Saturday 28th September 2024

मध्यपूर्व र मलेसियाबाट नियमित उडान सेवा शुरु गर्न डा संग्रौलाले गरिन् माग


जिएनएन-दोहा,नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डा. डिला संग्रौलाले कोभिडका कारण जागिर गुमाएका, श्रम सम्झौता सकिएका र घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई जति सक्दो चांडो घर फर्कने स्थिति बनाउन सरकारसंग माग गरेकी छिन्। उनले महँगो चार्टर्ड उडान बन्द गरेर नियमित अन्तर्राष्ट्रिय उडान सेवा जति सक्दो चांडो शुरु गर्न पनि माग गरिन्।

‘कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक भर्चुएल अन्तरक्रियालाई शुक्रबार सम्बोधन गर्दै विघटित प्रतिनिधि सभामा छाया श्रम मंत्रीको जिम्मेवारी सम्हालेकी डा संग्रौलाले कुवेतको हकमा २०२० मार्च बाट सिधा जान नपाइएको र बहराइनले नेपाली श्रमिकहरुलाई नयाँ भिषा नदिने कारण छुट्टीमा आएका नेपालीहरु सजिलै फर्कन नसक्ने अवस्थाले गर्दा धेरैले रोजिरोटी गुमाउनु परेको जनाइन्।

” कोभिडका कारण मध्यपूर्ब र मलेशियामा घाटामा रहेका कम्पनी बन्द भएका छन भने धेरै राम्रा कम्पनीहरुले पनि खर्च कटौतीको नाममा सेवासुबिधा काट्ने, कति कम्पनिले प्रतिशत तोकेरै पारिश्रमिक काटने, कामबाट निकाल्ने लगाएतका समस्या अझै बढीरहेको छ। त्यस्तै “लेबर ल” ले पनि कोभिडलाई प्राकृतिक प्रकोपमा जस्तै व्यवहार गर्न छुट गरेकोले श्रमिकका गुनासाहरु सुनुवाइ नहुने अवस्था छ। पछील्लो अवस्थामा कोभिडकै कारण घरेलु कामदारहरु कम भएकाले उनीहरुलाई कामको बोझ अझै धेरै थपिएको छ भने करार अवधि सकिएकाहरुलाई पनि नयाँ घरेलु कामदार सप्लाई बन्द भएका कारण घर जानै नदिने अवस्था भएको छ,” उनले भनिन्।

डा. संग्रौलाले सउदी अरब, कतार लगायतका मुलुकमा श्रमिकहरुलाई नयाँ श्रम कानूनले रिलिजका लागि सजिलो बनाउने “कफाला सिस्टम” ल्याए पनि कार्यान्वयन हुन नसकेको र अन्य मध्यपूर्ब र मलेशियामा पनि कामदार कम भएकाले कम्पनीले करार सकेका श्रमिकहरुलाई “रिलिज” (कम्पनी परिवर्तन गर्ने सुबिधा) दिएका छैनन् भने यसबाट श्रमिकहरुले बढी सेवा सुबिधा र तलब पाउने अवसर खोसिएको जनाइन्।

विशेष गरी यूएईलाई भिजिट भिषामा नेपालबाट श्रमिकहरु ल्याउने र यूरोप लगाएत बिभिन्न देशमा पठाउने “हब” बनाइएको र यूएईमा भिजिट भिषामै काम लगाउने झुटो आश्वासन दिने तथा नेपालमा एजेन्टले लाखौं असुल्ने अनी यूएईमा ल्याएर अलपत्र पार्ने क्रम बढीरहेको पनि उनले जनाइन्।

उनले खाडी मुलुक तथा मलेसियामा कार्यरत नेपालीका समस्याबारे आफूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री, श्रममन्त्री लगायतको पटक-पटक ध्यानाकर्षण गरेको तर सरकारले कुनै वास्ता नगरेको गुनासो पनि गरिन् ।

‘कमिसन खाने सरकार’

सो अन्तरक्रियालाई सम्बोधन गर्दै पूर्व स्वास्थ्य मंत्री तथा नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दावी गरे ।

‘महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिनपछि नेपालमा कोरोना ‘केस’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’, उनले भने।

नोबेल पुरस्कार प्राप्त अर्थशास्त्री अमर्त्य सेनले प्रजातन्त्रमा जति खत्तम शासक आयो भने पनि निर्वाचनमा जानु पर्ने डर, स्वतन्त्र संचार माध्यम र सचेत नागरिकको दबाबले गर्दा अनिकाल नहुने बताएको स्मरण गरे। तर प्रधानमंत्री ओलीको शासनकाल चाहीं अपवाद बनेको उनले जनाए। “चरम अहंकारी र चरम अयोग्य प्रधानमंत्रीका कारण नेपालले मौका पाउँदा पाउँदै पनि कोरोना नियन्त्रण गर्न सकेन,” उनले भने। उनले सरकारको अकर्मन्यताका कारण जनताले खोप लगाउन नपाएको पनि बताए।

कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेदिक सर्जन डा. मदन भण्डारीले कोभिडका कारण उत्पन्न तनाव व्यवस्थापनबारे प्रस्तुति दिएका थिए । मध्यपूर्वस्थित विभिन्न जनसम्पर्क समितिका पदाधिकारीहरुले कोभिडका कारण नेपाली कामदारमा परेको असरबारे जानकारी दिएका थिए । कार्यक्रमको संचालन नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागका केन्द्रिय सदस्य बिमल सुवेदीले गरेका थिए।


सम्बन्धित शीर्षकहरु

इजरायलको सेनाले दक्षिणी बेरुतमा हवाई हमलाको श्रृंखला सुरु गरेकोछ । लेबनानको राजधानीमा रहेको हिजबुल्लाहको कमान्ड सेन्टर लाई लक्षित गरी गरिएको…

“स्वार्थ भन्दा माथि सेवा यहि नै बुद्ध भुमि / शान्ति भुमि प्रतिको टेवा ” भन्ने नारालाई आत्मसात गर्दै, रोजगारीको शिलशिलामा…

कुवेतको प्रमुख खुद्रा बिक्रेता लुलु हाइपरमार्केटले देशका सबै आउटलेटहरूमा आफ्नो उच्च प्रत्याशित 'लुलु वर्ल्ड फूड' प्रवर्द्धन सुरु गरेको छ। 25…

प्रतिकृयाहरू
...