंगले उजुरी हालेको मात्रै हो ।

तर, तपाईँहरुले एनआरएनएमा राजनीति गरिरहेको भन्दै टीकाटिप्पणी सुनिन त थालिसकेको छ नि ?

राजनीति त उहाँहरुले गरिरहनुभएको छ । स्वाभाविकरुपमा के छ भने कुमार पन्त, बद्री केसीलगायत अघिल्लो पटक नेकपाको समर्थनमा आउनुभयो । त्यतिबेला तत्कालीन नेकपाका नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा कुमार पन्तलाई जिताउनुपर्छ भनेर पार्टीले निर्णय गरेर टिम बनाउँदा त्यो राजनीतिक हस्तक्षेप नहुने ? अहिले स्वभाविक हिसावले अन्याय भयो भनेर राज्यको एउटा निकायमा गुहार्दा राजनीतिक हस्तक्षेप वा राजनीति गरेको भन्न मिल्दैन ।

स्वभाविक रुपमा प्रवासमा नेपालका राजनीतिक पार्टीहरुका भ्रातृ संगठन रहेका छन् । तर, हामी राजनीति भन्दा पनि पारदर्शी ढंगले संस्था चलोस् भन्ने चाहन्छौँ ।

तपाईंहरुले उजुरी बुझाएपछि परराष्ट्रले चुनावी प्रक्रिया रोक्नु भनेर एक्सन पनि लिइसकेको अवस्था छ । चुनाव अब तोकिएको समयमै चुनाव गर्न सहमति दिनुहुन्छ कि के गर्नुहुन्छ ?

चुनाव रोकिने भन्ने प्रश्नै हुन्न । संस्थाका अध्यक्ष नेपाल आएपछि छलफल हुन्छ र संस्थालाई संस्थाकै रुपमा बुझ्नुपर्छ, त्यही अनुसार काम कारबाही हुनुपर्छ भनेर हामीले भन्छौँ ।

एनआरएनए विदेशमा रहेका धेरै नेपालीहरुको भविष्यसँग जोडिएको संस्था समेत हो । यही संस्थाबाट धेरै राम्रो कामहरु पनि हुँदै आइरहेको छ । यो पृष्ठभूमिमा यसलाई विशुद्ध संस्थाको रुपमा बुझ्नुपर्ने हुन्छ । यसलाई चुनावी हारजितको रुपमा बुझ्ने, संस्थालाई कम्पनीको रुपमा बुझ्ने अथवा सिन्डिकेट खडा गर्न खोज्ने मानसिकता हट्नुपर्छ ।

लोकतान्त्रिक अभ्यास गर्न पाउने, सबै साथीहरुले अपनत्व गर्न पाउने र साझा संस्था हो भनेर बुझ्न भने सबैले पाउनुपर्छ । कहिँ न कहिँ सानातिना कुरामा त हामी पनि कम्प्रोमाइज गरौँला, तर मेजर विषयहरु त हल हुनैपर्छ । सबै विवाद सल्ट्याएर हामी तोकिएकै मितिमा चुनाव गर्छौँ ।

एनआरएनएको चुनावमा तपाईँहरु राजनीतिक समीकरणकै आधारमा लड्न खोज्नुभएको हो ?

यसमा दुई–तीनवटा कुराहरु रहेका छन् । पहिलो कुरा त हामीले देखिने गरी संस्थाभित्र धेरै राजनीति नगरौँ भन्ने नै छ । तर, अहिले लागेको कुरा के हो भने नेपालको सत्ता गठबन्धनको हिसावले वा प्रवासमा भएका वैचारिक संस्थाहरु त्यहाँ पनि कहिँ न कहिँ हामीबीच साझदारी गर्नुपर्ने हुन्छ ।

विगतमा केपी ओलीविरुद्ध संघर्ष गरिरहँदा प्रवासमा एमाले निकटको संगठन छ, त्यो बाहेकका एनआरएनका एनसीसीसहित सामाजिक संस्थाहरुले सहकार्य गर्दै आउनुभएको छ । त्यही कुरा केन्द्रीय निर्वाचनमा सही हुन्छ भन्ने हामीलाई लागेको छ ।

कतिपय साथीहरु दायाँ–बायाँ पनि हुनुभएको छ, हामी एकीकृत हुन्छौं । अहिले अध्यक्ष भन्दा पनि महासचिव र उपाध्यक्षबाट संस्थामा जे बदमासी भइरहेको छ, एनआरएनएमा उत्पन्न भएको समस्याको कारक नै त्यही हो ।

@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पोर्न स्टारलाई उनको विरुद्ध नबोल्नका लागि तिरेको मौन पैसाबाट उत्पन्न भएको आपराधिक अभियोगको नब निर्वाचित…

साउदी अरबका एक व्यक्तिले सामाजिक जमघटमा आफ्ना आठ जना छोरीहरूलाई सार्वजनिक रूपमा “उपहार” दिएका छन । उनले त्यसो गरेपछि साउदी…

जर्मनीको रामस्टेन एयर बेस: बसर अल असदको सरकारलाई अपदस्थ गरेपछि दाइस समूह (जसलाई आईएसआईएस पनि भनिन्छ) लाई प्रमुख खतराको रूपमा…

प्रतिकृयाहरू
...