पाँच मुक्तक
१)
वेतनभोगी मित्रहरु हेर बजार भाउ ।
भोगेपछि थाहा हुन्छ कहाँ दुख्छ घाउ?
तेलको मूल्य सोधे हुन्छ, बजारियालाई
तलबैको निहुँ पारी दर बढाउने दाउ ।
२)
चाहिएन भयो पुग्यो नबढाए हुन्छ ।
तलबैमा गिद्दे दृस्टी नगढाए हुन्छ ।
अनुगमन गर्नेहरु के हेरेर बस्छौ?
चुनावमा सक्दो चन्दा नचढाए हुन्छ ।
३)
तिम्रो कमाइ मेरो कमाइ राखौँ एकै ठाम ।
मिलिजुली ताप्ने गरौँ सबले न्यानो घाम ।
मेरो तेरो हुँदै नहोस्,सबै हाम्रो बनोस्
तब पो त हुन्छ बाबै! यहाँ राज्य राम ।
४)
जानु अघि हरियाली डढाएर गयौ ।
परायामा मित्रशक्ति चढाएर गयौ ।
बुद्धिभ्रष्ट भयो तिम्रो लोभ अति गर्दा,
प्रतिपक्षी तिरै हात बढाएर गयौ ।
५)
बुद्ध बन शुद्ध बन मान पाउने छौ ।
संसारमा नमेटिने शान पाउने छौ ।
हजारौँको भिडबिच बेग्लै पहिचान,
प्रात:काल चोखो गुणगान पाउने छौ ।
महेन्द्र मान बलामी, दक्षिणकाली-९