Thursday 18th June 2026

अाज साउने सक्रान्ती, लुतो फाल्ने दिन


तितोपाटी – नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ ।

लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, अाँकुरा, मकरकाँजी, तिहिरे फुल, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नसपाती, विविररो, बोट सहितको हरियो मकै आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् भने कतिपय ठाउँमा पछिल्लो पुस्ताले ती सामग्री पहिचान गर्न सकेका छैनन् ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिँकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याँक्ने संस्कृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा नै लुतो फाल्ने प्रचलन रहेको कोटभैरव मन्दिर संरक्षण एवं व्यवस्थापन समितिका उपाध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

सौर्यमानअनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सङ्क्रान्तिलाई कर्कट सङ्क्रान्ति भन्ने गरिन्छ ।

कृषिप्रधान देशमा ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।

असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने छालाको रोग बाट मुक्ति पाउन साउने सङ्क्रान्तिका दिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन छ ।

महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकीले सोमबारको व्रतको महत्व छ ।

साउन महिना भगवान् शिवको महिना भएकाले यो महिनाभर शिवालयमा दर्शनार्थीको अत्यधिक भीड लाग्छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...