Thursday 18th June 2026

हेलिकप्टर चार्टर्ड गरेर छोरीको बालविवाह


प्रदेश नम्बर २ को धनुषाको कमला नगरपालिकामा हेलिकप्टर चार्टर्ड गरी बालविवाह भएको छ। शनिबार कमला नगरपालिका वडा नम्बर -४ बल्हा सघारामा भर्खरै काटिएको धानबारीमा हेलिकप्टर रोकियो।प्रभु एअरको आर ६६ टरवाइन हेलिकप्टरबाट १८ वर्षका दुलाहा किशोर सम्साद सबैभन्दा अगाडि निस्किए। हेलिकप्टरमा दुलहाका बाबु र अरू दुई जना जन्ती पनि थिए। निजी विद्यालय सञ्चालक बल्हासघाराका सतार कवारी आफ्ना १६ वर्षीया छोरी सबनमको विवाह अरूले थाहा नपाऊन् भनेरै ज्वाइँसहित जन्तीलाई हेलिकप्टरमा चार्टर गरेर घरमा ल्याएका थिए। बिहे सकेर दुलहा-दुलही बोकेर बेलुकी ४ बजे सिरहा खुसीपुर नगरपालिका लर्कन्हाका लागि उड्यो। यो विवाह तामझामले भए पनि सुरक्षा निकाय भने मौन रहे।

विवाहमा वडाध्यक्ष पल्टु कबारी, बल्हा प्रहरी चौकी इञ्चार्ज असई गणेश दनुवार, दुब्बरकोट सशस्त्र प्रहरी वेस क्याम्पका हवल्दार रञ्जित दनुवार पनि उपस्थित थिए। उनीहरूले १६ वर्षीया दुलहीको विवाह भइराखे पनि रोक्ने प्रयास गरेनन्। बालविवाहमा तपाईं किन साक्षी बस्नुभएको भन्ने प्रश्नमा वडाध्यक्ष पल्टु कबारीले भने, ‘मलाई के थाहा यो बाल बिहे भन्ने? म सबैको जन्मदर्ता हेर्दै हिडुँ? गाउँमा हुने बिहेमा निम्ता आयो, गएँ, भोज खाएर फर्किएँ।’दुलहा किशोर सम्साद जनकपुरको मोडेल मल्टिपल कलेजबाट १२ कक्षाको परीक्षा दिएका छन्। दुलही गाउँकै विद्यालयमा कक्षा १० मा पढ्दै थिइन्।

प्रहरी चौकीका प्रमुख दनुवारले दुलही बुर्कामा रहेकाले उमेर कति भन्ने अनुमान लगाउन नसकिएको बताए।‘गाउँमा हेलिकप्टर आएपछि भीड हुने भएर सुरक्षाका लागि पुगेका थियौं’ उनले भने।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले २० वर्षमुनि कुनै बहानामा विवाह गर्न र गराउने हक कसैको नरहेको बताए।‘बालविवाह भएको रहेछ भने पक्राउ गरी कारबाही गर्छौं’ उनले भने।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...