Wednesday 14th May 2025

अफगानिस्तानमा वैवाहिक समारोहमा भएको विष्फोटमा परि ६३ भन्दा बढीको मृत्यु


तितोपाटी – युद्धग्रस्त मुलुक अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहलाई लक्षित गरी शनिबार राति भएको बम बिस्फोटनमा ६३ जनाभन्दा बढी मारिएका छन्। हालैका महिनामा अफगानिस्तानमा भएका शृङ्खलाबद्ध बिस्फोटमध्ये यो निकै भयानक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक विवरणमा बिस्फोटका कारण विवाह समारोहमा सहभागी ६३ जनाको मृत्यु भएको र अरु १८२ जना घाइते भएको उल्लेख छ। उक्त बिस्फोट राजधानी काबुलको पश्चिमतर्फ शिया बहुल क्षेत्रमा भएको थियो। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने उक्त आक्रमणमा संलग्न नरहेको जनाएको छ।

अमेरिका र तालिबान समूहबीच अफगानिस्तानबाट अमेरिकी सैनिकको संख्या कटौती गर्ने समेतको व्यापक सम्झौतामा सहमति नजिक पुगेकै समयमा काबुलमा यो भयानक आक्रमण भएको हो। अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जनाको मृत्यु भएको र १८२ जना घाइते भएको पुष्टि गरे। राहिमीले घाइतेहरुमा अधिकांश महिला र बालबालिका रहेको पनि जानकारी दिए।

अफगान समाजमा वैवाहिक कार्यक्रम भव्य रुपमा हुने गर्दछ। वरवधुको क्षमता बमोजिम सयौं र कहिलेकाहिँ हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ। विवाहमा सामान्यतया पुरुष र महिलाहरु अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिनमा बिताउँछन्। शनिबार रातिको यस आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो। समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका शरीरका अंगहरु, च्यातिएका लत्ताकपडा, टोपी, चप्पल र खानेपानीका बोटल यत्रतत्र छरिएका थिए।

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो। शिया समुदायमाथि सुन्नी बहुल अफगानिस्तानमा आक्रमण भइरहने गर्दछ, खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गरेको देखिन्छ। काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले यस घटनाका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन। विवाह समारोहमा सहभागी मोहम्मद फरहागले आफू बम बिस्फोट हुँदा महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए। फरहागले एएफपीसँगको कुराकानीमा पुरुषहरु रहेको हलतर्फ बिस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै बाहिर हल बाहिर निस्केको बताए।

घटना भएको झण्डै २० मिनेटसम्म पूरै हल धुँवाले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए, फरहागले भने।

बिस्फोटको दुई घण्टापछि हलबाट शव निकाल्न थालिएको थियो। विद्रोही समूहले अफगान वैवाहिक समारोहमा आक्रमण गर्नेक्रम विगतदेखि नै हुँदै आएको छ। वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि विद्रोही समूहलाई आक्रमण गर्न सहज हुने गरेको छ।

गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको एक वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ६ जना मारिएका थिए। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो। एएफपी


सम्बन्धित शीर्षकहरु

काबुल: तालिबान सरकारले मंगलबार भनेको छ कि जुलाईमा संयुक्त राज्य अमेरिकामा कानुनी सुरक्षा खारेज हुने अफगान शरणार्थीहरूको स्वदेश फिर्तीमा ट्रम्प…

गत हप्ता भएको भयंकर सैन्य टकरावपछि भएको युद्धविरामपछि राष्ट्रलाई दिएको पहिलो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तान विरुद्धको सैन्य कारबाही…

KYIV: युक्रेन र उसका सहयोगीहरू सोमबारदेखि कम्तिमा ३० दिनको लागि रूससँग "पूर्ण, बिना शर्त युद्धविराम" को लागि तयार छन्, युक्रेनी…

प्रतिकृयाहरू
...