Saturday 28th March 2026

चैते दशैँ अर्थात चैत्र नवरात्र शुरु


तीतोपाटी-चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गते शनिबारदेखि चैत्र नवरात्र शुरु भएको छ ।

चैते दशैँ समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । आश्विन शुक्ल पक्षमा पर्ने दशैँ अर्थात् बडादशैँ जति भव्यरुपमा नमनाइए पनि चैते दशैँमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ ।

वैदिक सनातन धर्मावलम्बीले घरघरमा शक्तिको उपासना स्वरुप देवीको पूजाआजा गर्नुका साथै देवीभागवत, दुर्गा सप्तशती चण्डी, देवी स्तोत्रलगायत देवीको महिमा गाइएको ग्रन्थ पाठ गरिन्छ ।

चैत्र शुक्ल अष्टमी र नवमीलाई भने देशभर विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रुपमा मनाउने गरिएको हो । यस वर्ष चैत ३० गते अष्टमी र वैशाख १ गते नव वर्षका दिन रामनवमी पर्व परेको छ ।

वर्षमा चार नवरात्र पर्छन् । चैत, असार, आश्विन र पुस महीनाको शुक्ल पक्षमा नवरात्र पर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । चार नवरात्रमध्ये चैत्र र आश्विनका नवरात्रलाई विशेष रुपमा मनाउने गरिएको छ ।

आषाढ र पौषका दुई नवरात्रमा भने साधना मात्र गरिन्छ । यी दुई नवरात्रलाई सुषुप्त दशैँ भन्ने गरिएको उनले बताए । चैत्र नवरात्र शुरु भएको अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, सुन्दरीमाईलगायत पीठमा भक्तजनको भीड लागेको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने विश्वास छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...