Friday 28th November 2025

साउदी अरेवियामा महिलाले अाजबाट ड्राइभिङ गर्दै


तितोपाटी – साउदी अरेबिया महिलाहरूलाई सवारी साधन चलाउन अनुमति दिने विश्वको अन्तिम देश बनेको छ।

स्थानीय समय अनुसार मध्यरात एउटा शाही घोषणामार्फत उक्त प्रतिबन्ध हटाइएको घोषणा गरिएको थियो।

रूढिवादले जरो गाडेको साउदी अरेबियामा सवारी चलाउन लगाइएको प्रतिबन्ध हटाउने घोषणाले महत्त्वपूर्ण सुधारको शुरूवात गरेको  संवाददाताहरू बताउँछन्।

यसलाई राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरिरहेको देशलाई आधुनिकीकरणतर्फ डोर्‍याउने एउटा महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ।

पछिल्लो परिवर्तनको घोषणा अघिल्लो सेप्टेम्बर महिनामा गरिएको थियो।

साउदी अरेबियाले यसै महिनाको शुरूमा पहिलो पटक महिलाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

यसअघि विश्वमा महिलाहरूलाई सवारी साधन चलाउन नदिने साउदी अरेबिया एकमात्रै देश थियो।

परिवारहरूले महिला नातेदारका लागि निजी गाडी भाडामा लिने अभ्यास त्यहाँ रहेको थियो।

झण्डै ३० लाख महिलाले नयाँ स्वतन्त्रताको उपभोग गर्ने अपेक्षा गरिएको छ।

बीबीसीका एक मध्यपूर्व विश्लेषक भन्छन् उक्त अधिकारको पक्षमा वकालत गर्ने धेरै महिला अधिकारकर्मीहरूलाई अघिल्लो महिना थुनामा राखिएकाले सवारी साधन चलाउन पाउने अधिकारको कार्यान्वयन शुरूमै छायामा परे जस्तो देखिन्छ।

अधिकारवादी संस्था एमनेस्टी इन्टरनेश्नलका अनुसार कम्तीमा आठजना महिलाहरू थुनामा छन् र उनीहरूलाई प्रतिआतंकवादसम्बन्धी अदालतमा अभियोग दायर गरिनसक्छ।

अवाज उठाएबापत उनीहरूलाई लामो जेल सजाय समेत हुनसक्ने अधिकारवादी संस्थाहरू बताउँछन्।

एमनेस्टीले हालपनि पुरूष अभिभावकत्वको प्रथा कायम रहेको साउदी अरेबीयामा अरू बृहत् सुधारका कदमहरू चाल्न पनि भनेको छ।

महिलाहरूलाई सवारी चलाउनुपर्ने अधिकार दिइनुपर्ने मागसहित अधिकारवादी समूहरूले वर्षौँयता साउदीमा अभियानहरू चलाएका थिए।

सवारी चलाएकोमा सन् १९९० मा रियादबाट दर्जनौँ महिलाहरूलाई पक्राउ गरिएको थियो।

केही महिलाहरूले आफूले सवारी चलाएका भिडिओहरू सन् २००८ र सन् २०११ देखि सन् २०१४ को बीचमा पोष्ट गरेका थिए।

अब हजारौँ महिलाले सडकमा सवारी साधन गुडाउने ठानिएको छ।

साउदीकी एकजना टेलिभिजन प्रस्तोता सबिका अल दोसारीले एएफपी समाचार संस्थालाई भनिन्, “यो प्रत्येक साउदी महिलाका लागि ऐतिहासिक दिन हो।”

उनले सवारी चलाउन प्रतिबन्ध खुलेको केही मिनेटभित्रै आफूले गाडी चलाएको पनि बताइन्।

जुन ५ तारिखमा १० जना महिलाहरूलाई पहिलो पटक साउदी अरेबियाले सवारी चालक अनुमतिपत्र जारी गरेको थियो।

यो प्रतिबन्ध खुल्ला हुँदासम्म त्यसरी अनुमतिपत्र पाइसकेका महिलाको संख्या करिब दुई हजार पुग्ने अधिकारीहरूले अपेक्षा गरेका थिए।

साउदी अरेबियाका महिलाहरू अझै पनि यात्रा गर्न, सम्बन्ध विच्छेद गर्न वा पुरुष नातेदारको सहमति बिना जेलबाट समेत बाहिर निक्लन स्वतन्त्र छैनन्।

-बीबीसी नेपाली बाट


सम्बन्धित शीर्षकहरु

बगदाद: इराकले बिहीबार स्वायत्त कुर्दिस्तान क्षेत्रमा रहेको ग्यास कम्प्लेक्समा भएको आक्रमणको अनुसन्धान गर्ने बताएको छ, जसले ग्यास आपूर्ति अवरुद्ध गरेको…

काठमाडौँ । इजरायलमा नौ जना शीर्ष सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको छ । इजरायल रक्षा बलका प्रमुख, लेफ्टिनेन्ट जनरल इयाल जामिरले…

वाशिंगटन, डीसीमा भएको गोलीकाण्डपछि, अमेरिकाले अफगानी नागरिकहरूबाट प्राप्त सबै आप्रवासन अनुरोधहरू प्रशोधन गर्न निलम्बन गरेको छ। ह्वाइट हाउस नजिकै भएको…

प्रतिकृयाहरू
...