Friday 26th June 2026

प्रधानमन्त्री ओली र भारतका विदेश सचिव बीच छलफल


तीतोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका भारतका विदेश सचिव विजय गोख्लेले उहाँको सरकारी निवास बालुवाटारमा आज अपराह्न शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि सचिव गोख्लेले शिष्टाचार भेट गर्नुभयो । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसअघि नेपाल र भारतका परराष्ट्र सचिवको नेतृत्वमा द्विपक्षीय वार्ता भएको थियो । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले राससलाई बताउनुभयो ।

बितेका एक वर्षमा भएका विकास–निर्माणका परियोजनाको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै दुवै देशका परराष्ट्रसचिवले समाधान हुन बाँकी विषयलाई शीघ्र निरुपण गर्न सहमति जनाएका छन् । द्विपक्षीय वार्तामा क्षेत्रीय चासोका विषयमा पनि छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा परियोजना कार्यान्वयनमा दुई देशका परराष्ट्र सचिवले निकट सम्पर्कमा रहेर सहजीकरण गरिरहेका छन् ।सचिव गोख्ले भोलि नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । उहाँको यो भ्रमण कूटनीतिक छलफल र संवादको नियमित पाटो हो । 


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प र २० भन्दा बढी परकम्पपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण…

लेबनानले १२८ जना सिरियाली दोषी ठहरिएका कैदीहरूलाई उनीहरूको स्वदेश सिरियामा हस्तान्तरण गरेको एक लेबनानी सुरक्षा स्रोतले बुधबार एएफपीलाई जनाएको छ।…

अमेरिकी राष्ट्रपति Donald Trump को महत्वाकांक्षी परियोजनाका रूपमा हेरिएको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा प्रणालीले आफ्नो पहिलो लाइभ इन्टरसेप्ट परीक्षण सफलतापूर्वक…

प्रतिकृयाहरू
...