Wednesday 5th August 2026

१२ वर्षमा बिहे, १३ मा आमा


जनकपुरधाम -चन्दनिया देवी सदा १६ वर्षकी भइन्। उनको विवाह तीन वर्षअघि भएको थियो। अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा। शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गाह्रो छ। गर्भको बच्चा सात महिना पुगिसकेको छ। चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन। यसबारे सोध्दा उनी लजाउँछिन् मात्र।

महोत्तरी मनरा सिसवा नगरपालिका-१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ। बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन्। सन्तान पनि कुपोषित छन्।

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन्। छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो। बुहारी इन्दिरा १२ वर्षकी थिइन्। इन्दिराले छोरी जन्माइसकेकी छन्। सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु)।’

मुसहर टोलमा अधिकांशको बिहे उमेर नपुग्दै हुन्छ। ‘छौरा छौरी जुवान भगेल त वियाह कदेली उमेरसे कथि होईहै (केटाकेटी जवान भएपछि बिहे गरिदिने हो। उमेरले के हुन्छ ? ’ टोलकी वृद्धा सन्तोलियादेवी सदाले भनिन्, ‘हाम्रो बेलामा त झन् बच्चैमा बिहे हुन्थ्यो।’

सानैमा बिहे गर्ने परिपाटी र परिवार नियोजनको साधनमा पहुँच नहुँदा अधिकांश महिला धेरै बच्चा पाउन बाध्य छन्। यस्ता बच्चामा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ। गर्भवती भएपछि स्वास्थ्य संस्थामा नियमित जाँच गराउने चलन पनि छैन। त्यतिबेला पोषणयुक्त खानेकुरा खान नपाएका अधिकांश महिलालाई रोगले च्यापेको छ। उनीहरूलाई सुत्केरी हुन स्वास्थ्य चौकी जानुपर्छ भन्ने चेतना छैन।

मुसहर समुदाय छोराछोरीलाई पढाउनुको साटो मजदुरीमा लगाउन रुचाउँछन्। यसले गर्दा शैक्षिक अवस्था पनि दयनीय रहेको छ। प्रदेश २ सरकारले चलाएको बेटी पढाऊ, बेटी बचाऊ अभियान मुसहर टोलवासी अनभिज्ञ छन्। छोरी जन्मिँदा प्रदेश सरकारले १ लाख रुपैयाँको निःशुल्क बिमा गरिदिने प्रावधानबारे पनि उनीहरू जानकार छैनन्। ‘टोलबाट चुनाव जितेका नेताहरूले यस्ता विषयमा कहिल्यै जानकारी गराउँदैनन्’, टोलका श्रीचन माझीले भने, ‘हामीलाई प्रदेश सरकारले कहाँ के गर्दैछ केही थाहा छैन।’

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले चीनबाट खरिद गरेको SH-15 १५५ मिमी ५२ क्यालिबरको स्वचालित ह्विल्ड तोप प्रणाली भारतसँग जोडिएका क्षेत्रमा ठूलो संख्यामा तैनाथ गरेको…

यमनको पश्चिमी तट नजिक रेड सीमा भएको आक्रमणपछि एक भारतीय स्वामित्वको जहाज डुबेको छ। विस्फोटक पदार्थ बोकेको डुंगाबाट गरिएको आक्रमणका…

भारत सरकारले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रस्तावित भर्चुअल सम्बोधनमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेको छ। भारतीय विदेश…

प्रतिकृयाहरू
...