तितोपाटी – अन्डरवर्ल्ड डन दाउद ईब्राहिमसँग मिलेर नेपालमा ‘सट्टेबाजी धन्दा’ गर्दै आएका अमृत भन्ने नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् ।
केही समयअघि मात्र भारतमा सम्पन्न आईपिएल क्रिकेटमा सट्टेबाजी गराएर २ करोड ४० लाख ठगी गरेको खुलेपछि नागराजलाई काठमाडौंको पानीपोखरीबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले जानकारी दिएका छन् ।
धनुषाको जनकपुर नगरपालिका–३ स्थायी घर भएका नागराजले महोत्तरी स्थायी घर भई काठमाडौं बस्ने राकेश सिंह लगायतका ब्यक्तिहरुबाट आइपिएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुन्छ र हारेमा फिर्ता हुन्छ भन्दै २ करोड ४० लाख ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
नेपाली सट्टेबाजका बादशाह मानिने नागराजले ललाईफकाई ठगी गरेको भन्दै प्रहरीले उनलाई ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेको छ ।
भारतमा बसेर नेपालमा सट्टेबाजको धन्दा चलाएँदै आएका नागराजको अन्डरवर्ल्ड डन दाउदसँग कनेक्सन रहेको बताइएको छ ।
मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र विगो भराई विगो बमोजिम जरिवाना हुने व्यवस्था रहेको छ ।