तितोपाटी – अहिले सामाजिक संजालमा भाइरल हुने होडमा रहेका धेरै युवा युवतीहरुले अश्लिलताको सहारा लिन थालेका छन् । कमेडीका नाममा द्विअर्थी र छाडा संवादसहितको भिडियो बनाएर यूट्यूवको ट्रेन्डिङमा पर्न सकिन्छ भन्ने सोच उनीहरूमा व्याप्त भएको छ । कमेडीको नाममा कति बोल्ने कति नबोल्ने भन्ने समेत ज्ञान नभएका युवा युवतीहरू सामाजिक संजालमार्फत भाइरल हुने मात्र नभइ कमाउ धन्दाको लागि पनि यस किसिमका भद्दा कमेडी गरिरहेका पाइएका छन् ।
गत हप्ता मात्रै यस्तै एक किशोरी सिम्रन पाण्डेको कमेडी भिडियो युटुबमा अपलोड भयो र ट्रेन्डिङ मै पर्न सफल भयो । सिम्रन पाण्डे कहलिएकी कमेडियन होइनन् र यसअघि उनको नाम कसैले सुनेका पनि थिएनन् तर उनको एउटा ‘स्ट्यान्ड अप कमेडी’ यूट्यूवमा अपलोड भएको दोस्रो दिनमा नै एक नम्बर ट्रेन्डिङमा आयो । यो कमेडी भिडियो अत्यधिक सिर्जनशील प्रस्तुति वा हास्यरसको प्रचुरताले गर्दा सिम्रनको भिडियो भाइरल भएको होइन । त्यसो भन्दैमा सिम्रनको कमेडी कला छैन भन्न खोजिएको होइन तर कमेडी भिडियो भाइरल हुनुको प्रमुख कारण भने उनले बोलेका केही अश्लिल शब्दहरु नै हुन्। स्ट्यान्डअप कमेडीका नाममा यसअघि पनि अश्लिल र द्विअर्थी प्रस्तुतिहरु आउँथे । तर, प्राय पुरुष कलाकारका हुन्थे । एउटी भर्खरकी किशोरीले निर्धक्क अश्लिल शब्दहरु बोलेपछि धेरैको ध्यान तानिने नै भयो ।
आजसम्म सिम्रनले ६ वटा प्रस्तुति दिइसकेकी छिन् । तर, युट्युबमा आएको यो नै पहिलो भिडियो हो । यो छैटौँ प्रस्तुति हो ।’ उनको यो कमेडी भिडियो अहिले सम्म झण्डै साढे १४ लाख पटक हेरिएको छ । आश्चर्यको कुरा उक्त भिडियोको कमेन्टमा गालीभन्दा ताली बेसी छन् । धेरैले उनलाई ‘साहसी’ र ‘बोल्ड’ भनेका छन् । यसबाट पनि थाहा हुन्छ कि यूट्यूवमा दर्शकहरु कस्ता सामग्रीमा बानी परिरहेका छन् भनेर ।
अनि कतिपयले चाहिँ उनको परिवार वा आफन्तले यो भिडियो हेरे भने के भन्लान् भन्ने पनि चिन्ता गरेका छन् । तर, सिम्रन भने परिवारबाट आफूलाई सपोर्ट मिलेको बताउँछिन् । अध्ययनका लागि अमेरिका जाने तयारीमा छिन् । उनले आइइएलटीएसमा ७ स्कोर गरेकी छिन् र दुई कलेजको अफर लेटर पनि उनीसित छ । ‘सुरुमा धेरै नै नकारात्मक प्रतिकृयाहरु आएका थिए, त्यो हेरेर परिवारका सदस्यहरु खुशी हुनुहुन्नथ्यो,’ उनले भनिन्, ‘तर, पछि उहाँहरुले यसलाई बुझिदिनु भयो । अहिले मेरै सपोर्टमा हुनुहुन्छ ।’ सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु हेरेर रमाइहेकी छिन् सिम्रन । सकारात्मक र नकरात्मक दुबै प्रतिकृयालाई सहजरुपमा लिएको उनी बताउँछिन् । उनले भनिन्, ‘मलाई स्कृप्ट लेख्दै गर्दा नै थाहा थियो कि यसबाट मैले राम्रो र नराम्रो दुबै कमेन्ट पाउनेछु । नभन्दै त्यस्तै भयो ।’
कमेडी गर्न फोहोर शब्दहरु बोल्नुपर्छ भन्ने मान्यता सिम्रनकत्र पनि होइन तर दर्शक श्रोता त्यही कुरामा हास्ने भएका कारण पनि अहिलेको आकर्षण त्यहाँ भएको उनी स्वकार्छिन् । पहिले सिम्रन इन्स्टामा सानो-सानो भ्लग हाल्ने गर्थिन् । उनले हालेको भ्लगहरु युट्युबर सुरक्षा भट्टको नजरमा परेको थियो । उनै सुरक्षाले उनलाई स्ट्याण्डअप कमेडीको बाटो देखाइदिइन् ।
आइइएलटीएसमा ७ स्कोरल्याएर अमेरिका पढ्न जाने तयारीमा रहेकी उनले यो भिडियो यति धेरै भाइरल होला भन्ने चाहिँ नलागेको बताइन् । साथीहरुको देखेर, सुनेर र केही थप खोजी गरी स्कृप्ट बनाएको भन्दै उनले यसमा रहेका कुराहरु आफ्नो व्यक्तिगत जीवनमा नभोगेको दावी गरिन् । ‘यो मेरो अनुभव हैन । यदी भएको भए मलाई स्वीकार्न कुनै गाह्रो पनि हुन्थेन,’ उनले भनिन् ।
सिम्रन आफूले फोहोर नबोलेको दावी गर्छिन् । उनले भनिन्, ‘मान्छेको शरीरको अंगहरुको बारेमा बोल्दा फोहोर हुन्छ जस्तो मलाई लाग्दैन । त्यहाँ कुनै किसिमले पनि फोहोर शब्दहरु मिसाइएको छैन ।’ उनले थपिन्, ‘हाम्रो समाज नै यस्तै छ । यहाँ छोरी मान्छेले यस्तो कुरा बोल्न हुन्न भनिन्छ । यसलाई म पनि स्वीकार्छु । ज-जसले नराम्रो भन्नुभयो उहाँहरुलाई पनि धन्यावाद ।’
भिडियो आएपछि साथीहरुले आफ्नो प्रशंसा गरेको उनले बताइन् । तर, सुरुमा यूट्य्रवमा आएका नकारात्मक प्रतिकृयाले भने उनी खिन्न बनेकी थिइन् । आफूले गरेको ‘मेहनत’ लाई नबुझी प्रतिकृया दिनेहरुसँग उनको आक्रोश थियो । उनी भन्छिन्, ‘मैले लामो समय मेहनत गरेर यो भिडियो बनाएको हुँ । यसमा नराम्रो कमेन्ट आउदाँ म निराश भएको थिएँ ।’
तर, सिम्रनलाई आफूले भिडियोमा बोलेको कुराहरुमा कुनै पश्चाताप छैन् । ‘त्यहाँ मैले बोलेका शब्दहरु सबै हामीले वास्तविक जीवनमा बोलेकै हुन्छौँ । आˆनो साथीहरुलाई सेयर गरेकै हुन्छौँ’, उनले भनिन्, ‘त्यही कुरालाई मैले पब्लिक्ली भनेको हुँ । त्यसमा मलाई कुनै पश्चताप छैन ।’
-अनलाइनखबरबाट