Tuesday 1st September 2026

खोलामा पुल नहुँदा वर्षेनी बाढीको समयमा विद्यालय जाने बालबालिका मारमा


तितोपाटी – मोरङको बिराटनगर  महानगरपालिकासँग जोडिएको कटहरी गाउँपालिका ६ को लक्ष्मी निमाविका शिक्षक–शिक्षिकाको दिनचर्या तीन दिनदेखि अलि फेरिएको छ । विद्यालयका प्राचार्य कृष्ण सुवेदीसहितको विद्यालय टोली बिहान ९ बजे नै नजिकको सुखानी खोलामा तैनाथ हुन्छन् ।

उनीहरू त्यहाँ नपुगे खोलापारिका ७५ जना बालबालिका विद्यालय आउनै पाउँदैनन् । विद्यालय छुट्टी भएपछि पनि उनीहरू त्यही खोलामा पुग्छन् । उनीहरू त्यहाँ नपुगे बिहान विद्यालय आएका बालबालिका बेलुका आफनो घर जानै सक्दैनन् । खोलमा तीन दिनदेखि बाढी बढेको छ ।

‘खोलामा पुल नबन्दा बिहान विद्यार्थीलाई आफैंले बोकेर खोलो तारेर विद्यालय ल्याउनु र बेलुका फेरि खोलो तारेर घर पठाउनुपर्ने बाध्यता छ,’ प्राचार्य सुवेदीले भने, ‘बालबालिकालाई खोलो नतारे विद्यालयमा विद्यार्थी नै हुँदैनन् ।’ विद्यालयमा ३ सय बालबालिका अध्ययन गर्छन् । यो खोलापारिको भौडाहाबाट विद्यालय आउने बालबालिकाको संख्या ७५ जना छ ।

‘हरेक बर्खायाममा खोलामा बाढी आउँदा हामीले उनीहरूलाई बिहान र बेलुका बोकेर विद्यालय ल्याउने र घर पठाउने काम गर्दै आएका छौं,’ प्राचार्य सुवेदीले भने, ‘बिहान खोलापारि घर भएका विद्यालय कर्मचारी जगानन्द ठाकुर र शिक्षिका रेखाकुमारी ठाकुरले बालबालिकालाई बोकेर खोलो तारेर विद्यालय ल्याउँछन् । विद्यालय छुट्टी भएपछि बेलुका आफूसहित अरू शिक्षक खोलामा गएर उनीहरूलाई बोकेर तारेर घर पठाउँछौँ ।

२ करोडको लागतमा यो खोलामा पुल निर्माण गर्न २०६४ सालमा केन्द्रीय योजनाअन्तर्गत शेर्पा कन्स्ट्रक्सनका सुरेन्द्र शेर्पाले ठेक्का लिएका थिए । तर अहिलेसम्म १० प्रतिशत पनि पुल निर्माण नभएको सुवेदीले बताए । ‘खोलामा तर्न सक्ने बाढीसम्म हुँदा बालबालिकालाई आफैं तारेर विद्यालय ल्याउने र घर पठाउने गर्छौं,’ शिक्षिका रेखाकुमारी ठाकुरले भनिन्, ‘तर्नै नसक्ने बाढी आएपछि खोलापारिका बालबालिका मात्र नभएर आफू पनि विद्यालय नै आउन पाइँदैन ।’

ठेकदार सम्पर्कमै नआएपछि समस्या भएको वडाअध्यक्ष पृथ्वीलाल सरदारको भनाई छ । ‘उनलाई गाउँपालिकाका जनप्रतिनिधिले पटक–पटक खोजे तर सम्पर्कमै आएनन’ उनले भने ठेकेदारको लापर्बाहीले स्थानीयवासी हरेक बर्खायाममा सास्ती भोग्न बाध्य छन् ।’ वडा कार्यालयले करिब ७० हजार रुपैयाँ खर्चेर त्यो खोलामा बाँसको अस्थायी पुल निर्माण गरेर क्षणिक समाधान गर्ने तयारी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

भारतको अर्थतन्त्र चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७.८ प्रतिशतले बढेको छ। उत्पादन, सेवा, लगानी र निर्यातमा सुधार आउँदा आर्थिक…

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

प्रतिकृयाहरू
...