तीतोपाटी-
‘नानी के गर्ने ’
‘म रेडियोमा काम गर्छु ’
‘ए रेडियोमा के गर्ने नि ’
‘म समाचार डेस्कमा काम गर्छु ।’
सजिलै रैछ त । गाडी लिन आइहाल्छ, अफिस गएर बस्ने अनि समाचार भन्ने नै त रहेछ ।
सुनेपछि झनक्क रिस उठ्छ । केही भन्दिनँ । तर एक पटक होइन, पटकपटक भेट्ने मान्छे र आफन्तले नै यस्तै कुरा दोहोर्याइरहन्छन् ।
ल आफैले पनि गरेर देखाउ न त जवाफ घाँटीसम्म आउँछ,तर थुकसँगै फेरि घुटुक्क निलिन्छ ।
त्यतिबेला झन् भाउन्न हुन्छ, जतिबेला भन्छन्, ‘जागिर खाने, बच्चा पाउने अनि घरका काम गर्ने तिमी मात्रै एक्ली होइनौँ, अरुले नि गरेका छन् ।
संसारका धेरै छोरी, बुहारी अनि आमा अहिले कामकाजी छन् । काम गर्ने सबैको खुट्टो तान्नै पर्दछ जतिसुकै कठिन अवस्थामा काम गर, तर तिमीले गरेको कामको जवाफ ‘तैले मात्र खाको छ र जागिर’ भन्नेमा नै टुंगिन्छ ।
त्यही काम छोरा, ज्वाईं अनि बाबुले गर्दा चटारो देखिन्छ । भ्याइनभ्याइ देखिन्छ । छोराले गरे सगरमाथाको चुचुरो, छोरी-बुहारीले गरे फूलको थुंगो ।
फेरि घोत्लन्छु, कसरी भनूँ, ‘रेडियोको जागिर पधेँरामा पानी भर्न जाँदा गरेको गफ स्तो होइन । चार जना उभिएर फलानोको घरमा पाकेको तिउन तरकारीको बास्ना लिएजस्तो होइन ।’
हरेक समाचार भेरिफाई गरेर लेख्नु, ‘फेसबुकमा समाचार हेरेर यस्तो अरे…’ भने जस्तो कहाँ छ सजिलो । रेडियोमा त अरे नै चल्दैन, फेरि पनि भन्न मन लाग्छ । बच्चा बिरामी हुँदा वा सानो छँदा । रातभर दूध चुसाएर अनिदो बस्दा । आँखा मिच्दै अँध्यारोमै रेडियोमा पुगेर काम गर्दाको मर्म र अनुभव उनैले मात्र गर्न सक्छिन् जसले भोगेकी छिन् ।
लेख्दै गर्दा छेउमा रहेकी सहकर्मी भन्छिन्, ‘आज रातभर सुतेकै छैन । नानी-बाबु नसुतेरै, फ्रेस नै हुन सकेको छैन । उनले यो भनेर नसक्दै फेरि उही कुरा सम्झन्छु, ‘बच्चा सबैले पाएका छन, सबैले जागिर खाएकै छन्, तिमीले मात्र होइन ।
हुन त बिहानदेखि रातिसम्म काममा खटिँदा ‘कठै थाकिस्’ समेत नभन्नेलाई यी कुरा थाहा हुने कुरै भएन । मन यसैगरी बुझ्छ ।
अर्काथरी थप्छन्, ‘ए रेडियोको पो जागिर ! अलि पैसा आउने काम गर्नु नि रेडियोमा जागिर गरेर कति पाइन्छ पैसो खान लाउन त पुगेको छ नि ।
शानले भन्न मन लाग्छ, ‘पुगेको छ, पुर्याएकी छु । तर आफैले मात्र काम गरेकोजस्तो फूर्ति लगाएकी हेरन भन्ने अपजस आउला भनेर जवाफलाई घाँटीमै गाँठो पारेर राख्छु । किनकी इँटाको जवाफ पत्थर हुँदै होइन । हुन त, यी र यस्ता समस्या भोग्ने म मात्र होइन । लाग्छ, रेडियोमा काम गर्ने धेरैजसोले यी समस्या झेलेका र झेल्दै छन् ।
हरेक घण्टामा १० मिनेट वा निश्चित तोकिएको समयमा समाचार भन्नु मात्रै रेडियोको जागिर होइन । अनि रेडियोमा गरेको जागिरले खानै नपुग्ने पनि होइन । अहिले ७ सय ४० वटा एफएम रेडियो दर्ता छन् । तर, यीमध्ये केही सञ्चालनमा छैनन् ।
तर, यसो भन्दैमा सबै एफएम रेडियोलाई एकै घानमा हाल्न मिल्दैन । अनि रेडियोमा काम गर्नेले १० मिनेट समाचार पढेर मात्र बस्छन् त त्यसो होइन र हुँदा पनि हुँदैन ।
एकपटक छोरी-बुहारी रेडियोमा काम गर्छन् भनेर गर्वले छाती फुलाउ न । ल मेरी छोरी-बुहारीले पनि समाचार भन्छिन् सुन्नु है भनेर छिमेकमा भनौँ न । कति सुहाउँछ । कति उदाहरणीय बन्छ ।
पत्रकार महासंघका अनुसार अहिले २ हजारभन्दा धेरै महिला पत्रकारितामा छन् । कोही रेडियो, कोही टिभी, अनलाइन र कोही अखबारमा छन् । तर विविध कारणले उनीहरु सबै पत्रकारितामा सक्रिय भने छैनन् ।
विभिन्न अध्ययनका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाले दाम नआउने काम गर्दछन् । तर बाँकी प्रतिशतले दाम नआउनेसँगै दाम आउने काम पनि भ्याएका छन् गरेका छन गर्दै पनि छन् ।
घर आफन्तसँगै नयाँ नौलाले कुरा काटे पनि रेडियोको जागिरबाट हामी महिलाले नाम, दाम र माम पाएका छौँ ।
साभार-उज्यालो अनलाईन