Sunday 29th March 2026

नेपाल सरकार’ को सट्टा राष्ट्रपतिले भनिन्- मेरो सरकार


तितोपाटी- यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको नीति तथा कार्यक्रम सम्बोधनमा ‘नेपाल सरकार’ पदोन्नति भएर ‘मेरो सरकार’ बनेको छ।

अघिल्लो वर्षसम्म राष्ट्रपति भण्डारीले गर्ने सम्बोधनमा ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि ‘नेपाल सरकार’ भनेर सुरू गरिन्थ्यो।

यादव आफ्नो सम्बोधन क्रममा धेरैजसो ठाउँमा कर्ता प्रयोग नगरी ‘… यस्तो गरिनेछ’ भन्थे। कतिपय ठाउँमा उनले ‘वर्तमान सरकार’ पनि भनेका छन्। तर, कुनै पनि ठाउँमा ‘मेरो सरकार’ भनेनन्। राजतन्त्र कालमा राजाले संसदमा गर्ने सम्बोधनमा सधैं ‘मेरो सरकार’ भन्ने गर्थे।

गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रमुखले राजाले जस्तै ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि टीकाटिप्पणी भएको छ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्- ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यूको निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ।

प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला? कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि ओलीलाई ट्विटरमार्फत् सम्बोधन गर्दै लेखेका छन्- ‘मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार? कुनै बेला `श्री ५ को´ सरकार थियो, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थेl आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ?’

विवेकशील नेपाली दलका प्रवक्ता मिलन पाण्डेले पनि ट्विटरमा लेखेका छन्- ‘यो ‘मेरो सरकार’ होइन, ‘नेपाली जनताको सरकार’ हो।’

नीति तथा कार्यक्रम नेपाल सरकारले नै तयार पार्छ। सम्बोधनअघि संसद बैठकमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गर्छन्। त्यसैले यसमा लेखिने भाषा र सम्बोधन सरकारले नै तयार पार्छ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...