तितोपाटी- सत्ता साझेदारी गर्ने विषयमा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीचको छलफल ‘सकारात्मक’ देखिएको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै साविक पार्टी ब्युँताएपछि अनौपचारिक रूपमा सुरु भएको छलफलले बिहीबार औपचारिकता पाएको हो। जसपाका शीर्ष नेता दिनभर आन्तरिक छलफल गरि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका थिए।
प्रधानमन्त्री ओलीसहित एमाले शीर्ष नेताहरूसँगको वार्तामा तीनबुँदे प्रस्ताव राखिएको जसपा नेता अशोक राईले बताए। ‘हामीले तीनबुँदे प्रस्ताव राख्यौं, सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा कुरा गर्यौं’, नेता राईले भने, ‘प्रधानमन्त्रीले हाम्रा मागप्रति सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको छ।’
जसपाका नेताहरूले विगतमा पनि आफ्ना मागका विषयमा पटक–पटकका छलफलमा सरकारको तर्फबाट जवाफ सकारात्मक आउने तर कार्यान्वयन नभएको प्रसंग उठाएका थिए। त्यसपछि उनीहरूले आफ्ना मागप्रति सरकारको प्रस्ट धारणा र कार्यान्वयनको खाका आउनुपर्ने बताएका थिए।
जवाफमा प्रधानमन्त्री ओलीले भने आफू जसपाको माग सम्बोधन गर्न तयार रहेको र यसको व्यवहारिक पक्षबारे छलफल गर्न कार्यदलस्तरमा मोडालिटीबारे अगाडि बढ्न आग्रह गरेका थिए।
जसपाकै नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएको र अब कार्यदलस्तरमा मोडालिटीका विषयमा केन्द्रित रहेर छलफल हुने बताए। ‘हामीले उहाँहरूसँग संविधान संशोधन, रेशम चौधरीको रिहाइ, मधेस र थरुहट आन्दोलनको मुद्दा सम्बोधन र पक्राउ परेकाहरूको रिहाइबारे माग राखेका थियौं’, नेता कर्णले भने, ‘प्रधानमन्त्रीले माग सम्बोधन गर्नेप्रति सकारात्मक छु भन्नुभयो। माग सम्बोधन कसरी गर्ने भन्ने सम्बन्धमा मोडालिटी तयार गर्ने समझदारी बनेको छ। अब त्यहीअनुसार कार्यदलस्तरमा छलफल हुन्छ।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जसपासँगको छलफल सकारात्मक भएको भन्दै अब कार्यदलस्तरमा अनौपचारिक छलफल हुने बताए। ‘प्रधानमन्त्री र जसपाका नेताबीचको भेटघाट सकारात्मक रहेको छ। शुक्रबार फेरि कार्यदलस्तरमा अनौपचारिक छलफल हुनेछ’, प्रेस सल्लाहकार थापाले भने।अन्नपूर्णबाट