Sunday 8th February 2026

भारतको दादागिरी – १० गजाक्षेत्र मिचेर चेकपोष्ट बनाउँदै


तितोपाटी – धनुषाको जटही नाकासँग जोडिएको दसगजा क्षेत्रमा भारतीय पक्षले चेक पोस्ट निर्माण थालेको छ । नगराइनस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले पटक–पटक अनुरोध गरे पनि अटेरी गरेको छ ।

बीओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक जगदीशप्रसाद थारू नेतृत्वको सुरक्षा टोलीले चेकपोस्टको निर्माण रोक्न आग्रह गर्दा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरी भारतीय पक्षले निर्माणलाई तीव्रता दिएको छ ।

सीमा शुल्क चौकीले जमुनी नदीको दक्षिणतर्फ सीमास्तम्भ २८४/३५ र एसपी ५१ को बीचको दशगजामा चेक पोस्ट निर्माण गरिरहेको हो । अन्तर्राष्ट्रिय सीमा कानुन लत्याउँदै भारतीय अधिकारीले जबर्जस्ती भन्सार चेक पोस्ट बनाउन थालेपछि दुवै देशका सुरक्षा अधिकारीका बीचमा मनमुटाव बढेको छ ।

भारतीय अधिकारीले सशस्त्र प्रहरी निरीक्षक थारूलाई नेपालको उपल्लो निकायबाट पत्र प्राप्त नभएसम्म निर्माण नरोकिने बताउँदै अवरोध नगर्न चेतावनी दिएका छन् । नगराइनस्थित सशस्त्र प्रहरी निरीक्षक थारूले भारतीय पक्षले जेठ १५ देखि चेक पोस्ट निर्माण सुरु गरेको जानकारी दिए । ‘दशगजामा कुनै पनि संरचना निर्माण गर्न नमिल्ने जानकारी गराएपछि उनीहरूले केही समय काम रोके,’ उनले भने ।

निर्माण रोक्न लगाएर मातहत कार्यालयमा पटक पटक जानकारी गराए पनि नेतृत्व तहबाट कुनै पहल नहुँदा भारतले शनिबारदेखि पुन: काम थालेको सशस्त्र प्रहरी निरीक्षक थारूले बताए । भारतीय अधिकारीले चेकपोस्ट निर्माण भइरहेको स्थल विहार सरकारको अधीनस्थ भएको दाबी गरेका छन् ।

सीमा–शुल्क अधीक्षकको कार्यालय स्थल सीमा शुल्क चौकी पिपरौनका प्रमुख मोहम्मद नुरले दशगजामा नभएर भारतीय भूमिमै चेक पोस्ट निर्माण भइरहेको बताए । ‘अमिनले गरेको नापीअनुसार दशगजाको छेउमा भारतीय पक्षबाट चेक पोस्ट निर्माण भइरहेको छ,’ उनले भने, ‘नेपाली पक्षलाई अमिन बोलाएर नापजाँच गर्न पटक पटक आग्रह गरेको छु । तर उनीहरू आउन मानेनन् । निर्माण कार्यमा मात्रै अवरोध गर्नु भएन ।’

धनुषाका प्रमुख जिल्ला अधिकारीलाई समेत नापीका लागि आग्रह गरे पनि चासो नदेखाउँदा २ महिना कुरेको उनको भनाइ छ । त्यसपछि निर्माण कार्य अगाडि बढाएको जानकारी नुरले दिए । निर्माण रोक्न गएका सशस्त्र प्रहरी निरीक्षक नेतृत्वको सुरक्षाकर्मीलाई मधुवनी भन्सारका अधिकृत अशोक कुमारले अवरोध नगर्न आग्रह गर्दै लिखित पत्रसहित आउन भनेका छन् ।

‘पटक पटक काममा अवरोध गरेर हुँदैन, समस्याबारे लिखित रूपमै आउनुपर्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले गृह मन्त्रालयमा जानकारी गराएर फिल्ड सर्वेका लागि टोली माग गरेको बताए । ‘एक महिनाअघि नै फिल्ड सर्वे टिम माग गरिए पनि अझै आइपुगको छैन,’ उनले भने ।


सम्बन्धित शीर्षकहरु

गोरखा समाज कुवेतको प्रथम ऐतिहासिक अधिवेशन नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ। खैतानस्थित राजधानी प्यालेसको सभाहलमा आयोजित अधिवेशनले…

कुवेतस्थित खोटाङ कुवेत सम्पर्क मञ्च ले आफ्नो दोस्रो सांगीतिक धमका आयोजना गर्ने भएको छ। संस्थाको हालै सम्पन्न २१ औँ मासिक…

  तिताेपाटी तनहुँ म्याग्दे गाउँपालिकाले सार्वजनिक गर्‍यो ‘म्याग्दे गान’, स्थानीय पहिचान र भावनालाई एकसूत्रमा बाँध्ने प्रयास तनहुँ । म्याग्दे गाउँपालिकाले…

प्रतिकृयाहरू
...