Wednesday 18th February 2026

भारतमा ७ चरणमा सम्पन्न हुने लोकसभाको निर्वाचन आजदेखि शुरू


तितोपाटी-भारतमा लोकसभाको निर्वाचन आज बिहीबार देखि सुरु भएको छ। देशभर सात चरणमा सम्पन्न हुने निर्वाचनमा पहिलो चरणअन्तर्गत विभिन्न २० राज्यका ९० क्षेत्रमा निर्वाचन हुँदैछ। पहिलो चरणमा नेपालसँग सीमा जोडिएका बिहार र उत्तरप्रदेशका विभिन्न क्षेत्रसहित आन्द्रप्रदेश, अरुणाञ्चल, आसाम, छत्तीसगढ, सिक्किम, उत्तराखण्डलगायतका राज्यमा निर्वाचन हुँदैछ। मे १९ मा निर्वाचन सम्पन्न भएपछि मे २३ मा मतगणना सुरु हुनेछ। निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कांग्रेस देखिएका छन्। निर्वाचनका लागि भाजपा नरेन्द्र मोदी र कांग्रेस राहुल गान्धीलाई नेताका रुपमा अघि सारेर निर्वाचनमा होमिएका छन्। लोकसभाका पाँच सय ४५ सिटमध्ये पाँच सय ४३ सिटमा चुनाव हुँदैछ। दुई सिटमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ। भारतीय निर्वाचन आयोगको तथ्यांकअनुसार हालको निर्वाचनमा मत दिन ९० करोड मतदाता योग्य छन्। यो संख्या २०१४ को निर्वाचनमा भन्दा झन्डै साढे आठ करोड संख्या बढी हो।

निर्वाचन अभियान चलिरहेका बेला प्रतिपक्षी दलहरुले भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले प्रजातान्त्रिक प्रक्रिया र संस्था भत्काएको आरोप लगाएका छन्। विपक्षी पार्टीकी नेत्री ममता बनर्जीले यो विषयलाई लिएर अभियान नै सञ्चालन गरेकी थिइन्। जबाफमा मोदीले यसलाई ठूलो जोक भनेका छन्। उनले कांग्रेस र कम्युनिस्ट मिलेर प्रजातान्त्रिक वातावरण बिगारेको आरोप लगाएका छन्।निर्वाचनमा त्यहाँका राजनीतिक पार्टीहरुबीच निकै कडा प्रतिस्पर्धा हुँदैछ । विशेषगरी सत्तारुढ दल भाजपा र काँग्रेस आईबीच निकै कडा र चूनौतीपूर्ण प्रतिस्पर्धा हुुँदैछ । ती दुई पार्टीका शीर्ष नेताहरुबीच निर्वाचन अभियान सुरु भएदेखिनै निकै गम्भीर खालको वाक युद्धनै सुरु भएको छ । भारतीय जनता पार्टीको शीर्ष नेतृत्वले कँग्रेस आईलाई परिवारवादमा फसेको र परम्परावादी पार्टीको आरोप लगाइरहेको छ भने काँग्रेस आईले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपाका अध्यक्ष अमित शाहमाथि निकै क्रुर र बेजोड व्यंग्य प्रहार गरिरहेका छन् ।

भारतीय काँग्रेसको नेतृत्वमा विशेषगरी अहिले राहुल गान्धीको चर्को प्रभाव छ भने उनकी बहिनी प्रियंका गान्धी पनि अहिलेको निर्वाचनमा आकर्षणको पात्र बनेकी छिन् । सो पार्टीले सरकार बनाउने स्थिति आएमा गान्धीसहित मायावती र ममता बनर्जीलाई उम्मेद्वार बनाउने तयारी गरेको छ भने भाजपामा मोदीनै आउन सक्ने आँकलन गरिँदैछ । गान्धीसँग प्रधानमन्त्री मोदीको टक्कर निकै बढेको छ । प्रधानमन्त्री मोदीले निर्वाचन अभियानका क्रममा दिएका अभिव्यक्तिहरुको विपक्षी दल समेत रहेको काँग्रेसका नेताहरुले खिल्ली उडाइरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...