Monday 16th March 2026

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै, अधिकांश शिक्षित युवा नै पीडित


तितोपाटी- वैदेशिक रोजगारीका नाममा सहरी क्षेत्रका शिक्षित युवा नै ठगीमा पर्ने गरेको उजुरी वैदेशिक रोजगार विभागमा पर्न थालेका छन् ।

युरोप, अमेरिका जस्ता विकसीत मुलुकमा पठाउने भन्दै काठमाडौं उपत्यकाका युवाहरु विभागमा उजुरी दिन आउने गरेको विभागका सूचना अधिकारी टीकामणी न्यौपानेले बताए । “वैदेशिक रोजगार विभागमा नै दर्ता भएको एक मेनपावर कम्पनीले एक युवालाई अमेरिका पठाउने भन्दै रु १५ लाख ७५ हजार ठगी गरेको उजुरी सोमबार मात्रै विभागमा परेको छ”, उनले भने, “विशेषगरी विकसीत मुलुकमा जाने भन्दै २० वर्षमुनिका युवायुवतीहरु ठगिएको पाइएको छन् ।”

त्यस्ता प्रकृतिका युवायुवतीहरु अरुको लहलहैमा लागेर ठगिने गरेको उनले बताए । उनका अनुसार विभागमा खाडी मुलुकमा पठाउने नाममा बढी ठगीका घटना दर्ता हुने गरेका छन् ।

विभागमा स्वदेशभित्र भएका उजुरी मात्र नभई वैदेशिक रोजगारीमा गइसकेका श्रमिकले समेत सम्बन्धित दुतावासमार्फत उजुरी गर्न पाउने प्रावधान छ । भने अनुसारको सेवासुविधा र काम नपाएको खण्डमा विदेशमा रहेका श्रमिकले उजुरी गर्न पाउने प्रावधान रहेको उनले बताए ।

कोभिड १९ को संक्रमणपछि लकडाउनका कारण केही समय उजुरी दर्ता र फछ्र्यौटको काम बन्द भए पनि सो समयपछि भने ठगीका उजुरीहरु बढ्ने गरेको विभागले जनाएको छ । विभागका अनुसार हाल दैनिक ३० देखि ४० वटासम्म ठगीका उजुरीहरु दर्ता हुने गरेका छन् ।

उजुरीका आधारमा दण्ड जरिवाना गराउन सक्ने र मुद्दा चलाउन सक्ने सम्पूर्ण अधिकार विभागको छ । विभागको कार्यविधि अनुरुप मेनपावर कम्पनीले रु दुई करोड धरौटी अनिवार्य राख्नु पर्छ । उजुरीका आधारमा मेनपावर कम्पनीमार्फत तथ्यांक लिइसकेपछि सो धरौटी रकममार्फत विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउँदै आएको छ ।

वैदेशिक रोजगारीका क्रममा भने अनुसारको तलब, काम र सेवासुविधा नपाएको खण्डमा पनि पीडितले स्वदेश फर्किइसकेपछि विभागमा उजुरी गर्न पाउँछन् । यदि छ महिनामा नै पीडित फर्किएको खण्डमा एक वर्षभित्र र सेवाअवधि पुरा गरेर फर्किएको एक वर्षभित्र मेनपावर कम्पनी विरुद्ध पीडितले उजुरी गर्न पाउने प्रावधान छ ।

विभागबाट इजाजतप्राप्त मेनपावरका कतिपय उजुरी फोनमार्फत सुनुवाई गर्ने गरेको सूचना अधिकारी न्यौपानेले बताए । विभागले पटक–पटक ताकेता गर्दा मेनपावरबाट कुनै प्रतिक्रिया नआएको खण्डमा विभागले पक्राउ पूर्जि जारी गरि सम्बन्धित मेनपावर कम्पनीका व्यक्तिलाई जेल चलान गर्दै आएकोक छ ।

इजाजतप्राप्त मेनपावर कम्पनीले गर्ने गरेको ठगी र व्यक्तिगत ठगी घटना उजुरीहरु दर्ता हुने गरेको विभागले जनाएको छ । सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयले वैदेशिक रोजगारी ठगीका उजुरीको सुनुवाई गर्दै आइरहेका छन् । जिल्लाबाट सुनुवाई गर्न नसकिएका उजुरीहरु भने विभागमा जाने गर्छन् ।

त्यसैगरी विभागको कारवाही चित्त नबुझेको खण्डमा पीडितले सो उजुरी पुनरावेदनमार्फत उच्च अदालतमा दर्ता गराउन पनि पाउँछन् ।


सम्बन्धित शीर्षकहरु

लद्दाखका एक प्रसिद्ध कार्यकर्ता तथा वैज्ञानिक सोनम वाङचुकलाई जेलबाट रिहा गरिएको छ। तर सरकारले यो निर्णय किन गर्‍यो र लद्दाखका…

काठमाडौं — Non-Resident Nepali Association (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा महाधिवेशनमा ४ हजार २८६ प्रतिनिधि सहभागी हुने भएका छन्।…

गैरआवासीय नेपाली संघको यही मार्च १४–१६, २०२६ मा सम्पन्न हुन गइरहेको १२औँ एकता अन्तर्राष्ट्रिय महाधिवेशनमा कुवेतबाट मध्यपूर्व संयोजक पदका लागि…

प्रतिकृयाहरू
...