Tuesday 10th March 2026

“चेतन कार्की प्रतिष्ठान” स्थापना


तोपाटी डटकम-सम्बाददाता-वरिष्ठ गीतकार, कवि तथा चलचित्र निर्देशक चेतन कार्कीको नाममा “चेतन कार्की प्रतिष्ठान” स्थापना भएको छ ।प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीका श्रीमती गङ्गा कार्की रहने गरी तदर्थ समिति गठन गरिएको हो ।

वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा गठित सो प्रतिष्ठानको उपाध्यक्षमा वरिष्ठ चलचित्रकर्मी एवं लेखक मोहन निरौला, महासचिवमा कवि मुरारि सिग्देल, कोषाध्यक्ष र सहकोषाध्यक्षमा चेतन कार्कीका सुपुत्र द्वय पारश कार्की र पंकज कार्की रहेका छन् ।प्रतिष्ठानको तदर्थ समितिको सदस्यहरुमा क्रमशः साहित्यकार राधेश्याम लेकाली, नायक रविन्द्र खड्का र कवि दिब्य गिरी रहेका छन् ।

विक्रम संवत् १९९५ मा बहाँटारी, थुम, स्याङ्जामा जन्मिएका चेतन कार्कीको नेपाली साहित्य तथा चलचित्रका क्षेत्रमा अविस्मरणीय योगदान रहेको छ । चन्द्रमाया कार्की तथा जुद्धबीर कार्कीका सुपुत्र चेतन कार्कीको बाल्यकाल भारतको देहरादूनमा बितेको थियो । चेतन कार्कीले निर्देशन गरेको पहिलो चलचित्र “विश्वास” हो भने भूमरी दोस्रो तथा पहिलो प्रेम अन्तिम चलचित्र रहेको छ ।

यसैगरी परिवर्तन, आत्मा बेचेको छैन, हनिमून, ढलेको गिलास जस्ता उपन्यासहरु तथा कल्पना टूट चुकी है (कविता–हिन्दी/उर्दू) सहित जून निदाउन थाल्यो (कविता र गीति संग्रह), माया प्रितीको चोखो कथा (गीत संग्रह), हत्केलाले सधैं भरी सूर्य छेकिँदैन (मुक्तक संग्रह), हो देश मेरो पनि (गजल संग्रह), बसि बियाँलो (कथा संग्रह), दिल जिगरके टुक्रे (उर्दू मूक्तक) आदि पनि रचना गरेका छन् ।

चेतन कार्कीको पहिलो नाटक आत्मा बेचेको छैन हो भने पहिलो उपन्यास पनि आत्मा बेचेको छैन नै हो। यसैगरी पहिलो गीत संगीत महर्षी नातिकाजीको संगीतमा तारा देवी र भुवन थापा चन्दको स्वरमा रहेको “दाइलाई बोलाउ भने लेक स्वर पुग्दैन , बोलाइरन हुँदैन” हो ।

विक्रम संवत् २०१७ सालदेखि नै नेपाली रंगमञ्चमा प्रवेश गरेका चेतन कार्की चलचित्रमा भने २०२५ सालदेखि आवद्ध भएका हुन् । चेतनले रचना गरेका दर्जनौं गीतहरु अत्यधिक लोकप्रिय छन् । ती मध्ये तीजको रहर आयो बरी लै…सर्वाधिक लोकप्रिय गीत रहेको छ । चेतनले माया प्रीति, कान्छी, कन्यादानसहित थुप्रै फिल्महरुका लागि गीत रचना गरेका छन् ।

यस प्रतिष्ठानको कार्यालय चेतन कार्कीको ललितपुरस्थित घरमा रहनेसमेत निर्णय गरेको छ । यसैगरी चेतन कार्कीद्वारा स्थापना गरिएको हीरासिहको नामको पुरस्कारलाई निरन्तरता दिने तथा चेतन कार्कीको नाममा सम्मान र पुरस्कारको स्थापना गर्ने, चेतनका प्रकाशित पुस्तकहरु र सम्मानपत्रहरुको संरक्षण गर्ने र अप्रकाशित कृति र रचनाहरुको प्रकाशन गर्ने जस्ता उदेश्यसहित प्रतिष्ठानको स्थापना गरिएको हो । चेतन कार्कीले नेपाली सस्कृति, कला र साहित्यमा पुर्याउनु भएको समग्र योगदानको उच्च कदर प्रतिष्ठानले गर्ने जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...