Sunday 19th May 2024

रहरमा शहर पसेकाहरु मानव बेचबिखनको उच्च जोखिममा


तितोपाटी- मुलुकमा दिनहुँ बढ्दै गएको मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको औँल्याइएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालीगुराँस युवा क्लबद्वारा शनिबार आयोजित ‘मानव बेचबिखन विरुद्व’ एकदिने अन्तरक्रिया कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले बढ्दो मानव बेचबिखनको सुक्ष्म अध्ययन आवश्यक रहेको बताइन् ।

“मानव बेचबिखन धेरै प्रकारले हुने गर्छ”, उपप्रमुख ढकालले भनिन्, “यसको अन्त्यका लागि सुक्ष्म अध्ययन अनुसन्धान गरौँ ।”

मानव बेचबिखनका साथै समाजमा घट्ने लैङ्गिक हिंसाका घटना किनारा लगाउन राज्यसँगै नागरिक तहबाट पनि लाग्नुपर्नेमा उनको जोड थियो ।

शक्ति समूह नेपालका कार्यकारी निर्देशक सुनिता दनुवारले समाजको कमजोर र निर्दोष वर्ग मानव बेचबिखनको सिकार हुने गरेको बताइन् ।

पछिल्लो समयमा मानव बेचबिखनको रुप परिवर्तन भएको बताउँदै निर्देशक दनुवारले भनिन्, “सूचना र प्रविधिले निम्त्याएको विकृतिबाट पनि हामी सबै सचेत हुन जरुरी छ ।”
वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतका वडाध्यक्ष लोकप्रसाद चालिसेले रहरमा शहर पस्ने प्रलोभनका कारण मानव बेचबिखनको सिकार भएको तर्क गरे ।

यद्यपि यस्ता खालका जटिल समस्याको समाधानमा स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रमका सहभागीले मानव बेचबिखनको समस्याको अन्त्यका लागि सरकारी तथा गैरसरकारी निकाय, मानव अधिकारवादी सङ्घसंस्थाले प्रधान भूमिका खेल्नुका साथै सबै तहका सरकारले जनचेतनामूलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना…

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

प्रतिकृयाहरू
...